सामुदायिक वनलाई समृद्धिसँग जोड्न नीति बाधक

समाधान संवाददाता २०८१ भदौ १९ गते १२:२८

गण्डकी ।
संरक्षण, सम्वद्र्धन र विकासका माध्यमबाट विश्वसामु परिचित हुन सफल सामुदायिक वनलाई समृद्धिसँग जोडन मौजुदा नीति बाधक बनेको सोमबार यहाँ आयोजित कार्यक्रमका सहभागीले बताएका छन् ।

Advertisement


सामुदायिक वन उपभोक्ता महासंघ नेपाल टिएफ परियोजना लागु भएका गण्डकी र लुम्बिनी प्रदेशका पालिका प्रमुखहरुका लागि पोखरामा आयोजित प्राकृतिक स्रोत उपयोग सम्बन्धी स्थानीय सरकारसँग नीतिगत छलफल कार्यक्रमका सहभागीहरुले प्राकृतिक स्रोत उपयोगमा सर्वसुलभ नीतिको खाँचो औंल्याएका हुन् ।


सामुदायिक वन व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारलाई दिनुपर्नेमा संघ र प्रदेश सरकारसँग सामूहिक माग गर्दै सहभागीहरुले उपयुक्त नीतिको अभावका कारण प्राकृतिक स्रोतलाई उद्यम र रोजगारीसँग जोडन अप्ठेरो परेको धारणा राखेका थिए ।

Advertisement


संवैधानिक व्यवस्था अनुसार जमिन प्रदेश र रुख संघ सरकारको जिम्मामा भएको हुँदा जनताको आवश्यकताका लागि सामुदायिक वनभित्र बाटो होस् वा कुनै भौतिक संरचना निर्माणमा अवरोध हुने गरेको सहभागी विभिन्न २० जना गाउँ र नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुको सामूहिक धारणा थियो ।


वन पैदावारमा आधारित उद्यम निर्माण, वन कार्यायोजना नवीकरण, सामुदायिक वन समुहको सम्पूर्ण डाटा संकलन गर्दै प्राकृतिक स्रोतको पहिचान र उपयोगमा सहयोग पुर्‍याउनु परियोजना लक्ष्य रहेको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले जानकारी दिए ।


मुलुकका १२७ पालिकाका कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उनले भने, ‘सामुदायिक वन समुहमा सुशासन कायम गर्दै सम्भाव्यता अध्ययनका आधारमा वनमा आधारित उद्यम सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ ।’


२०५२ साल जेठ १८ गते स्थापना भएको महासंघमा २३ हजार २६ सामुदायिक वन उपभोक्ता समुहका ३१ लाख ९५ हजार ३२३ घरधुरीले २४ लाख २५ हजार ३९२ हेक्टर क्षेत्रफल वन व्यवस्थापन गर्दै आएका छन् ।


कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले प्रदेश सरकारहरुले वन पैदावार बिक्रीमा जथाभावी कर लगाएको कारण जनतामा संरक्षणप्रति चासो घटेको बताए ।


फेकोफन, ग्रिन फाउन्डेसन र आदिवासी जनजाति महासंघद्वारा संयुक्तरुपमा आयोजना गरिएको कार्यक्रममा गण्डकी प्रदेशका १४ र लुम्विनी प्रदेशका छ वटा गरी २० वटा पालिका प्रमुखहरुको सहभागिता थियो । टिएफ परियोजनाका सुजन खनालले परियोजना सञ्चालान भएका सामुदायिक वनको डाटा पोर्टल सुरु गरिएको जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया