‘मिस पोखरा २०२४’ असोजमा हुने
पोखरा ।
पोखरा जेसीजको आयोजनामा ११ औं संस्करणको ‘मिस पोखरा २०२४’ हुने भएको छ । युवा नारीको आन्तरिक क्षमता, अन्तर्निहित प्रतिभा विकास गर्ने उद्देश्यले इभेन्ट फर यू प्रालिको इभेन्ट म्यानेज्मेण्टमा सौन्दर्य प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता युवा नारीहरुको आत्मविश्वास बढाउने र उनीहरुको नेतृत्व क्षमतामा निखार ल्याउन एक महत्वपूर्ण प्लेटफर्म हुने आयोजकको भनाइ छ ।
फर्म वितरण भइसकेको तथा आगामी असोज २ गते सम्म भर्न सकिने प्रतियोगिता संयोजक श्रीकृष्ण सुनारले जानकारी दिए ।
कक्षा १२ उत्र्तीण गरेका १७ देखि २५ वर्ष उमेर समूहका अविवाहित नारी प्रतियोगितामा सहभागी हुन पाउने उनले बताए । असोज ३ गते अडिसन हुनेछ भने ग्राण्ड फिनाले १७ असोजमा हुनेछ ।
विजेताले ताज, स्कुटर, ५० हजार रुपैयाँ तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने पोखरा जेसीज अध्यक्ष देवराज शर्माले बताए । फस्ट रनर अपले ताज, ३० हजार रुपैयाँ र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
सेकेन्ड रनर अपले ताज, २० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर हात पार्नेछन् । वेष्ट पर्सनालिटी, ट्यालेन्ट, स्माइल, हेयर, क्याटवाक, ड्रेस, फोटोजेनिक, भ्यूअर च्वाइस, पपुलारिटी र इन्टेक्टमा विद्यागत अवार्डसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने शर्माले बताए ।
अडिसनबाट छनोटलाई अभिमुखीकरण र परामर्श, आवश्यक तालिम, फोटोसुट, ट्यालेण्ट सो लगायत गतिविधिमा सामेल गराइने इभेन्ट फर यूका अध्यक्ष विशाल गुरुङले बताए । प्रतियोगिताले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने सुनौलो अवसर प्रदान गर्ने उनको तर्क छ ।
प्रतियोगितामा सहभागी हुन चाहनेले www.misspokhara.com मा गएर आवश्यक जानकारी प्राप्त गर्न र दर्ता प्रक्रिया पूरा गर्न सक्नेछन् ।
सन् १९७५ मा स्थापना भएको पोखरा जेसीजले समाज रुपान्तरण र युवाहरुको क्षमता विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ । जेसीजले प्रतिभाशाली र आत्मविश्वासी युवतीहरुलाई मिस पोखरा–२०२४ मा सहभागी हुन आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया