बिचौलियाले दुख दिए उजुरी गर्न कास्की प्रशासनको आग्रह

समाधान संवाददाता २०८१ भदौ २० गते ८:२८

पोखरा । सरकारी कामका सिलसिलामा तपाईंहरुलाई बिचौलियाले सताउने गरेका छन् ? वा रकम नै लिएर काम मिलाइदिने गरेका छन् ? हो, सरकारी कार्यालयमा सेवाग्राहीलाई दुख दिने गरी कर्मचारीले काम अड्काइदिएमा त्यसको गाँठो फुकाइदिने भन्दै विचौलिया सलबलाउने गर्छन् । सेवाग्राहीको भीडभाड हुने, नापी, मालपोत, पालिका, जिल्ला प्रशासन, यातायात, आन्तरिक राजश्व कार्यालय जस्ता कार्यालयमा यस्ता विचौलिया अलि बढी नै देखिन्छन् ।

Advertisement

सेवाग्राहीले पटकपटक भन्दा नभएका काम विचौलियमार्फत् सहजै हुने गरेको पनि पाइन्छ । जसमा रकमको लेनदेन हुनेगरेको सेवाग्राहीको गुनासो छ । यस्तै गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले प्रचलित कानुनको बर्खिलाप गरी यस्ता गैरकानुनी कार्यमा संलग्न भएको पाइएमा दोषी उपर प्रचलित ऐन, कानुन बमोजिम हदैसम्मको कारवाही हुने चेतावनी दिएको छ । कास्की प्रशासनले बुधबार विज्ञप्ति निकालेर केही अनधिकृत व्यक्तिहरूले सेवाग्राहीहरूलाई सहज ढंगबाट छिटो सेवा प्राप्त गर्न मध्यस्थता गरी दिन्छु भनी प्रलोभनमा पारेको वा पार्ने प्रयास गरेको र बिचौलिया मार्फत काम हुने गरेको भन्ने गुनासो यदाकदा सुनिने गरेकोले यस्ता कार्यलाई निरुत्साहित गरी दोषीलाई कानुनी दायरामा ल्याउन सर्वसाधारणको सहयोगको अपेक्षा गरेको उल्लेख गरेको छ ।

सेवाग्राहीले सहज ढंगबाट कार्यालयको सेवा प्रवाह सम्बन्धमा सुझाव, गुनासो र उजुरी दिन क्युआर कोड स्क्यान गरी गरी सहज ढंगबाट प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिन सक्ने व्यवस्था मिलाइएको प्रजिअ भरतमणी पाण्डेले बताए । कोही कसैलाई विचौलियाले दुख दिए सिधै प्रमुख जिल्ला अधिकारी (कोठा नम्बर २०१) वा गुनासो सुन्ने अधिकारी सहायक प्रजिअ गंगाबहादुर क्षेत्री कोठा नम्बर २ मा वा सप्रजिअको मोबाइल नम्बर ९८५६०२४५०१ मा खबर गरिदिन जिल्ला प्रशासन कार्यालयले अपील गरेको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय, कास्कीबाट प्रदान गरिने सेवाहरू छिटो, छरितो र सहज ढंगबाट प्रदान गर्न, कार्यालयबाट प्रदान हुने सेवा र सो को लागि आवश्यक पर्ने कागज र प्रमाणहरुको जानकारी सहितको नागरिक बडापत्र सम्बन्धित सेवा लिने स्थान र कोठाहरुको बाहिर सबैले देख्न सकिने गरी राखिएको छ । आम सर्वसाधारणलाई जानकारीको लागि डिजिटल नागरिक बडापत्र समेत तयार गरी कार्यालयको आधिकारिक वेबपेज र युट्युबमा समेत राखिएको छ ।

त्यसका साथै कार्यालय हाताभित्र जिम्मेवार कर्मचारी सहितको नागरिक सहायता कक्ष समेत स्थापना गरिएको छ । आम नागरिकलाई जिल्ला प्रशासन कार्यालय, कास्कीबाट प्राप्त हुने सेवाका सम्बन्धमा केही बुझ्नु पर्ने भएमा कार्यालय हाताभित्र स्थापना भएको नागरिक सहायता कक्ष कोठा नम्बर १०८ मा बुझ्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
केही समयमा अगाडि नागरिकताको प्रतिलिपि बनाउने क्रममा कर्मचारीहरुले दुख दिएको र विचौलियामार्फत पैसा दिएपछि काम भएको खबर सार्वजनिक भएको थियो । उक्त घटनामा संलग्न कर्मचारीलाई जिम्मेवारीबाट हटाइ अर्कै शाखामा समेत पठाइसकिएको छ ।

प्रजिअ पाण्डेले जिल्ला प्रशासन कार्यालय कास्कीको छवी उच्च हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएको र आफू आएपछि सुधारका लागि सक्दो प्रयास थालेको बताएका छन् । कार्यालय प्रमुखको मासिक बैठकमा समेत सबै कार्यालय प्रमुखलाई यसबारेमा ध्यानाकर्षण गराउँदै जिम्मेवार रुपमा सेजा प्रवाह गर्न निर्देशन गरेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया