ओझेलमा परेका तीर्थ चिनाउन पोखरामा कोटिहोम हुने

समाधान संवाददाता २०८१ भदौ १९ गते ११:४७

पोखरा ।
पोखरा महानगरपालिकामा रहेको धार्मिकस्थल ढुंगेसाँघुलाई चिनाउन कोटिहोम गरिने भएको छ । आगामी मंसिर महिनामा पोखरा १५ ढुंगेसाँघुमा शिव मन्दिर उदघाटनसँगै प्राण प्रतिष्ठा, लघु रुद्रीसहितको विराट धनधान्याञ्चल कोटी होम, कोटिद्वीप प्रज्वलन, पितृउद्धार भक्तिज्ञान महायज्ञ हुने भएको हो ।

Advertisement

कोटिहोम बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ मूल आयोजक समितिका संयोजक मदन गिरीले तीन दशकपछि पोखरामा कोटिहोम हुन लागेको बताए ।


पछिल्लो समय युवाहरुमा धार्मिक सांस्कृतिक ज्ञानको समेत कमी हुँदै जाँदा पोखरा १५ गण्डकी रिभर साइड युवा क्लब भने धार्मिक कार्यमा जुटिरहेको उनले बताए । कोटिहोम भनेको के हो ? कसरी गरिन्छ र यसस्को महत्व के हो भन्ने बारेमा समेत जानकारी दिने गरी आफूहरुले कोटिहोमको आयोजना गर्न लागेको उनले बताए । कोटिहोम शास्त्रअनुसार नै हुने र त्यसका लागि दान गर्न सक्नेले गर्ने नसक्नेले निशुल्क रुपमा सहभागी हुन सक्ने उनले बताए ।

Advertisement


‘हामीले कोटिहोमका लागि रकम दिनपर्छ भनेर भन्दैनौं न त दबाब नै दिन्छौं । दिनसक्ने हुनुहुन्छ भने दिन सक्नुहुन्छ सक्नु हुन्न भने पनि आएर पुण्य कार्यमा सहभागी हुन सक्नुहुन्छ,’ उनले भने, ‘ढुंगेसाँघु लुकेको तीर्थस्थल हो । यहाँ धार्मिक महत्व बोकेको ठाउँ छन् तिनीहरुको पहिचान गराउनु हाम्रो उदेश्य हो ।’

मंसिरमा हुने कोटी होममा निशुल्क ब्रतबन्धसँगै ८४ पूजासमेत


उनका अनुसार त्यहाँ विभिन्न पूजाअराधाना पनि हुन्छ । यस्तै कोटिहोमकै क्रममा निशुल्क ब्रतबन्ध तथा धनको अभाव वा सन्तान नभएका ८४ वर्ष पुगेका वृद्धवृद्धाका लागि पूजा समेत लगाउने व्यवस्था गरिने छ ।


रिभर साइड युवा क्लबका अध्यक्ष नारायण भण्डारीले पुरानो धार्मिक इतिहासलाई जीवन्त पार्न कोटिहोमको आयोजना गर्न लागेको बताए । सुरुआतमा ढुंगालाई पुज्दै आएको ठाउँमा अहिले मन्दिर निर्माणको कार्य भइरहेको र प्राण प्रतिष्ठासँगै कोटिहोमको आयोजना गर्न लागेको जानकारी दिए । ढुंगेसाँघु पितृ र देउतालाई पुज्ने एकै थलो भएकाले यसको महत्व छुट्टै भएको सुनाए ।


अर्जुन ढकालले ढुंगेसाँघु धार्मिक क्षेत्र भएपनि प्रचार प्रसारको अभावले निकै पछि पर्दै गइरहेको र यसलाई जीवन्त पार्ने कोसिसको थलानी गरेको बताए । उनले कोटिहोममा आई पुण्यको काम गर्न समेत अनुरोध गरे । उक्त कोटिहोममा प्रमुख बाचकको रुपमा जयश्री राधे गुरु तथा मन्दिर संरक्षक शोभाकान्त ढकाल छन् ।

तपाईको प्रतिक्रिया