कास्कीमा डेंगु सचेतना अभियान

समाधान संवाददाता २०८१ भदौ २० गते १३:५०

पोखरा ।
नेपाल रेडक्रस सोसाइटीको ६२ औ स्थापना दिवसको सन्दर्भमा नेपाल रेडक्रस सोसाइटी कास्कीले बुधबार रेडक्रस अभिमुखीकरण तथा डेंगु रोगसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ ।

Advertisement


युवा रेडक्रस सर्कल बाराही मावि पोखरा ५ मालेपाटनको व्यवस्थापनमा भएको कार्यक्रममा रेडक्रस सोसाइटी कास्कीका कार्यालय प्रमुख मोहनसिंह खड्काले नेपालमा रेडक्रसको अभियान, रेडक्रस सोसाइटी कास्कीका डेंगु फोकल पर्सन नवराज भण्डारी डेंगी रोगको प्रकोप र जोगिने उपायको विषयमा सहजीकरण गरेका थिए ।


नेपाल रेडक्रस सोसाइटी कास्कीका कार्यवहाक मन्त्री रमा कोइराला न्यौपानेले स्थापना कालदेखि नै रेडक्रसले विपद्को व्यवस्थापन र मानवीय सेवाको काम गरेको बताइन् । उनले रेडक्रसले तटस्थ तथा निष्पक्ष सेवामार्फत् मानवतालाई जीवित राख्न र स्वयंसेवाको सिद्धान्त व्यवहारमा अपनाई समुदायमा आशा जगाउने काम गरेको दाबी गरिन् ।

Advertisement


उनले कास्कीमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइएफआइसी)सँगको सहकार्यमा रेडक्रसले डेंगीको संक्रमण रोकथाम नियन्त्रणका लागि अभियान सञ्चालन गरेको जानकारी दिइन् । उनले रेडक्रसले ५ पालिकाका ४८ उपशाखामार्फत वडा तथा समुदाय स्तरमा लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान चलाएको उल्लेख गरिन् ।

५ पालिकाका ४८ उपशाखामार्फत वडा तथा समुदाय स्तरमा लामखुट्टेका लार्भा खोज तथा नष्ट अभियान

Advertisement


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका कोषाध्यक्ष सन्तोष अधिकारी, कार्यसमितिका सदस्यहरु खगेन्द्रराज पराजुली, बविता सुवेदी, विद्यालयका प्रधानाध्यापक शिवप्रसाद भण्डारी, शिक्षक नायक राधा तिमिल्सिना, युवा रेडक्रस सर्कल बाराही माविका अध्यक्ष पूजा बैजु लगायतले रेडक्रसको स्थापना दिवसको बारेमा बोलेका थिए ।


यसैबीच नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाले बुधबार विद्यालय स्तरीय रेडक्रस कविता वाचन प्रतियोगिता गरेको छ । प्रतियोगितामा ग्लोबल कलेजियट स्कुलका रेजिना अधिकारी प्रथम भइन् ।


प्रतियोगितामा सरस्वती आधारभूत विद्यालयका गुराँस सुनार द्वितीय, सितलादेवी सामुदायिक विद्यालयका अनुराग सापकोटा तृतीय र अमरसिंह माविका सिमरान दाहालले सान्त्वना पुरस्कार पाएको निणार्यक संयोजक अम्बिका दाहाल भण्डारीले जानकारी दिइन् । प्रतियोगितामा २२ जनाको सहभागिता रहेको थियो ।


प्रतियोगिताको निर्णायकमा इन्दिरा पन्त र छवि गौडेल थिए । नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति धर्मराज अधिकारीले उद्घाटन गरेको कार्यक्रममा रेडक्रस सोसाइटी पोखरा १२का सभापति कुश्मराज आचार्यको अध्यक्षतामा भएको थियो ।


यसैगरी नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको सन्दर्भमा युवा रेडक्रस सर्कल मदरल्याण्ड माध्यमिक विद्यालय पोखरा ७ मासबारले रेडक्रस सम्बन्धी निबन्ध लेखन प्रतियोगिता गरेको छ । प्रतियोगितामा ७८ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका छन् ।


नेपाल रेडक्रस सोसाइटी कास्कीका कार्यसमितिका सदस्य तथा जुनियर युवा समितिका संयोजक रमेशराज भण्डारीले उद्घाटन गरेको कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य डा त्रिभुवन शर्मा बराल, युवा रेडक्रस सर्कलका उपाध्यक्ष स्वीकृति बराल, रोशन श्रेष्ठ लगायतले रेडक्रसको बारेका बोलेका थिए ।


‘मानवतालाई जीवित राखौं’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवस मनाइएको हो । विश्वमा रेडक्रस अभियान सुरुवात भएको झण्डै १ सय वर्ष पछि विक्रम सम्बत २०२० भदौ १९ गते नेपालमा रेडक्रसको स्थापना भएको हो ।


यसैबीच नेपाल रेडक्रस सोसाइटी पोखरा २ र ३ उपशाखाले डेंगी रोग संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सचेतनामूलक कार्यक्रम गरेको छ । रेडक्रस सोसाइटीको स्थापना दिवसको सन्दर्भमा भएको लामखुट्टे खोज र नष्ट गर अभियानमा गरेको रेडक्रस सोसाइटी कास्कीका कार्यसमितिका सदस्य खगेन्द्रराज पराजुलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया