तिज र आजको परिस्थिति

समाधान संवाददाता २०८१ भदौ १८ गते ११:५३

नेपाली नारीहरूले निकै उत्साहपूर्ण तरिकाबाट मनाउने चाड हो तिज । विवाहित वा अविवाहित नारीहरू निराहार व्रत बसेर मनाउने यो चाड गीत सङ्गीतका माध्यमबाट मनोरञ्जन मात्रै गर्दैनन्, गीतमार्फत आफ्ना सुख दुःख साट्ने पनि गर्दछन् । हरेक वर्ष भाद्र तृतीयाको दिन यस पर्व मनाउने गरिन्छ । यस दिनमा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । तिजको दिनमा सनातन धर्म मान्ने नारीहरूले दिनभरि व्रत बस्ने र साँझ पूजा गरेर फलाहार गर्ने र अर्को दिन मात्रै भोजन गर्ने प्रचलन रहँदै आएको छ । यस दिन बसेको व्रत अन्य व्रतभन्दा शक्तिशाली मानिन्छ । नारीहरू अटल सौभाग्य र सदा सर्वदा भरिभराउ कोखका लागि भगवान् स्वयम् साथमा हुन्छन् भन्ने विश्वासका साथ नारीहरू व्रत बसेका हुन्छन् ।

Advertisement


तिजमा विशेष गरी नारीहरू आफ्नो अवस्था हेरेर तीन किसिमका व्रत बसेका हुन्छन्– निराहार, जलाहार र फलाहार । अलिक जवान र निरोगीहरू निराहार व्रत बस्ने गरेको पाइन्छ । केही शारीरिक समस्या भएकाहरू जलाहार व्रत बसेर भए पनि पुण्य कमाउने विश्वास राख्दछन् भने शारीरिक रूपमा कमजोर र अलिक उमेर ढल्केकाहरू फलफूल र पानी खाने अन्य केही नखाने गरेर फलाहार व्रत बस्ने गरेको पाइन्छ । तिजलाई भारत वर्ष एवम् नेपालमा पौराणिक कालदेखि मनाउने गरेको पाइन्छ तर यही समयदेखि ठ्याक्कै तिज पर्वको सुरुवात भएको हो भनेर भन्न सकिने अवस्था भने छैन । तिज पर्व खास गरी विवाहित नारी र माइतीको विशेष सम्बन्धमा आधारित छ ।

नारीहरूलाई माइतीको आँगन जति प्यारो अरू केही हुँदैन । विवाहित नारीहरूलाई तिजमा माइती पक्षबाट बुबा, दाजुभाइ तथा आमा लिन जाने प्रचलन भए तापनि अहिले यो प्रचलनमा कमी आएको छ । अहिले फोनबाटै बोलाउने र ज्वाइँसमेत बोलाएर खाना खुवाउने चलनको सुरुवात भएको पाइन्छ । दर खान र पञ्चमीसम्मका लागि बिदा भएर घरबाट माइत हिँड्दा नारीहरू भएभरका सबै पिडाबाट एक्कासि मुक्ति पाए झैँ खुसी हुन्थे । नारी र तिज पर्व एकअर्काको वरिपरि घुमेको हुन्छ भने यसलाई थप बलियो पुरुषहरूले बनाउने गरेका छन् । श्रीमतीलाई माइत पठाउने वा दिदिबहिनी लिन जाने विशेष गरी पुरुषहरूले गर्ने गरेको पाइन्छ । नारीहरू पनि श्रीमान्को दीर्घायु, पारिवारिक सुख, शान्तिका लागि व्रत बस्ने गरेका छन् ।

Advertisement


तिज विशुद्ध नेपाली पर्व पनि हो किनभने नेपाली समाजको मौलिक स्वरूप विकास भएको हुनाले तिजलाई नेपाली मौलिक पर्वका रूपमा लिने गरिएको छ । धार्मिक विश्वासअनुसार सत्य युगमा हिमालयपुत्री पार्वतीले तपस्या गरेर महादेव पति पाउने वरदान पाएकी थिइन् तर पार्वतीको इच्छाविपरीत पिता हिमालयले विष्णुसित विवाह गरिदिन खोजेपछि पार्वतीले आफ्ना केही हितैषीहरूलाई यो सबै वृत्तान्त सुनाएको र पार्वतीको सबै कुराहरू साथीहरूले सुनेपछि पार्वतीलाई हरण गरी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिएको प्रसङ्ग धार्मिक ग्रन्थहरूमा पाइन्छ । साथीहरूले लुकाएर राखिदिएकै ठाउँमा पार्वतीले निराहार व्रत बसी पार्वतीले महादेवलाई पतिका रूपमा प्राप्त गरेको जनविश्वास रहँदै आएको छ । १०७ जन्म सम्म घोर तपस्या गरेपछि १०८ औँ जन्ममा मात्रै उनको तपस्या पूरा भई महादेव पति पाएको विभिन्न शास्त्रमा उल्लेख भएको पाइन्छ ।

कुनै पनि मुलुकको बर्बादी गर्नु छ भने त्यो देशको शिक्षा र भाषा, संस्कृतिमा प्रहार गर्नु पर्छ रे । अहिले नेपालमा पनि यस्तै भएको छ


पार्वतीले शिवजी वरका रूपमा प्राप्त गरूँ भनेर मनोकामना राखेर तिजको व्रत बसेपछि खास तिजको चलन चलेको जनविश्वास रहिआएको छ । तिजको दिनमा शिव मन्दिर र शिवालयहरूमा विशेष पूजाआजा गरेर मनाउने गरेको पाइन्छ । संस्कृत भाषामा ‘हरित’ र ‘आलिका’ दुईओटा शब्द मिलेर हरितालिका शब्द बनेको छ ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । तिजको अघिल्लो रातमा दर खाने चलन रहँदै आएको छ ।

तिजको दिन व्रत बस्ने, नाचगान गर्ने गरिन्छ भने तिजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु दिदीबहिनीहरूले ३६५ ओटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्दछन् । माटो लेपन गर्नाले छालासम्बन्धी रोगहरू निर्मूलीकरण हुन्छ भन्ने विश्वासका कारण माटो लेपन गर्ने गरेको पाइन्छ । पञ्चमीका दिन अरुन्धतिसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भर्खर उम्रेको कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्रै खाइन्छ । यस दिनमा श्रीमान्ले पकाएको खाएमा आपसी सामीप्य एवम् सद्भाव बढ्ने विश्वास छ ।


तिजको साँझमा १०८ ओटा सुतेबत्ती दियो बाल्ने गरिन्छ र ती दीपशिखाहरू रातभरि नै बलिरहे भने पुण्य आर्जन हुने जनविश्वास छ । तिज पर्वलाई थप रौनकता दिने भनेको हाम्रो मौलिक तिजका भाका (गीत सङ्गीत) नै हुन् । यति महत्वपूर्ण र मौलिक पर्व हरेक वर्ष परिस्कृत हुँदै आएको छ । व्रत बस्ने प्रचलन पनि महिला दिदिबहिनीहरूको व्यक्तिगत रुचिका आधारमा हुने गरेको पाइन्छ र मौलिक तिजका भाकामार्फत सुखदुःख साटासाट गर्ने प्रचलन लोप हुने अवस्थामा छ । मनभित्रका अप्ठ्यारा कुरा जुन सहजै भन्न सकिँदैन ती सबै कुरालाई समेटेर गीतमार्फत प्रस्तुत गर्ने चलन थियो ।

समाजमा घटेका घटनालाई गीतमार्फत प्रस्तुत गरिन्थ्यो । कुनै अपराधीहरूलाई दण्ड सजाय गर्न पनि गीतैमार्फत दवाव सृजना गर्ने गरिन्थ्यो । परिवर्तनका बिगुलहरू गीतमार्फत घन्काउने हाम्रो परमपरा जस्तै थियो तर बिडम्बना अहिले तिजको जुन प्रचलन थियो त्यो सबै हराउँदै जान थालेको छ । तिजलाई तिज जस्तो हुन नदिनलाई एक महिनाअघिदेखि दर खाने प्रचलनको सुरुवात भएको छ । दर खाएर रमाइलो गर्ने निहुँमा मादक पर्दाथहरू सेवन गरी हो हल्ला गर्ने र अनेकौँ विकृतिहरूको सिर्जना गर्ने गरिएको छ । हिजोको गीतमार्फत दुःखसुख साटासाट गर्ने, गीतकै माध्यमबाट परिवर्तनका बिगुल घन्काउने, दण्ड सजायमा दवाव सिर्जना गर्ने, जनचेतना फैलाउने जस्ता सबै कुरा बिस्तारै हराउँदै गएर अहिले त र्‍यापमा नाचेर तिज मनाउन थालिएको छ ।

परिवारका सम्पूर्ण सदस्य सँगै भएर तिजका गीत सुन्न, हेर्न सकिने खालका छैनन् । यो खालको प्रहार नेपाली संस्कृतिमाथिको सिधा प्रहार हो । देशको भाषा, संस्कृति संरक्षणका सम्बन्धमा सरकारको पनि ध्यान पुगेको देखिँदैन । कुनै पनि मुलुकको बर्बादी गर्नु छ भने त्यो देशको शिक्षा र भाषा, संस्कृतिमा प्रहार गर्नु पर्छ रे । अहिले नेपालमा पनि यस्तै भएको छ । अहिले नेपाली मौलिक भाषा, संस्कृति र शिक्षामा ठाडो हस्तक्षेप भइरहेको अवस्था छ तर नियमनकारी निकायहरू मात्रै मूकदर्शक भएको देख्दा अझै शंका छ– कतै यही निकाय पनि सामेल त छैन भाषा, संस्कृति मेटाउने अभियानमा ? सोच्ने बेला भइसकेको छ, बिलम्ब गर्ने अवस्था छैन । हामीले जति बिलम्ब गर्छाैं उति हामीलाई नै समस्या पर्ने हो …… !!


लेखक रूपा गाउँपालिका, वडा नम्बर २, कास्कीका वडा अध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया