सम्पादकीय—जलवायु परिवर्तन र बोटबिरुवा
जलवायु परिवर्तन पृथ्वीको स्वाभाविक प्रक्रिया त हो, तर मानवीय गतिविधिकै कारण परिवर्तनको गतिले तीब्रता लिएको छ । त्यसैले गएको २ सय वर्षयता तीब्रतर गतिमा भइरहेको औद्योगिकीकरणका कारण पृथ्वी तात्तै गएको छ । हिमालहरु पग्लिँदै गएका छन् । पानी नपर्नुपर्ने बेलामा पानी परिरहेको छ, पर्नुपर्ने बेलामा परिरहेको छैन । यसको प्रत्यक्ष मार मानिसको जीवनमा पर्ने नै भयो । पृथ्वीका सम्पूर्ण प्राणी जगत र वनस्पतिमा पनि परिरहेको छ ।
पानीका मूलहरु सुकिरहेका छन् । मावन वस्ती पानीकै अभावमा रित्तिँदै गएका छन् । खोजी कम भएको तर प्रत्यक्ष असर परेको क्षेत्र वनस्पति जगत पनि हो । जलवायु परिवर्तनका कारण मानिसले मात्रै होइन वनस्पतिले पनि बसाइ सराइ गरिरहेका छन् । जुन भूमि र उचाइमा हिजो स्याउ फल्थ्यो, अचेल त्यहाँ अर्कै बनस्पतिले ठाउँ लिएको छ र स्याउले झन्झन् उचाइमा बसाइ सर्नुपरेको छ ।
जलवायु परिवर्तनसँग अनुकुल हुन कठिन भएका थुप्रै वनस्पति लोप भएका छन् । कतिपय बनस्पतिको प्रजनन् क्षमतामा ह्रास आएको छ । त्यसो हुनु भनेको पनि ती वनस्पति लोप हुने चरणमा पुग्नु हो । एकदिन त्यस्ता वनस्पतिको लोप अवश्यंमभावी हुन्छ । पृथ्वीमा वनस्पति भएन भने मानिसको जीवनको अस्तित्वको कल्पना गर्न सकिन्न । मानिस हावाबिना अर्थात प्राणवायु (अक्सिजन)बिना ३ मिनेट बाँच्न मुस्किल हुन्छ । त्यो प्राणवायुको स्रोत भनेको वनस्पति हो, जसले कार्बनडाइअक्साइड लिन्छ र अक्सिजन फ्याँक्छ ।
जलवायु परिवर्तन कम गतिमा होस् अर्थात पृथ्वीको तापक्रम नबढोस् भन्नाका खातिर कार्बन उत्सर्जन कम गर्नुपर्छ । जीवाष्म इन्धनबाट चल्ने गाडीको सट्टा विद्युतीय गाडीमा जोड दिनुपर्छ । अब अझ हाइड्रोजन ऊर्जातिर लाग्नु बढी श्रेयस्कर हुन्छ । विद्युतीय गाडीका ब्याट्री पनि कम्ती हानिकारक हुँदैनन् र तिनलाई बनाउनसमेत खानीबाट लिथियम निकाल्नुपर्छ, जसबाट जलवायु परिवर्तनमा नकारात्मक योगदान पुगिरहेको हुन्छ ।
विकास निर्माण गर्दा वातावरण अनुकुल गर्नुपर्छ । जथाभावी भइरहेको भौतिक विकासका कारण पृथ्वी धेरै तातेको छ । आकाशको हरितगृह ग्यासमा प्वाल पर्दै जानु भनेको पृथ्वी झन् बाफिनु हो । अनि तामक्रम बढ्नु हो । तसर्थ जुनसुकै उपायबाट कार्बन उत्सर्जन कम गर्नुपर्छ । तबमात्रै वनस्पतिहरुको पनि रक्षा हुन्छ, चराचर प्राणी जगतको पनि रक्षा हुन्छ ।
तपाईको प्रतिक्रिया