बौद्धमार्गी पनि तीजमा छमछमी नाचे

जोमसोम ।
पितृ उद्धारका लागि पवित्र धार्मिकस्थल कागबेनीधाममा महिलाहरुले तीज पर्व मनाएका छन् । कागबेनी श्राद्धस्थल संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा बिहीबार तीज पर्व मनाइएको हो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत विद्यालयका शिक्षिका, स्थानीय तहका महिला कर्मचारी र स्थानीय महिलाहरुलाई समेट्दै कागबेनी श्राद्धस्थल संरक्षण तथा व्यवस्थापन समितिले तीज पर्व मनाएको हो । तीजको बेला माइतीघर, जन्मघर जान नपाई कार्यस्थलमा खटिन परेका महिलाहरुलाई सहानुभूति प्रदान गर्न र उनीहरुको आत्मसन्तुष्टिका लागि हरितालिका तीजको विशेष कार्यक्रम आयोजना गरिएको श्राद्धस्थल संरक्षण तथा व्यवस्थापन समितिकी संयोजक लक्ष्मी गुरुङले जानकारी दिइन् ।
‘हाम्रो पालिकामा काम गर्ने महिला कर्मचारीहरु माइती र जन्मघर जान नपाउँदा दुखी हुनुहुन्थ्यो, जागिर खाएपछि हत्तपत्त जिम्मेवारी छोडेर जान पनि मिल्दैन,’ संयोजक गुरुङले भनिन्, ‘कसैको घर र माईती टाढा छ, छुट्टी पनि धेरै हँुदैन, यसले कर्मचारी महिलाहरु यतै रहन बाध्य परे ।’ महिलाहरुको महान पर्वको भावनालाई बुझेर नै हामीले तीजको कार्यक्रम राखेको संयोजक लक्ष्मी गुरुङले उल्लेख गरिन् ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका सरकारी विद्यालयका शिक्षिका र कर्मचारीहरुलाई तीजको कार्यक्रम राखेर मनोरञ्जन प्रदान गरिएको हो । रातो पहिरन चिटिक्क सजिएका महिला कर्मचारीहरुसँगै कागबेनी गाउँका स्थानीय महिलाहरुले समेत तीज पर्व विभिन्न कार्यक्रम गरी मनाएका छन् ।
बौद्ध धर्मको प्रभुत्व रहेको हिमाली जिल्ला मुस्ताङमा यस वर्ष महिलाहरुको महान पर्व हरितालिका तीज पर्वको रौनक जताततै देखिन थालेको छ । विगतमा हिन्दु महिलाहरुमा मात्रै सीमित तीज पर्व मुस्ताङका बौद्धमार्गी महिलाहरुले समेत अनुसरण गर्न थालेका छन् । समाजघर, आमा समूहको भवन र होटलहरुमा आपसमा भेला भई तीजको दर खाँदै मुस्ताङका स्थानीय महिलाहरुले समेत तीजको गीतमा छमछमी नाचे ।
तीज कार्यक्रममा कागबेनीमा एकत्रित भएका महिलाहरुले कागबेनी धाम नजिकै प्रतिस्थापन गरिएको कछुवा रुपी कुर्म अवतारको शालिग्राम पार्कमा तीज गीत गाउँदै छमछमी नाचे । भगवान रुपी शिलालाई परिक्रम गर्दै तीज गीतमा नाचेर रमाए ।
कागबेनीस्थित जनशान्ति माध्यमिक विद्यालयकी पूर्वशिक्षिका हरिमाया पराजुलीले तीज पर्वमा माइती जान नपाएपनि मुस्ताङमै रमाइलो गरी मन भुलाउने अवसर प्राप्त भएको बताइन् । जनशान्ति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सरिता परियारले तीज पर्वमा माइत जान नपाएपनि यतै रमाउने मौका मिलेको बताइन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङले पनि तीज पर्वको बेला माइत जान नपाएका महिला कर्मचारीलाई समेट्दै तीजको दरखाने कार्यक्रम आयोजना ग¥यो । जिल्ला स्थित सरकारी कार्यालयका निजामती महिला कर्मचारीहरुलाई थोरै भएमा आत्मसन्तुष्टि प्रदान गर्न तीजको दरखाने कार्यक्रम आयोजना गरेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया