शिक्षा सुधार गर्न सबै सरकार लाग्नुपर्छः थापा
पोखरा ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक हुनुपर्ने बताएका छन् । मन्त्रालयले मंगलबार तनहुँ जिल्लाको आबुखैरेनीमा आयोजना गरेको वार्षिक विकास अभिमुखीकरणमा उनले यस्तो बताएका हुन् ।
मन्त्री थापाले प्रदेश सरकार संस्कार सिकाउने शिक्षामा समेत केन्द्रित रहेको जानकारी गराए । उनले प्रदेशमा भएका विभिन्न जातजातिको भाषालाई संरक्षण गर्न मातृभाषा शिक्षालाई समेत प्राथामिकता राखेको उल्लेख गरे ।
‘हामी नैतिक शिक्षालाई आत्मसात् गर्दै अगाडि बढिरहेका छौं । शिक्षामा आमूल परिवर्तन ल्याउनका लागि तीनै तहको सरकार एक भएर लाग्नुपर्ने आवश्यकता छ । स्थानीय तहलाई अझ बढी जिम्मेवार भई शिक्षामा सुधार ल्याउन सकिन्छ’, उनले भने ।
मन्त्री थापाले प्रदेश सरकारको नयाँ कार्यक्रम फ्राइडे फर फ्युचरले विद्यार्थीलाई व्यवहारिक ज्ञानसमेत उपलब्ध गराउने बताए । उनले मन्त्रालय मातहतका सम्पूर्ण कार्यालयहाई समयमा काम थालनी गरी जिम्मेवारीपूर्वक सक्न निर्देशन दिएका छन् ।
मन्त्रालयका सचिव प्रकाश पौडेलले आधारभूत शिक्षा सुधार गर्न आवश्यक रहेको बताए । उनले मन्त्रालयले विद्यार्थीलाई मात्र केन्द्रित गरी कार्यक्रम राख्नुभन्दा पनि अभिभावक र शिक्षक सिकाईलाई समेत समेटेको जानकारी गराए । विद्यार्थीको लेखन सीपमा समेत दक्ष बनाउने गरी शिक्षामा बजेट विनियोजन भएको भनाइ उनको छ ।
भुक्तानीका लागि मन्त्रालयले नै धाउनुपर्ने प्रवृति अन्त्य गरी सम्बन्धित कार्यालयमार्फत नै कार्यक्रम तथा योजनाको भुक्तानी लिन सकिने व्यवस्था मिलाइएको उनले उल्लेख गरे ।
आबुखैरनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शिक्षालाई प्रभावकारी बनाउन स्थानीय तहमा देखिएको दरबन्दीको समस्यालाई समाधान गर्नुपर्ने बताए । कर्मचारीलाई सर्भिस डेलिभरीमा ध्यान दिन उनको अनुरोध छ । नागरिकको काम अड्काउने गरी भइरहेको सेवा प्रवाहलाई चिर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन् ।
मन्त्रालयका उपसचिव तोयानाथ लम्सालले अभिमुखीकरण कार्यक्रम मंगलबारदेखि बिहीबारसम्म चल्ने जानकारी गराए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई, तनहुँ, गोरखा, लमजुङ, नवलपुर र मनाङ जिल्लाको सामाजिक विकास कार्यालय र स्थानीय तहको सहभागिता छ ।
तपाईको प्रतिक्रिया