लामाचौर कप: महिलातर्फ न्यु डायमन्ड र एपिएफ, पुरुषतर्फ पुलिसको जित
पोखरा ।
पोखराको लामाचौरमा जारी लामाचौर कप भलिबल प्रतियोगितामा दोस्रो दिन ३ खेल भएका छन् । नव आदर्श सामुदायिक समाज (नाकोड्स) को वार्षिकोत्सव तथा हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फका २ खेल भए पनि पुरुषतर्फ एक खेलमात्रै भएको छ ।
महिलातर्फ टिपटप न्यु डायमन्ड युथ स्पोट्र्स क्लब र एपिएफ क्लबले जित हासिल गर्दा पुरुषतर्फ पुलिसले जित हाँसिल गरेको छ । पुरुषतर्फको अन्तिम खेल गण्डकी र एपिएफको भने प्रकाश अभाव (लाइट प्रोटेस्ट)का कारण रोकिएको छ ।
पोखरा १९ लामाचौरस्थित इैन्द्रराज्य लक्ष्मी माविको भलिबल कोर्टमा भएको महिलातर्फको खेलमा डायमन्डले गण्डकीलाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेटमा २५–१३ ले हराएको डायमन्डले दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–१६ ले नै हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो । बिहान ८ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण निकै ढिला सुरु भएको थियो ।
२ खेलबाट डायमन्डको स्पष्ट ६ अंक छ । डायमन्डले यस अघि एभरेष्ट भलिबल क्लबलाई ३–० कै सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा एपिएफले एभरेष्ट भलिबललाई ३–० कै सोझो सेटमा हराएको छ । एपिएफले पहिलो सेट २५–१० र दोस्रो सेट २५–११ को फराकिलो अन्तरले पाखा लगायो । अन्तिम सेटमा पनि एभरेस्टलाई २५–१३ ले हराउँन सफल भएको हो । यो सँगै एपिएफको पनि स्पष्ट ६ अंक छ । गण्डकी र एभरेष्ट भने अंक विहीन छन् ।
४ टिम सहभागी प्रतियोगिता राउन्डरोविन लिगको आधारमा खेलाइएको छ । लिगका अनितम खेल भोलि हुनेछन् । एपिएफ र डायमन्डले फाइनलको यात्रा सुरक्षित गरिसकेका छन् । पुरुषतर्फ भएको खेलमा नेपाल पुलिस क्लबले ट्राभल इन्क्वाइरी गलकोटलाई ३–० को सोझो सेटमा हराउन सफल भयो । पुलिसले गलकोटलाई पहिलो सेटमा २५–१२, दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–२२ ले हराएको हो ।
२ खेलमा जित हाँसिल गरेको पुलिसको ६ अंक छ । पुलिसले यसअघि गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो । दिनको अन्तिम खेलमा गण्डकी र एपिएफ प्रतिस्पार्धा गर्दैगर्दा दोस्रो सेट सकिदा लाइट प्रोटेस्टका कारण खेल रोकिएको छ । उक्त खेलमा दुवै टिमले १–१ सेट जितेका थिए ।
गण्डकीले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारे पनि दोस्रो सेट १९–२५ ले गुमाएको थियो । बिहान वर्षा भएपछि खेल ढिला गरी सुरु हुँदा अन्तिम खेल हुन नसकेको खेल संयोजक शंकर केसीले जानकारी दिए ।
राउन्ड रोविन लिगको आधारमा खेलाइएको खेलमा स्थगित एपिएफ र गण्डकीको खेल बिहीबार हुनेछ । लिगका अन्य बाँकी खेलसमेत बिहीबार नै हुने केसीले जानकारी दिए । प्रतियोगितामा महिला पुरुष दुवैतर्फ चार–चार टिमको सहभागिता छ । प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्ने छन् ।
मंगलबारदेखि प्रतियोगिता सुरु भए पनि औपचारिक उद्घाटन भने बुधबार भएको थियो । गण्डकी प्रदेशका डिल्लीराज भट्टले रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका थिए । रेफ्री संयोजक टहलसिंह थापा, नेपाल पुलिसकी खेलाडी विनिता बुढाथोकीले सपथ ग्रहण गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया