सम्पादकीय—सुशासनको बाटो सदाचार

समाधान संवाददाता २०८१ भदौ १९ गते १२:०२

लोकतन्त्र, शान्ति, सुशासन, अनुशासन र समृद्धिको आधारभूमि सदाचार हो । सामाजिक–आर्थिक एवं राजनीतिक क्षेत्रमा सदाचारले सर्वोच्च स्थान ओगटेको हुन्छ । लोकतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकासका लागि सुशासन अनिवार्य शर्त हो । लोकतन्त्र विनाको सुशासन र सुशासन विनाको लोकतन्त्र फस्टाउन सक्दैन । सुशासनको एउटा महत्वपूर्ण अंगको रुपमा सदाचारलाई लिइएको छ ।

Advertisement


नेपालको सन्दर्भमा व्यक्ति, संस्था र सरकारी निकायबाट सदाचार पद्धती अपनाउने सन्दर्भमा छलफल वहस भएका छन् । भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनको क्षेत्रमा कार्यरत ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले तयार गरेको राष्ट्रिय सदाचार प्रणालीको अभ्यासबाट भ्रष्टाचार नियन्त्रण गर्ने दिशामा सकारात्मक सघाउ पुर्‍याएको छ ।


संघीय सरकारले ल्याउन लागेको राष्ट्रिय सदाचार नीति २०७४ (प्रस्तावित) राष्ट्रियसभाको संसदीय समिति अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिमा छलफलको क्रममा छ । सोही नीतिका विषयमा गैर सरकारी संस्था महासंघले आयोजना गरेको छलफलमा नागरिक समाजका अगुवाले सदाचार स्वघोषणाको विषय भएकाले नीति आवश्यक नपर्ने राय प्रकट गरे । सदाचार व्यक्तिको आचारण र व्यवहारसँग जोडिएकाले यसलाई सरकारले नीति बनाउँदैमा कार्यन्वायन नहुने उनीहरुको तर्क छ । नीति निर्माताहरुले सदाचार र नैतिक मूल्यको पक्षलाई स्वमूल्यांकन गर्नुपर्छ ।

Advertisement


देशको शासन व्यवस्था सक्षम, प्रभावकारी र सफल हुन सार्वजनिक प्रशासनमा नैतिकता, समर्पणभाव, पारदर्शिता, अधिकार प्रत्यायोजन, उत्तरदायित्व, स्वच्छता, जवाफदेही र आर्थिक सदाचार रहनुपर्छ । लोकतन्त्रमा सबैभन्दा संवेदनशील तत्व पारदर्शिता र आर्थिक सदाचार हो । सार्वजनिक निकायमा निर्वाचित, नियुक्त वा मनोनयन हुने व्यक्तिमा सेवाभाव र त्यागको आवश्यकता पर्दछ । राम्रो आचरण, असल चालचलन र सकारात्मक व्यवहार सदाचार हो । सुशासनको एक महत्वपूर्ण खम्बा भनेको सदाचारलाई लिन सकिन्छ ।


पूर्वीय दर्शनमा रहेको नैतिकता, सदाचारिता, चरित्र निर्माण र नैतिक शिक्षा समेटेर विद्यालय शिक्षादेखि उच्च शिक्षा तहसम्मको पाठ्यक्रम निर्माण गरी पूर्वीय दर्शनमा पाश्चात्य आधुनिक वैज्ञानिक शिक्षासमेत विश्वको बदलिंदो परिवेश अनुरुप शिक्षण–सिकाइ गर्दा नैतिकता तथा सदाचारको प्रवद्र्धन हुन्छ । असल र सभ्य समाज निर्माणका लागि सदाचार शिक्षा र संस्कारको अभिवृद्धि गर्नुपर्छ ।


भ्रष्टाचार न्यूनीकरण र नैतिकता तथा सदाचारमा व्यापकता ल्याउन आफैंबाट सुरुवात गर्नुपर्छ । नीति, नियम र व्यवहारप्रति उच्चसतर्क रही कार्य गर्ने सुविचार, उत्तम आचरण, स्वच्छता, निष्पक्षता एवं इमानदारी सदाचार हो । सदाचार सैद्धान्तिक विषय नभएर यो आत्मानुभूतिको आन्तरिक आत्मानुशासन सम्बन्धी विज्ञान भएकोले छुट्टै कानुन आवश्यक नपर्ने विषय उठेको हो ।

सदाचार नीतिका नाममा नागरिकलाई अंकुश लगाउने र माथिल्लो तहका व्यक्तिले जे गरेपनि हुनेढंगबाट राजा ज्ञानेन्द्रले नै यो नीति ल्याउन लागेका थिए । जसले अहिलेका परिवेशमा ल्याउन लाएको सदाचार नीतिले नागरिक समाजलाई झस्काएको छ । सदाचारका नाममा नागरिक संस्थाहरु र नागरिकलाई डाम्ने खालको भन्दापनि असल नियतकासाथ ल्याउन पर्छ । जसले सबै (प्रधानमन्त्री देखि सामान्य व्यक्ति) तहका नागरिकलाई सदाचारी बनाउने कुरामा सहयोग पुगोस् ।

तपाईको प्रतिक्रिया