टिकटक प्रतिबन्ध पूर्ण रुपमा हट्यो

अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गतिविधि अस्वीकार्य– मन्त्री गुरुङ

समाधान संवाददाता २०८१ भदौ २१ गते १८:२७

पोखरा ।

Advertisement

सरकारले नेपालमा टिकटकमाथि लगाएकाे प्रतिबन्ध औपचारिक रुपमा हटाएको छ । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेलामा सामाजिक सद्भावमा खलल पुर्‌याएको भन्दै मन्त्रिपरिषद्ले निर्णय लोकप्रिय सामाजिक सञ्जाल टिकटकलाई देशभर प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आज एक प्रेस नोट जारी गर्दै टिकटक माथिको प्रतिनबन्ध हटेको जानकारी दिएका छन् । उनले नागरिकको वाक स्वतन्त्रता रक्षा गर्ने पक्षमा सरकार छ भन्दै टिकटक पनि नागरिकको अभिव्यक्तिको माध्यम भएको बताएका छन् । मन्त्री गुरुङले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने कुनै पनि गतिविधि अस्वीकार्य भएको बताएका छन् ।

Advertisement

मन्त्रीले जारी गरेको प्रेस नोटको पूर्ण पाठ

प्रेसनोट

Advertisement

अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक समाजको आधारशिला हो, लोकतन्त्रको प्राण वायु हो। सामाजिक सञ्जालको विकास, विस्तार र बढ्दो पहुँचले स्वतन्त्र रूपमा विचार अभिव्यक्त गर्ने तथा सूचनामा पहुँच पाउने मौलिक अधिकारलाई सुदृढ गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।

टिकटक लगायतका सामाजिक सञ्जालले नागरिकलाई आफ्नो विचार राख्ने, सार्वजनिक बहस गर्ने, रचनात्मक बन्ने, साना तथा मझौला उद्यम तथा व्यवसाय प्रवर्द्धन गर्ने तथा मनोरञ्जन गर्ने महत्त्वपूर्ण मञ्च दिएका छन्। यी डिजिटल प्लेटफर्महरू पछिल्ला दिनमा लोकतान्त्रिक अभ्यासको उत्तम माध्यम पनि बनिरहेको तथ्य पनि हाम्रा अगाडि छ।

कुनै पनि सामाजिक सञ्जाललाई रोक्दा वा प्रतिबन्ध लगाउँदा आम नागरिकको अभिव्यक्तिको स्वतन्त्रताको अभ्यासमा खलल पुग्न जान्छ । यस्तो प्रतिबन्धले नागरिकलाई आफ्ना दृष्टिकोण सबैका अगाडि प्रस्तुत गर्ने र विश्वव्यापी डिजिटल समुदायमा सहभागी हुने अवसरबाट वञ्चित गराउँछ भन्ने कुरा जगजाहेर नै छ। यसर्थ टिकटक माथिको प्रतिबन्ध निरन्तरता दिएर अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउने र विचारको बन्धक बनाउने पक्षमा हाम्रो सरकार छैन। हामी कुनै पनि किसिमले आम नागरिकको अभिव्यक्तिको स्वतन्त्रताको हकलाई सङ्कुचित गर्ने गतिविधिको विरोधमा छौँ।

टिकटकमाथि प्रतिबन्ध लगाउँदा माथि भनिएझैँ साना तथा मझौला उद्यम तथा व्यवसाय प्रवर्द्धन गर्ने काम रोकिएको थियो, साना व्यवसायी मारमा परेका थिए, इन्टरनेट प्रदायक दूरसञ्चार कम्पनीहरूको आम्दानीमा असर पुगेको र यसबाट नेपाल सरकारको राजस्वमा पनि असर परेको थियो । यसका अतिरिक्त लामो समयदेखि नेपाल सरकारसँग सम्पर्कमा रहेको टिकटकको सञ्चालक कम्पनीले हाम्रो समाजका मर्यादा तथा सुरक्षा चासोहरूलाई सम्बोधन गर्ने र तत् अनुसार टिकटकलाई सुधार गर्ने प्रतिबद्धता गरेपछि मन्त्रीपरिषद्‌द्वारा निर्णय गरी टिकटक खुला गरिएको छ । यसै गरी टिकटकका सञ्चालकले देशव्यापी साइबर सुरक्षामा प्रतिबद्धता जनाउनुका साथै नेपालको पर्यटन, डिजिटल साक्षरता तथा युवाहरूलाई रोजगारी प्रवर्द्धन गर्ने तथा नेपाली राष्ट्र भाषाको स्रोत परिचालन गरी विषयवस्तु (कन्टेन्ट) फिल्टरिङ एवं मोडरेसनलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।

निर्णय कार्यान्वयन सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय प्रेस तथा सूचना समन्वय शाखा सिंहदरबार, काठमाडौँले नेपाल दूरसञ्चार प्राधिकरण, जमल काठमाडौँलाई भदौ २० गते निर्णय कार्यान्वयन सम्बन्धमा पठाएको पत्रमा निम्नानुसार उल्लेख गरिएको छ:

क. सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० को दफा ३ बमोजिम सामाजिक सञ्जाल (टिकटक) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गर्ने तथा सोही निर्देशिकाको दफा ६ बमोजिम टिकटकको नेपालभित्र सम्पर्क विन्दु (पोइन्ट अफ कनट्याक्ट) को व्यवस्था गर्ने ।

ख. टिकटक लगायत अन्य सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्दा निम्न कार्यहरू गर्ने सुनिश्चित गर्नेः

१. नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने।

२.सामाजिक सञ्जाल प्रयोगको सन्दर्भमा देशभर इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने।

३. शिक्षण संस्थामा शैक्षिक गुणस्तर सुधार गर्ने गरी डिजिटल सहयोग कार्यक्रम सञ्चालन गर्ने ।

४. नेपाली भाषा तथा अन्य राष्ट्र भाषाको स्रोत परिचालन गरी विषयवस्तु (कन्टेन्ट) फिल्टरिङ एवं मोडरेसनलाई प्रभावकारी बनाउने, सामाजिक सद्‍भाव बिगार्ने तथा अश्लीलता फैलाउने विषयवस्तु हटाउन सहयोग गर्ने र विद्युतीय अपराध नियन्त्रणमा सहयोग पुर्‍याउने।

पृथ्वीसुब्बा गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री

तपाईको प्रतिक्रिया