पोखरा १० मा तीज गीत प्रतियोगिता हुने

समाधान संवाददाता २०८१ भदौ १८ गते १७:२४

पोखरा । राम मन्दिर माछापुच्छ्रे महिला समूहको आयोजनामा तीज गीत प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका वडा नं. १० मा रहेको राम मन्दिर परिसरमा भदौ २१ गते हरितालिका तीजका दिन प्रतियोगिता हुन लागेको हो । हिमश्री फुड्स प्रालिको प्रायोजन, राम मन्दिर सञ्चालक समितिको सहयोग तथा वडा कार्यालय १० को समन्वयमा ३३ औं संस्करणको प्रतियोगिता हुनेछ ।

Advertisement

संस्कृति सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको समूहका अध्यक्ष माया गुरुले बताइन् । उनका अनुसार प्रतियोगितामा तडकभडक रहितको भेषभुषा, गीत र नाँच परम्परा र संस्कृति झल्किने खालको हुनुपर्नेछ ।
प्रतियोगितामा २० टिमको सहभागिता रहने आयोजकले जनाएको छ । भदौ २१ गते १ बजेभित्र सहभागि टिमले दर्ता गरिसक्नुपर्नेछ भने दर्ता शुल्क ५ सय रुपैयाँ लाग्नेछ ।

जसमा प्रथम हुने टिमले २५ हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार, सान्त्वनाले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै उत्कृष्ट भेषभुषालाई २ हजार, उत्कृष्ट नाँचलाई २ हजार, मञ्च बाहिरको उत्कृष्ट नाँच्ने ४ जनालाई जनही १÷१ हजार र सहभागि टिमलाई यातायात खर्च स्वरुप १ हजार रुपैयाँ उपलब्ध गराइनेछ ।

Advertisement

प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख रुपैयाँ खर्च लाग्ने समूहका सचिव टेकमाया गुरुङले जानकारी दिइन् । कार्यक्रमबाट बचत भएको रकम सामाजिक कार्य र टोलको विकासमा खर्च गरिने उनले बताइन् ।

तपाईको प्रतिक्रिया