सम्पादकीय—मनाङेको अनुहारमा देखिएको प्रदेश

समाधान संवाददाता २०८१ भदौ २० गते १२:०७

दार्शनिक अरस्तुले भनेका थिएः समाजका सर्वश्रेष्ठ विद्वान्लाई राजनीतिमा ल्याउनुपर्छ । नेपाली समाजमा ठ्याक्कै उल्टो भएको छ । आपराधिक पृष्ठभूमिबाट सम्मानित जीवनमा पुग्न, धनको तुजुक देखाउन, नीति निर्माणमा प्रभाव पार्न राजनीति गर्नेहरु नेपाली समाजमा बढी देखिएका छन् । समाजका उम्दा विद्वान्हरु राजनीतिलाई फोहोरी खेल भन्दै त्यसबाट परै बस्न रुचाएको देखिएको छ । फलस्वरुप समाज र देशको राजनीति अधोगतिमा छ । जताततै नैराश्यले घर गरेको छ । नेपाली राजनीति कति विकृत बन्दै गएको छ भन्ने फेरि गण्डकी प्रदेशमा देखिएको छ ।

Advertisement

मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध बनेका राजीव गुरुङ (दीपक मनाङे)ले गण्डकी प्रदेश सरकार छाड्दै गर्दा दिएको अभिव्यक्ति यसको उदाहरण हो । अहिलेसम्म ६ पटक मन्त्री बनिसकेका मनाङेले दिएको मन्त्री पद बिक्रीका लागि राखेको भन्ने अभिव्यक्तिले प्रदेश सरकारको औचित्य र मन्त्री पदको गरिमामाथि प्रश्न उठाएको छ । उनले मन्त्री पद किन्ने मान्छे पाए बेच्ने, पैसा नदिई र नकिनी कहाँ मन्त्री नपाइने, प्रदेशमामात्र होइन, केन्द्रमा पनि मन्त्री बन्न पैसा तिर्नुपर्ने, मन्त्री पद लिनका लागि दुई चार करोड बुझाउनु त सामान्य कुरा भएको जनाएका छन् ।


मनांगेको दाबी अनुसार कोही मन्त्री पद किन्न तयार भएको हो होइन, त्यता जानु जरुरी छैन । किनकि त्यो प्रमाणित भएको कुरा हा्इन । तर गण्डकी प्रदेशमा सबैभन्दा बढी पटक मन्त्री बनेका सांसदको यस खालको अभिव्यक्ति विकृत राजनीतिको चित्रण हो । राजनीतिकभन्दा गुण्डागर्दी पृष्ठभूमिका मनाङे पहिलोपटक नेकपाको समर्थनमा विजयी भएका थिए । दोस्रो पटक त निर्वारोध नै बनेका थिए । यस्तो पृष्ठभूमिका व्यक्तिलाई संसदमा निर्वारोध दिने मुख्य दलहरु पनि उनको उट्पट्याङमा नैतिक जिम्मेवार नै छन् ।

Advertisement

जसले हिजो राजनीतिक परिवर्तनका लागि जीवन अर्पण गरे, आफ्नो सारा समय राजनीतिमै समर्पण गरे, उनीहरु राजनीतिबाट बाहिर हुनु र जीवनभर गुण्डागर्दी र अन्य धन्दा गरिरहेकाहरु नीति निर्माणको क्षेत्रमा पुग्नु राजीति विकृत हुनुकै परिणाम हो । प्रमुख मानिएका दलहरुले तिनैलाई सत्ता समीकरणको वैशाखी बनाउनुपर्ने जुन अवस्था विद्यमान छ, यसले सुन्दर भविष्यको संकेत गर्दैन ।


लामो संघर्षपछि नेपालमा राजनीतिक परिवर्तन आएको छ । जाति, क्षेत्र, लिंग आदि विभिन्न हिसाबले उत्पीडनमा पारेर दोस्रो दर्जाको नागरिकको रुपमा राखिएका उत्पीडित समुदायले राजनीतिक र कानुनी रुपमा बराबरी हैसियत प्राप्त गर्नु सानो उपलब्धि होइन । यी अधिकार वा उपलब्धिलाई जनताको जीवन व्यवहारसँग जोडेर अघि बढाउँदै समृद्धिको दिशामा जानु अहिलेको मुख्य दायित्व हो ।

अब राजनीतिलाई फोहरी खेल होइन, यो त राज्यको नीति निर्माण र कार्यान्वयनसँग जोडिएको महत्वपूर्ण क्षेत्र हो भनी नागरिकमा आशा जगाउनु जरुरी छ । यसलाई विकृत बनाउने, धन्दा वा व्यवसाय बनाउने मानसिकता हटाउँदै उत्तरदायित्वसहितको गहन जिम्मेवारी हो भन्ने स्थापित गर्न ढिलाइ गर्नु हुँदैन ।

तपाईको प्रतिक्रिया