बुढीबजारदेखि कालिकासम्मको सडक स्तरोन्नति हुँदै

समाधान संवाददाता २०८१ भदौ २४ गते ११:५४

लेखनाथ ।
कास्कीको पोखरा महनागरपालिका वडा नम्बर २६ को बुढीबजारदेखि खरानेफाँट, राखीडाँडा हुँदै कालिकासम्मको सडक स्तरोन्नतिको काम सुरु भएको छ । पोखरा महानगरपालिकाको गौरवको योजना अन्तरगत ६ करोड ८९ लाख छ सय ९५ रुपैयाँको लागतमा करिब साढे ३ किलोमिटरको सडकमा नालासहित ८ मिटर चौडाइ रहने छ ।

Advertisement


लामो समयको पर्खाइपछि बन्न लागेको सडक निर्माण कम्पनी सिद्धबाबा कन्ट्रक्सनले बुढीबजारदेखि काम सुरु गरेको छ । २०८१ भदौ ६ गते भएको सम्झौताको १ वर्ष अर्थात २०८२ को भदौ ४ सम्म काम सम्पन्न भइसक्नुपर्ने छ ।


निर्माण कम्पनीका नारायण श्रेष्ठले बाटोको दायाँबायाँ काम गर्दा स्थानीयको राय सुझाव अनुसार नै अगाडि बढ्ने र बिचमा कुनै बाधा व्यवधान नआए निर्धारित समयको ३ महिना अगाडि नै काम सम्पन्न हुने गरी निर्माण सामग्रीदेखि कामदारको व्यवस्थापन गरेको बताएका छन् ।

Advertisement


बुढीबजारचोकबाट विजयपुर नहरको दायाँबायाँ योजना अनुसारको काम पहिलो चरणमा गर्ने र खरानेफाँट क्षेत्रमा धानीबालीमा क्षति नहुने गरी नाला सहितको सडक स्तरोन्नति गरिने छ भने राखीडाँडा हुँदै वडा नम्बर २६ को सिमानासम्ममा निधारित माफदण्ड अनुसारकै काम हुने वडाध्यक्ष नरेन्द्र थापाको भनाइ छ ।


उनका अनुसार निर्वाचनका समयमा आफूले प्रतिवद्धता जनाएका कामलाई महानगर, प्रदेश वा केन्द्रीय तहसम्ममा पुगेर पनि बजेटको व्यवस्थापन गर्न आफूले लागि परेको हुँदा बाटो निर्माणका क्रममा कुनै पनि अप्ठेरो अवस्था परे निर्माण व्यवसायीसँग होइन सिधै वडा कार्यालयमा आएर सुझाव दिन अनुरोधसमेत गर्दै विकास निर्माणको काममा सबैको साथ, सहयोग र सहकार्यले मात्र विकास सम्भव हुने उनले बताएका छन् ।

Advertisement


कालिकाबासीका लागि वैकल्पिक बाटोसमेत रहेकाले यो सडकलाई व्यवस्थित गर्न सकिए कालिका, माझठानादेखि भगवतीटारसम्मका उपभोक्ताहरु लाभाम्वित हुने स्थानीय ईश्वरीप्रसाद अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया