यातायात पूर्वाधारमा लगानी बढाउन आवश्यक
पोखरा ।
ट्राफिक व्यवस्थापन र यातायात क्षेत्रको सुधारको सम्बन्धमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराले यातायात व्यवसायी एवं मजदुर र नेपाल प्रहरीका कर्मचारीबीच अन्तक्र्रिया गरेको छ ।
हरितालिका तीज, दसैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सञ्चालन हुने सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्नका लागि कार्यक्रम गरेको प्रहरी तालिम केन्द्रका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले जानकारी दिए । उनले नेपाल प्रहरी, यातायात व्यवसायी, मजदुर लगायत सरोकारवाला निकायको समन्वय र सहकार्यले यातायात क्षेत्रको सुधार गर्न सकिने बताए ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेशका अध्यक्ष विष्णुबहादुर केसीले यातायात क्षेत्रको सुधार र ट्राफिक व्यवस्थापनका लागि पूर्वाधारमा लगानी बढाउन आवश्यक भएको उल्लेख गरे । ‘यातायात क्षेत्र सुधारका लागि पूर्वाधार क्षेत्रमा लगानी कमी छ । प्रयाप्त रुपमा ट्राफिक शिक्षाको विकास र विस्तार गर्न सकिएको छैन,’ उनले भने, ‘ट्राफिक नियम उल्लंघन भएमा गरिने कारवाही तथा जरिवानाको पाटो बढी छ ।’
सवारी चालकको कारणले मात्र सवारी दुर्घटना नहुने तर्क गर्दै अध्यक्ष केसीले सडक पूर्वाधार तथा सवारी साधनको अवस्था र छाडा चौपाया लगायतका कारणले समेत दुर्घटना हुने जानकारी दिए । उनले नेपालको सार्वजनिक यातायात क्षेत्रमा प्रायः निजी क्षेत्रको मात्र लगानी रहेको दाबी गरे । यातायात क्षेत्रको लगानी संरक्षणमा राज्यको तर्फबाट ध्यान नपुगेको उल्लेख गर्दै उनले राज्यको तर्फबाट लगानीकर्तालाई प्रोत्साहन र यातायात मजदुरलाई ट्राफिक नियम लगायतका सबालमा समय सापेक्ष प्रशिक्षणको व्यवस्था नभएको बताए ।
अध्यक्ष केसीले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि राज्यका निकायले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) जस्तै तालिम प्रदायक संस्थाको व्यवस्था गरी निश्चित अवधिको तालिम सञ्चालन गर्न माग गरे । उनले आफ्नो संगठनले संस्थागत रुपमा यातायात मजदुरलाई सचेत बनाउन ‘म जिम्मेवार सवारी चालक’ लगायत सवारी दुर्घटना न्यूनीकरणका लागि देशव्यापी रुपमा अभियान चलाएको जानकारी दिए ।
यातायात क्षेत्रको सुधारको लागि भएको कार्यक्रममा पूर्व प्रहरी निरीक्षक शिवबहादुर थापा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याक्सी महानगर कमिटी अध्यक्ष झकवीर थापामगर, माइक्रो इकाइ पूर्वअध्यक्ष भानुभक्त सुवेदीले अनुभव सुनाएका थिए ।
पोखराका विभिन्न प्रहरी कार्यालयमा कार्यरत भई तालिममा सहभागी प्रहरी अधिकृत, जुनियर अधिकृत, हबल्दार तथा जवानले अन्तक्र्रियामा सार्वजनिक सवारीले दशैंको बेलामा सिट क्षमताभन्दा बढी यात्रु चढाउने तथा बढी भाडा लिने गरेको गुनासो गरेका थिए ।
प्रहरी कर्मचारीले सार्वजनिक सवारी साधनका श्रमिकले खाना राम्रो हुने भन्दा पनि एकान्त ठाउँमा गाडी रोक्ने गरेकोदेखि यातायात श्रमिकको बोली बचन राम्रो नभएको सवाल उठाएका थिए । सार्वजनिक सवारी साधनमा लागुऔषध ओसार पसार हुने गरेको तथा अपराधिक क्रियाकलापमा सहभगी व्यक्तिले सवारी साधन प्रयोग गर्न सक्ने भएकाले सजक र सतर्क रहन यातायात मजदुरलाई प्रहरीहरुले आग्रह गराएका थिए ।
तपाईको प्रतिक्रिया