पोखरा उडान गर्न चाइना साउदर्न तयार

समाधान संवाददाता २०८१ भदौ २१ गते १३:२०

पोखरा ।
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान विस्तार गर्न तयार रहेको चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नका प्रतिनिधिले जानकारी गराएका छन् । ४० भन्दा बढी मुलुकमा सेवा दिँदै आएको कम्पनीले अहिले काठमाडौंबाट चिनियाँ सहर ग्वान्झाओमा सिधा उडान गरिरहेको छ ।

Advertisement


बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँग भेट्दै चाइना साउदर्नका प्रतिनिधिले यस्तो जानकारी गराएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ । एयरलाइन्सका प्रतिनिधिले मन्त्री पाण्डेसमक्ष पोखरा र भैरहवामा उडान गर्न उत्साहित रहेको जनाएका थिए । प्रतिनिधिले पोखरा र भैरहवा उडानमा सरकारले लिएको नीतिगत सुधारको पहललाई प्रशंसा गरेकोसमेत मन्त्रालयले जनाएको छ । चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने जानकारी गराएपछि मन्त्री पाण्डेले पर्यटकीय राजधानी पोखरा र भगवान गौतम बुद्धको जन्मस्थल भैरहवा उडानका लागि सरकारले स्वागत गर्ने बताए ।


यसबाट द्विपक्षीय हित र आपसी सम्बन्ध विस्तारमा फाइदा पुग्ने उनको भनाइ छ । यस उडानले नेपाल र चीन दुवै मुलुकलाई फाइदा पुग्ने उनको भनाइ छ । मन्त्री पाण्डेले नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले चाइना साउदर्न एयरलाइन्सबाट हवाई सुरक्षाबारे लाभ लिन सक्ने बताए । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तीव्रताका साथ अघि बढाएको छ । विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने कार्ययोजना मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ । एयरलायन्स कम्पनीलाई विभिन्न शीर्षकमा सरकारले सेवा शुल्कमा छुट दिएको छ ।

Advertisement


पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने यात्रु सेवा, पार्किङ ल्यान्डिङ र नेभिगेसन सेवा शुल्कमा पूर्ण छुट दिइने कार्ययोजनामा उल्लेख छ । कार्ययोजनाले वायु सेवा कम्पनीहरू मागलाई सम्बोधन गरेको छ । पर्यटन शुल्क नलिने, ग्राउन्ड ह्यान्डलिङ सेवामा ७५ प्रतिशत छुट दिने व्यवस्था कार्ययोजनामा छ । हाल अन्तर्राष्ट्रिय हवाई उडान टिकटमा ३ हजार र पर्यटन शुल्क १ हजार रूपैयाँ लाग्ने व्यवस्था छ ।


कार्ययोजनाले अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुलाई प्रोत्साहन गर्ने सम्बन्धमा हवाई टिकटमा लगाइने भ्याट छुट वा फिर्ता सम्बन्धमा २ महिनाभित्र अर्थ मन्त्रालयलाई सबै व्यवस्था मिलाउन भनेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुबै विमानस्थलमा भिसा सेन्टर स्थापना गर्न प्राथमिकताका आधारमा गन्तव्य मुलुक छनोट गरी परराष्ट्र मन्त्रालयमा तुरून्त पत्राचार कार्ययोजनामा उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया