छत्रस्मृति सामाजिक सेवा पुरस्कारबाट सुवर्ण र मालकुमारी सम्मानित

सुन्दरकुमार थकाली २०८१ भदौ १९ गते १८:५७

जोमसोम— नेपाल रेडक्रस सोसाईटी मुस्ताङ शाखाका पूर्व सभापति छत्रबहादुर थकालीको स्मृतिमा स्थापित छत्र स्मृति सामाजिक सेवा पुरस्कारबाट २ जनालाई नगद पुरस्कारसहित सम्मान गरिएको छ । लोमान्थाङ—१ छोसेरका सवर्णकुमार बिष्ट र थासाङ—२ सौरुकी मालकुमारी हिराचन रेडक्रस शाखा मुस्ताङद्वारा सम्मानित भएका हुन् । ६२ औं नेपाल रेडक्रस दिवसको अवसरमा रेडक्रस शाखा मुस्ताङले नगद २० हजार पुरस्कारसहित सम्मान गरेको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी जकराज पन्त र रेडक्रस शाखा मुस्ताङका सभापति चन्द्रबहादुर थकालीले सम्मानित व्यक्तित्व बिष्ट र हिराचनलाई जनही नगद २० हजारसहित प्रमाणपत्र र खाँदाले सम्मान गरेका हुन् । थासाङ गाउँपालिका—२ को रेडक्रस उपशाखाको सभापति पदमा लामो समयसम्म रहेर जिम्मेवारीपूर्ण ढंगले संस्थागत विकास र मानवीय सेवाकार्यमा पू¥याएको योगदानको कदर गर्दै रेडक्रस शाखा मुस्ताङले छत्रस्मृति सामाजिक सेवा पुरस्कार २०८० अन्र्तगत सौरु निवासी मालकुमारी हिराचनलाई नगद पुरस्कृतसहित प्रमाणपत्र र खाँदाले सम्मान गरिएको हो । यस्तै, उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—१ छोसेरमा रेडक्रस उपशाखाको सभापति पदमा लामो समयमा जिम्मेवारीपूर्वक उत्कृष्ट कार्यसम्पादन तथा विभिन्न संघसंस्था तथा जिल्लाको सामाजिक र राजनीतिक क्षेत्रमा पू¥याएको अतुलनीय योगदानको उच्चमूल्यांकन गर्दै रेडक्रस शाखा मुस्ताङले छत्रस्मृति सामाजिक सेवा पुरस्कार २०८१ अन्र्तगत छोसेरका सुवर्णकुमार बिष्टलाई नगद पुरस्कारसहित प्रमाणपत्र र खाँदा लगाएर सम्मानित गरिएको हो ।


सम्मानपछि आयोजित कार्यक्रममा मुस्ताङका प्रजिअ पन्तले नेपाल रेडक्रस मानवीय सेवाभावको उद्देश्यसहित स्थापना भएको संस्था भएकाले यसको योगदान अतुलनीय रहेको बताए । जहाँ विपद् र समस्याहरु आउँछन त्यहाँ रेडक्रसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसमा आवद्ध भई मानवीय सत्कर्ममा जुट्नु पर्ने प्रजिअ पन्तले उल्लेख गरे ।
पुरस्कारसहित सम्मानित व्यक्ति छोसेरका सुवर्णकुमार बिष्टले आफुलाई प्राप्त भएको प्रतिफल सामाजिक योगदान र सत्कर्मको गन्तब्य भएको बताए । समाज र राष्ट्रलाई सर्वोपरी ठानेर काम गर्दा त्यसको प्रतिफल पनि सुखद हुने उल्लेख गर्दै बिष्टले रेडक्रसका ७ सिद्धान्तलाई अंगिकार गरेर मानवीय सहयोगमा जुट्नु पर्ने उल्लेख गरे ।
मुस्ताङमा २०३५ सालमा रेडक्रस शाखा स्थापना भएको शाखा सभापति चन्द्रबहादुर थकालीले जानकारी दिए । यस शाखाका पूर्व सभापति एवं बहुआयामिक व्यक्तित्व स्वर्गिय छत्र बहादुर थकाली मुस्ताङका लागि पथप्रर्दशक व्यक्तित्व भएको सुनाए । शाखा अन्र्तगत जिल्ला स्तरमा सिनियर र जुनियर रेडक्रसबाट संकलन गरिने रकमबाट छत्र स्मृति सामाजिक पुरस्कार कोष स्थापना भएको सभापति थकालीको भनाई छ ।
रेडक्रस दिवसका अवसरमा शाखा उपमन्त्री कर्णबहादुर थकालीले विपद् उद्दार,मानवीय सहयोग र राहत वितरण लगायतमा रेडक्रस शाखा मुस्ताङले गरेको कार्यप्रगति प्रस्तुत गरेका थिए ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया