प्रदेश सभा अधिवेशन २६ गतेबाट

पोखरा ।
सरकार परिवर्तनका कारण प्रभावित बनेको गण्डकी प्रदेश सभाको बैठक दुई महिनापछि भदौ २६ गते बस्ने भएको छ । गण्डकीको छैटौँ अधिवेशन अन्तर्गत असार १८ गतेको बैठकपछि प्रदेश सभा स्थगित गरिएको थियो । गण्डकी प्रदेश सभाबाट असार १७ गते आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको थियो ।
प्रदेश सभाका उपसचिव प्रेम सुवेदीले सभामुख कृष्णप्रसाद धितालले सरकारको सिफारिसमा भदौ २६ गते सदन आह्वान गरेको जानकारी दिए । गण्डकी प्रदेश सभामा अहिले दुई विधेयक छलफलमा छन् । जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्राइभेट फर्मसम्बन्धी विधेयक छलफलका क्रममा छन् ।
उपसचिव सुवेदीले केही दिनअघि सरकारले साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद् सचिवालयमा दर्ता गराएको उल्लेख गरे । यो विधेयक सदनमा टेबुल हुन बाँकी छ । बीजनाशक विषादी व्यवस्थापन सम्बन्धनमा बनेको विधेयक संसद्मा सामान्य छलफलपछि थप छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ ।
गएको वैशाख १६ गते सर्वाेच्चको परमादेशबमोजिम नियुक्त भएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मात्र सरकारलाई पूर्णता दिएका थिए । सत्ता गठबन्धनमा आएको फेरबदलका कारण संसदीय समितिहरूसमेत निष्व्रिmय बनेका छन् ।
सरकारले प्रदेश सरकारका लागि ४० ऐन आवश्यक पर्ने निक्र्याेल गरे पनि विधे यक तयार गर्नेतर्फ ध्यान दिएको देखिँदैन । ६० सदस्यीय प्रदेश सभामा अहिले मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारलाई ५३ सांसदको समर्थन छ । प्रदेश सभाका चार समिति पनि पछिल्लो समय कामविहीन छन् । सामाजिक विकास तथा कृषि समिति सभापति फणीन्द्र देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री बनेपछि नयाँ नेतृत्व चुनिएको छैन । प्रदेश मामिला तथा कानुन समितिमा कांग्रेस सांसद चम्पादेवी खड्का सभापति छिन् भने अर्थ तथा विकास समितिमा भोजराज अर्याल सभापति छन् ।
नेकपा (एमाले) प्रमुख प्रतिपक्षमा रहेका बेला समितिको नेतृत्व चुनिएकाले सार्वजनिक लेखा समितिमा एमाले सांसद सुधीरकुमार पौडेल सभापति छन् । माओवादी केन्द्रको कोटाबाट सामाजिक विकास तथा कृषि समिति सभापति देवकोटा मन्त्री बनेपछि समिति नेतृत्वविहीन छ भने सार्वजनिक लेखा समितिको नेतृत्व आपूmहरूले पाउनुपर्ने माओवादीकी प्रमुख सचेतक कुसुम बुढा पुन बताउँछिन् ।
तपाईको प्रतिक्रिया