बदलिँदो संस्कृति र पर्वका बारेमा कचहरी

समाधान संवाददाता २०८१ भदौ २२ गते १५:४८

पोखरा । बदलिँदो परिवेशमा फेरिएको संस्कृति र उत्सवका बारेमा पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर अन्तर्गतको समाज विज्ञान केन्दैले शनिबार कचहरी गरेको छ । कार्यक्रममा डा. राजेन्द्रराज तिमिल्सिनाले ‘आर्यवर्त, आपरिवर्तन र उत्सव’ शीर्षकमा प्रस्तुति गरे । नवउदारवाद र पैसाका कारण अहिले हाम्रो संस्कृति र पर्वहरु विस्तारै फेरिँदै गएको उनको भनाइ थियो । आर्यवर्त खण्ड उत्तरमा हिमालयदेखि दक्षिणमा विन्ध्याचलसम्म फैलिएको मानिए पनि अहिले विश्वव्यापीकरणका कारण विविध खाले धर्म संस्कृति विश्वभर फैलनुका साथै त्यहि अनुसार प्रभाव पारेको उनको भनाइ थियो ।

Advertisement

परिवारमा जम्मा भएर मान्यजनबाट टीका ग्रहण गर्ने चलन फेरिएर अहिले घुमघामको चलन चलेको छ । एक दिन दर खाएर भोलिपल्ट व्रत बसेर मनाइने तीजको रुप फेरिएको छ । हिमालको मुस्ताङदेखि, तराईको वीरगन्जसम्म तीज मनाउन थालिएको छ । न्वारन लगायतका काम भर्चुअलरुपमा गर्न थालिएको छ । नेपालमा चाडपर्वको खासै वास्ता नगर्नेहरु विदेश पुगेपछि आफ्नो संस्कृति र परम्परा पछ्याउने गरेको पाइएको डा. तिमिल्सनाले बताए ।

एकातिर बाहिरी संस्कृतिले हिन्दू परम्परामाथि प्रभाव जमाइहेको छ । अर्कोतिर वैदिक सस्कृतिको प्रभाव उसैगरी विश्वभर फैलिँदै गएको उनको भनाइ छ । देवीदेवताहरुको वास भएको पवित्र ठाउँ भएका कारण विश्वभरका मानिसहरु शान्तिका लागि नेपाल आएको र वैदिक परम्पराका लागि नेपालमा विदेशी लगानी समेत भइरहेको उनले सुनाए । पण्डित उत्पादन गरी विदेश लैजानका लागि नेपालका गुरुकुलहरुले अहिले काम गरिरहेका छन् । विदेशमा महायज्ञ गराउनका लागि नेपालबाट पण्डितहरु लैजानका लागि समेत ठूलो लगानी हुने गरेको आफूले पाएको डा. तिमिल्सिनाले बताए ।

Advertisement

मानवअधिकारका लागि एकल महिला समूह गण्डकी अध्यक्ष प्रमिला तझ्याले पछिल्ला समयमा सामाजिक परम्परा र पर्व संस्कृतिहरु फेरिँदै गएको बताइन् । २४ वर्षअघि पतिको निधनपछि ती दिन सम्झँदा उनलाई अहिले कहाली लागेर आउँछ । एकल महिलाले पोते, रातो कपडा लगाउने कुरा कसैले सोचेकै थिएनन् । एकातिर, पति गुमाएको पीडा अर्कोतिर परिवार र समाजले एकल महिलाप्रति गर्ने विभेदपूर्ण व्यवहार खपिनसक्नु थियो । रोट्रयाक्ट क्लबले एकल महिलाका लागि दर खुवाउने कार्यक्रम गर्दा आफूहरु दसक मानेर गएको सम्झना उनलाई छ । उनी भन्छिन्, ‘जुन दिन हामी घरबाट निस्केर पार्टी प्यालेसमा दर खायौं, त्यसपछि हाम्रो दायरा पनि फराकिलो रहेछ भनेर अनुभूति ग¥यौं ।’ सामूहिक भावना, संगठन, प्रविधि र देखिसिकीका सार्थ राजनीतिक परिवर्तनले समेत संस्कृति र पर्वमा परिवर्तन आएको उनको भनाइ थियो । तर कतिपय मान्यताहरुलाई अहिलेको युवा पुस्ताले बिर्सदै गएकोप्रति भने उनले चिन्ता जनाइन् ।

कार्यक्रमका विन्ध्यवासिनी संस्कृत विद्यापीठका क्याम्पस प्रमुख प्राडा जगन्नाथ रेग्मीले समयक्रमसँगै संस्कृति पनि विस्तारै फेरिँदै गएर समय सुहाउँदो हुने बताए । धर्म, संस्कृतिको जिम्मा संस्कृत पढेका र धर्मगुरुहरुके मात्र नभएको भन्दै समाजका सबै वर्गले यसलाई अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो ।
प्रदेश नीति तथा योजना आयोग गण्डकीकी पूर्व सदस्य डा. अञ्चला चौधरी परिवर्तन आफैबाट सुरु गर्नुपर्ने बताउँछिन् । रौतहटको चौधरी परिवारमा जन्मेर कास्कीको पोखरेल परिवारको बुहारी हुँदासम्म आफूले धेरै हण्डर खानुपरेको सुनाउँदै उनले भनिन्, ‘माइतीले तँ अब हाम्रो घेरामा रहिनस् भन्छन्, घर परिवारले स्वीकार गर्दैन, आखिर मेरो ठाउँ कहाँ हो ?’

Advertisement

अधिकारकर्मी एवं कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवाल पहिला सबै कर्महरु धर्मसँग जोडिने भए पनि अहिले बिस्तारै परिवर्तन हुँदै आएको बताइन् । आफूनै ठूलो परिवारमा हुर्केको सुनाउँदै उनले त्यतिबेलाको पारिवारिक र सामाजिक परम्परालाई अहिलेको कानुनी व्यवस्थाले समेत चुनौती दिएको उनको भनाइ थियो ।


नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले परम्परा धान्ने नाममा आर्थिक रुपमै कंगाल हुनुपर्ने अवस्था आउन नदिनका लागि आफूहरु सचेत रहेको बताए । ‘नेवारहरु ३ सय ६५ दिनमा ३ सय ६६ दिन भोज खान्छन् भन्छन्, हामीले गच्छे अनुसारको व्यवहारमा जोड दिएका छौं,’ उनले भने ।

कार्यक्रममा उपप्राध्यापक लक्ष्मण श्रेष्ठ, सन्ध्या श्रेष्ठ, गण्डकी बोर्डिङ स्कुलका प्रअ डा. विश्वयुधिर घर्ती पौडेल, पत्रकार सरीता तिम्सिना पंगेनी, डा. ज्ञानबहादुर कार्की, इच्छाबहादुर वाग्ले, ज्ञानु आचार्य, अम्बिका आचार्य, टंकनाथ आचार्य, लक्ष्मण शर्मा, ईश्वरी पौडेल, उत्सव सुवेदी समेतले जिज्ञाशासहित भनाइ राखेका थिए ।

केन्द्रका अध्यक्ष डा. ठानबहादुर क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रम संयोजन उपेन्द्रप्रसाद पौडेलले गरेका थिए । कार्यक्रममा वक्ताका लागि ५ र जिज्ञासा र भनाइ राख्नेका लागि २÷२ मिनेट प्रदान गरिएको थियो । समयको महत्वलाई ख्याल गरेर यस्तो नियम बनाएको र सबैभन्दा पहिला कार्यक्रममा आउने व्यक्तिलाई प्रमुख अतिथि बनाउने नियम केन्द्रको रहेको संयोजक पौडेलको भनाइ थियो । सबैभन्दा पहिला आउने गोमा क्षेत्री कार्यक्रमको प्रमुख अतिथि बनिन् ।

लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर मातहत समाज विज्ञान केन्द्र सञ्चालित छ । कलेजले आम्दानीको केही हिस्सा अनुसन्धानमा खर्चिंदै आएको छ । समाज विज्ञान केन्द्रका संरक्षक प्राडा विश्वकल्याण पराजुलीले केन्द्रले १० वर्षदेखि समसायिक विषयमा नियमित छलफल गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिइने जानकारी दिए । क्याम्पस प्रमुख नारायणकुमार श्रेष्ठका अनुसार यसरी गरिएका छलफलको निष्कर्ष प्रकाशन गरिने छ ।

तपाईको प्रतिक्रिया