कोवाङमा बहुउद्देश्यीय खेल मैदान उद्घाटन

समाधान संवाददाता २०८१ भदौ १९ गते ६:०१

पोखरा । मुस्ताङको थासाङ गाउँपालिका—२ कोवाङमा बहुउद्देश्यीय खेल मैदान उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सामाजिक मन्त्रालयद्वारा विनियोजित बजेट मार्फत निर्माण सम्पन्न गरिएको कोवाङ खेल मैदानको मंगलबार गण्डकी प्रदेशका सभासद विकल शेरचनले उद्घाटन गरेका हुन् ।

Advertisement

धौलागिरी युवा क्लव थासाङ—२ कोवाङद्वारा आयोजित पाँचौ वडास्तरीय भलिबल तथा खुल्ला आर्चरी खेलकुद प्रतियोगिताको समुद्घाटनका क्रममा सभासद शेरचनले कोवाङमा निर्माण सम्पन्न भएको खेल मैदानको पनि उद्घाटन गरेका हुन् । कोवाङ खेल मैदान तथा पाँचौं वडास्तरी भलिबल तथा खुल्ला आर्चरी खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै सभासद शेरचनले खेलकुद क्षेत्रको विकासले स्थानीय धर्मसंस्कृतिको संरक्षण,संम्वद्धन तथा प्रर्वद्धन एवं पर्यटन विकासमा समेत टेवा पुग्ने उल्लेख गरे ।

खेल मैदान तथा वडास्तरीय खेलकुदको समुद्घाटनमा थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अजित थकाली,थाक खेलकुद तथा सांस्कृतिक विकास संघका अध्यक्ष कृष्णकुमार शेरचन, क्लवका अध्यक्ष मनप्रसाद गौचन, पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली र क्लवका सदस्य नविन शेरचनले लगायतले खेलकुद क्षेत्रको विकासमा पूर्वाधार निर्माण खेलकुद क्षेत्रमा लगानी आवश्यकता रहेको औल्याए ।

Advertisement

सामाजिक विकास मन्त्रालय गण्डकीले गत आर्थिक वर्ष “एक स्थानीय तह, एक खेल मैदान” अन्तर्गत कोवाङ खेल मैदान स्तरोन्नतिका लागि १६ लाख बजेट विनियोजन गरेको थियो । क्लवले १० प्रतिशत श्रमदान वापत १ लाख ९० हजार लागत साझेदारी गरेको थियो । कुल १७ लाख ९४ हजार लागतमा क्लवले उपभोक्ता समिति मार्फत ठेक्का सम्झौता गरेर खेल पूर्वाधार सम्पन्न गरेको क्लवका अध्यक्ष मनप्रसाद गौचनले जानकारी दिए ।

खेल मैदान लगायतका पूर्वाधार निर्माणका लागि गत वर्षको २८ माघमा ठेक्का सम्झौता गरी निर्माणको काम सुरु गरिएकोमा ३२ जेठमा योजना सम्पन्न भएको थियो । कोवाङ खेल मैदान निर्माण तथा स्तरोन्नति अन्र्तगत आरसीसी भलिबल ग्राउण्ड, प्याराफिट एवं घेराबार निर्माण ,कम्पाउण्ड वाल र खेलमैदानको ग्रेड मिलान लगायतका कामहरु सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया