सम्पादकीय—भत्ता लिन सास्ती
ज्येष्ठ नागरिक हुनुको अर्थ अंकको वृद्धिमात्रै होइन, पाको हुनु हो, पुरानो हुनु हो र सबैभन्दा महत्वपूर्ण त अनुभवी हुनु हो । त्यसमाथि ज्येष्ठ नागरिकले आफ्नो जीवनको उर्वर समय परिवार, समाज र देशका लागि कुनै न कुनै रुपमा योगदान गरिसकेका हुन्छन् । जब उमेर बढ्दै जान्छ तब जीवन सक्रिय नहुन सक्छ । तर उनीहरुले विगतमा गरेको योगदानलाई सम्झँदै राज्यले सामाजिक सुरक्षा भत्ता दिन्छ ।
ज्येष्ठ नागरिकहरु नेपाली समाजमा सम्मानको हकदारमात्रै होइन पुज्य पनि हुन्छ । त्यो नेपाली संस्कारको वैशिष्ठय हो । राज्यले दिने भत्ता लिन भने ज्येष्ठ नागरिकहरुलाई बडो मुस्किल छ । कहिले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै प्रशासनको लाइनमा उभिन बाध्य पार्छ राज्य त कहिले भत्ताका लागि बैंकको लाइनमा । अनि कतिपय ठाउँमा त भत्ता लिन जानकै लागि पाइने भत्ताभन्दा धेरै खर्च हुन्छ । जस्तो कि वडा कार्यालय नै एक दिनको यात्राको दुरीमा हुन्छ । अनि बाटो खर्चमै भत्ता खर्चिनुपर्छ ।
जनप्रतिनिधिहरुले घरघरमै गएर भत्ता बाँड्ने बाचा पनि गर्छन् । उम्मेदवार हुँदा त त्यो बाचा चर्काे नै थियो । तर व्यवहारमा एकाधपटक घरघरै पुगे पनि निरन्तरता दिएको पाइन्न । अनि सास्ती भत्ता लिनेले पाउँछन् । ज्येष्ठ नागरिकले त अपराधै गरे पनि सजायमा छुट हुने कानुनी व्यवस्था छ भने भत्ताका लागि उल्टै सास्ती दिनु कुनै पनि मानेमा शोभनीय होइन । झन् सम्मानित नागरिकलाई अपमान गर्नु हो भत्ताका लागि सास्ती दिनु । ज्येष्ठ नागरिकलाई सरकारले यातायातका साधनमा पनि छुट भन्छ । तर त्यसको कार्यान्वयन भएको पाइन्न । उपचारमा पनि छुट भन्छ । त्यसका लागि पनि सास्ती नै छ । समाजका अगुवा नागरिकलाई सास्ती हुनु भनेको सभ्यता र संस्कारको धज्जी उडाउनु हो ।
३८ लाख १८ हजार ३ सय ७१ जनाले नेपालमा सामाजिक सुरक्षा भत्ता पाउँछन् । त्यसैमा पर्छन् ज्येष्ठ नागरिक पनि अरु शीर्षकमा पनि सामाजिक सुरुक्षा भत्ता छ । अपांगता भएकाहरुहका हकमा पनि भत्ताका लागि झन् धेरै सास्ती हुन्छ । बैंकबाट दिने भन्ने तर बैंकमै धाउनुपर्ने र बैंक घरभन्दा धेरै टाढा हुने समस्या पनि छ । खास त भत्ता बैंकबाट सिधै खातामा जम्मा गरिदिने व्यवस्था हुने हो भने त्यो सुरक्षित पनि हुने थियो ।
तपाईको प्रतिक्रिया