डढेलो र अतिक्रमणको चपेटामा वन

समाधान संवाददाता २०८१ भदौ २२ गते १४:१२

राजु गिरी
पोखरा ।
वनका धेरै उपयोगिता र आयाम छन् । दैनिक प्रयोग हुने काठ, दाउरा र पिउने पानीको जोहो गर्ने स्रोत वन हो भने यो वन्यजन्तुको बासस्थानसमेत हो । सजीवलाई चाहिने अक्सिजनको प्रमुख स्रोत वनमै जडीबुटीहरु पाइन्छन् । पनि सौन्दर्य हो, सम्पदा पनि हो । यी तमाम फाइदाकै कारण भनिएको हो–हरियो वन, नेपालको धन ।

Advertisement


जानकारहरु धर्तीको कमसेकम ४० प्रतिशत वनजंगल चाहिने औंल्याउँछन् । नेपालको अवस्था अहिले सन्तोषजनक भए पनि विस्तारै वन विनास पनि कायमै छ । पछिल्लो समय डढेलो, भूक्षय, अतिक्रमण, संरक्षणको कमी जस्ता कारणले वनसँगै वातावरणमा पनि चुनौती थपिएका छन् । विशेषतः मानवीय लापरवाहीकै कारण वनजंगल विनाश हुँदै गएको छ भने वातावरण असन्तुलित बन्दै छ ।

आधुनिक युगमा प्रविधिले फड्को मार्दै गए पनि औधोगिकरण, सहरीकरण र आधुनिकीकरणले वन सम्पदामा आघात पु¥याएको छ । एकातिर उद्योगका लागि चाहिने कच्चा पदार्थका लागि वनजंगलको अत्यधिक प्रयोग भएको छ भने अर्कोतिर उद्योग, कलकारखानाबाट निस्कने हानिकारक रासायनले भूमी, जल, वायु प्रदूषण बढाएका छन् । वन लगायतका प्राकृतिक सम्पदाको दिगो संरक्षण गरिएन भने एक दिन पृथ्वीमा जीवनरहित बञ्जर मरूभूमीमात्र रहनेमा दुई मत छैन ।
वनजंगलको अर्काे कारण डढेलो हो । नेपालमा ९० प्रतिशत डढेलो मानवकै कारणबाट हुने गरेको वन निर्देशनालय गण्डकीकी उपसचिव करुणा कार्की बताउँछिन् । भन्छिन्, ‘वन व्यवस्थापनकै लागि डढेलो आवश्यक छ तर त्यो नियन्त्रित र व्यवस्थित हुनुपर्छ । व्यवस्थित डढेलोले धेरै कुरामा वनलाई फाइदा गर्छ तर अनियन्त्रित डढेलो भने निकै घातक हो ।’

Advertisement


नेपालका प्रायः डढेलो अनियन्त्रित खालका हुने उनको भनाइ छ । ‘पुसमा पात पतिङगर संकलन गर्ने र माघ अन्तिममा व्यवस्थित नियन्त्रित डढेलो लगाएमा डढेलोबाट हुने क्षतिमा न्यूनीकरण हुने थियो । यसलाई वन डढेलो कम गर्न विकल्पको रुपमा लिन सकिन्छ,’ कार्कीले थपिन् ।


वन तथा भू–संरक्षण विभागको तथ्यांक हेर्ने हो भने नेपालमा १० महिनाको अवधिमा ५ हजारभन्दा बढी डढेलोसम्बन्धी घटना भएका छन् । नेपालमा वनजंगल पर्याप्त भए पनि अतिक्रमण, डढेलो र भूक्षयले गर्दा अवस्था खस्कदै गएको वातावरणविद् सन्तोष भट्टराई बताउँछन् । ‘वनले नै वातावरण जोगाएको छ । वनजंगल नै विनाश भए वातावरण सन्तुलन हुन सक्दैन,’ भट्टराई भन्छन् ।

Advertisement


कार्बनबाट अर्बौ आम्दानी


वनका बहुउपयोगी छ । विश्वको जलवायु सन्तुलनसँग पनि यो जोडिएको छ । बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप न्यूनीकरण गर्न होस् या फर्निचरका सामग्री बनाउन वनकै आवश्यकता पर्छ । राज्यले वनलाई आम्दानीको स्रोत बनाउन सक्छ । अहिले पनि नेपालले जडिबुटी, औष्धीजन्य पदार्थ तथा कार्बन बेचेर आर्थिक पक्ष बलियो बनाउन सक्छ ।


नेपालले सन् २०२४ को अन्त्यसम्ममा ९० लाख टन कार्बन बेच्ने लक्ष्य राखेको र त्यसबाट ४५ अर्ब आर्जन हुने वातावरणविद् अमृत देवकोटा बताउँछन् । नेपालको वनमा अझै पनि १ अर्ब ५ करोड ५० लाख टन सञ्चित कार्बन रहेको छ । ‘सदुपयोग गर्न सके राज्यको राम्रो आम्दानीको स्रोत वन बन्न सक्छ,’ देवकोटा भन्छन्, ‘दिगो व्यवस्थापन र संरक्षण गर्दै वनलाई आर्थिकसँग राज्यले जोड्नु पर्दछ ।’


संरक्षणमा उपभोक्ताको भूमिका


पछिल्लो समय वन संरक्षण गर्न सामुदायिक वन संरक्षण उपभोक्ता समूहको ठूलो भूमिका रहँदै आएको छ । राज्यबाट मात्र वन संरक्षण सम्भव नहुने डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख वसन्तबाबु श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘सामुदायिक वन उपभोक्ता समूहकै कारणले धेरै वन संरक्षण भएको छ । वनको हैसियतमा समेत क्रमिक सुधार आएको छ ।’


राज्यले संरक्षणको जिम्मा सामुदायिक वन उपभोक्ता समूहलाई दिए पनि समूहकै पदाधिकारीलाई भने वन संरक्षणका विषयमा तालिम, सेमिनार, गोष्ठी आवश्यक रहेको भैरव वन सामुदायिक उपभोक्ता समूह सुर्खेतका अध्यक्ष अमरबहादुर कार्की बताउँछन् । उनी भन्छन्, ‘सामुदायिकमा अपनत्व हुन्छ, काम पनि त्यही अनुसार हुन्छ तर समूहलाई तालिम, सेमिनार, गोष्ठी आवश्यक छ ।’ यहाँका प्राय सामुदायिक वन समितिले आफ्नै स्रोत, साधनले वन डढेलोलाई नियन्त्रण गरिरहेको जनाउँदै उनले स्थानीय, प्रदेश र संघीय सरकारले व्यवस्थापनका लागि बजेट थप्नु आवश्यक रहेको औंल्याए ।
कास्की र सुर्खेतमा पर्याप्त वन


ंगण्डकी प्रदेशको कास्की र कर्णाली प्रदेशको सुर्खेतका वनको अवस्था सन्तोषजनक छ । कास्कीको ४६ प्रतिशत वनले ओगटेको र पर्याप्त भएको वन निर्देशनालय गण्डकीकी उपसचिव करुणा कार्की बताउँछिन् । वन संरक्षणमा सुधार भए पनि पहिरो र डढेलोको समस्या बढ्दै गएको उनले औंल्याइन् ।


डिभिजन वन कार्यालय कास्कीको यसपालि १० हेक्टरभन्दा बढी वन क्षेत्रमा डढेलो लागेको जनाएको छ । कास्कीमा वन संरक्षणका लागि सामुदायिक वन उपभोक्ता समूहको सक्रियता रहेको डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकृत हरिप्रसाद गौतम बताउँछन् ।


डिभिजन वन कार्यालय सुर्खेतले जिल्लामा वनको अवस्था राम्रो रहेको जनाएको छ । तर सुर्खेतमा डढेलोको समस्या भने निकै बढेको कार्यालयका प्रमुख वसन्तबाबु श्रेष्ठ बताउँछन् । ‘सुर्खेतमा विगतको तुलनामा ढडेलोको संख्या र क्षेत्र बढ्यो । १ महिनामा १३४ ठाउँमा १३ हजार हेक्टरमा डढेलो लागेर क्षति पुगेको छ,’ उनी भन्छन् ।


वन अतिक्रमण रोकिएको र अतिक्रमणकारीलाई कानुनी दायरामा ल्याइएको दाबी श्रेष्ठ गर्छन् । भन्छन्, ‘यहाँ जनशक्ति अभाव छ, क्षेत्र ठूलो छ । वन्यजन्तुको वासस्थानका हिसाबले अलि व्यवस्थापन छैन तर समग्रमा सुर्खेतमा पर्याप्त वन छ ।’


वातावरण सन्तुलनमा वन
पछिल्लो समय वातावरण सन्तुलन राख्न निकै कठिन भएको छ । दिनानुदिन वातावरण प्रदूषणमा बढ्दा मानव र सजीवको अस्तित्वमै विनाश हुने चिन्तासमेत बढेको छ । वातावरण प्रदूषणलाई घटाउन वनजंगलको भूमिका महत्वपूर्ण रहने वातावरणविद् सन्तोष भट्टराई औंल्याउँछन् । उनी भन्छन्, ‘वन्यजन्तुलाई वासस्थान दिएको छ, मानिस, जीवजन्तुलाई अक्सिजन दिएको, जलवायु परिवर्तन कम गर्नलाई कार्बनलाई घटाएको छ, पहिरोको नियन्त्रणमा भूमिका खेलेको छ वनले ।’ नेपालमा तीन तहकै सरकारले वन संरक्षणमा राम्रै काम गरिरहेको उनको भनाइ छ ।


यसमा सबै सरोकारवालाले चासो दिनुपर्ने र दिगो वन व्यवस्थापन गर्दै राज्यले नै संरक्षणमा भूमिका खेल्नुपर्ने विन विज्ञ लीला पुरीको सुझाव छ । ‘वातावरण सन्तुलन पनि हुने, नाफा पनि हुने भएकाले पछिल्लो समय निजी वनतर्फ मानिस आकर्षित हुन थालेका छन्,’ उनले भने । तर, औद्योगिकरण, सहरीकरण, संरक्षणको अभाव, जनसंख्या वृद्धि लगायतले वन घट्दै जाँदा पर्यावरणीय सन्तुलनमा असर पर्न सक्ने उनको चिन्ता छ ।

तपाईको प्रतिक्रिया