तीजः महिला सशक्तीकरणको प्रतीक

तीज पर्व नेपाली समाजमा धार्मिक र सांस्कृतिक रूपमा महत्वपूर्ण चाड हो । विशेष हिन्दु धर्मावलम्बी महिलाहरूले यो पर्वलाई आफ्नो आस्था, संस्कार, र परिवारप्रतिको समर्पणको रूपमा मनाउँछन् । तीजमा व्रत बस्ने, शिवजीको पूजा गर्ने, र परिवारको कल्याणको लागि प्रार्थना गर्ने परम्परागत चलन छ । तर वर्तमानमा, तीजलाई केबल धार्मिक र सांस्कृतिक चाडको रूपमा मात्र नभई, महिलाको अधिकार र सशक्तिकरणको प्रतीकका रूपमा पनि मनाउन आवश्यक छ ।
वर्तमान समयमा, नेपाली महिलाहरू आफ्नो अधिकार र अस्तित्वको खोजीमा छन् । तीज पर्वमा देखिने नृत्य, गीत, र जमघटहरूले महिलाहरूलाई आफ्नो भावना, विचार र पीडा व्यक्त गर्ने मंच प्रदान गर्छ । तीजका गीतहरूमा प्रायः महिलाहरूको दुःख, पीडा, र संघर्षको कुरा गरिन्छ, जसले उनीहरूको अधिकारको खोजीको प्रतिबिम्ब दिन्छ । तर पछिल्लो समयमा, तीजको यही सांस्कृतिक पक्षलाई केही स्थानमा भड्किलो रूपमा मनाइने गरिएको आरोप लाग्दै आएको छ ।
तीजमा महिलाहरूले पार्टी प्यालेसमा भेला भई महँगा वस्त्र, गरगहना देखाउने, महिनौ पार्टी खाने, भड्किलो गीत गाउने, र महँगा भोज भतेरमा रमाउने प्रवृत्ति बढेकोले तीज पर्वले संस्कृति होइन विकृति हो भन्ने जनमानसको आरोप पनि छ । यो प्रवृत्ति तीजको मौलिकता र यसको वास्तविक उद्देश्यसँग मेल खाँदैन । तीजको वास्तविक उद्देश्य भनेको महिलाहरूको दुःख, पीडा, र अधिकारका लागि गरिएको संघर्षलाई उजागर गर्नु हो । यो पर्वले महिलाहरूलाई एकताको भावना दिलाउँदै, आफ्नो हक–अधिकारको लागि सचेत हुन प्रेरित गर्नुपर्छ ।
तीजलाई धार्मिक र सांस्कृतिक रूपमा मात्र नभई, महिलाको अधिकार र सशक्तीकरणको प्रतीकका रूपमा मनाउनुपर्छ
यसैले, तीजलाई वास्तविक मर्म अनुसार मनाउनु अहिलेको आवश्यकता हो । तीजलाई भड्किलो प्रदर्शनको माध्यम बनाउनुको सट्टा, महिलाहरूले यो पर्वलाई आफ्नो सशक्तिकरणको लागि प्रयोग गर्नुपर्छ । तीजमा हुने जमघटलाई गरगहनाको प्रदर्शनमा सीमित नराखी, समाजमा रहेका लैंगिक असमानता, महिला हिँसा विरुद्ध, महिलाको अधिकार, र महिला सशक्तीकरणका विषयमा छलफल गर्नुपर्छ ।
तीज पर्वमा महिलाहरूले आफ्नो जीवनमा भएका संघर्ष, चुनौती, र अनुभवहरू साझा गर्न सक्छन्, जसले उनीहरूलाई आत्मविश्वास बढाउन मद्दत पु¥याउँछ । तीजको यो चाड महिलाहरूको आत्मचेतना र समाजमा रहेको विभेदको विरुद्ध आवाज उठाउने अवसर हुनुपर्छ । तीजलाई वास्तविक मर्मअनुसार मनाउँदा, यसले महिलाहरूलाई आफ्नो हक–अधिकारको लागि सशक्त बनाउने र समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरणा प्रदान गर्नेछ ।
अन्ततः तीजलाई धार्मिक र सांस्कृतिक रूपमा मात्र नभई, महिलाको अधिकार र सशक्तीकरणको प्रतीकका रूपमा मनाउनुपर्छ । यसले महिलाहरूलाई आफ्ना अधिकारको लागि सचेत बनाउने, आत्मविश्वास जगाउने, र समाजमा समानताको स्थापनाको लागि योगदान पुर्याउने प्रेरणा दिन सक्छ । तीजको वास्तविक मर्मलाई जोगाउँदै, यो पर्वलाई सशक्तीकरणको उत्सवका रूपमा मनाउनुपर्छ, जसले नेपाली महिलाहरूलाई वास्तविक परिवर्तनको मार्गमा अघि बढ्न प्रेरित गर्छ । सबैमा तीजको शुभकामना !
तपाईको प्रतिक्रिया