रुपा गाउँपालिकाका गर्भवतीलाई स्वास्थ्य संस्थाबाट अन्डा दिइने

पाेखरा ।
गर्भावस्था उचित पोषण नपाउँदा आमा तथा जन्मिने शिशुको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ । यसैलाई दृष्टिगत गरी कास्कीको रुपा गाउँपालिकाले गर्भवतीलाई पौष्टिक आहारका रुपमा निशुल्क एक क्रेट अन्डा दिन थालेको छ ।
पालिकाले चालु आर्थिक वर्षमा २ सय ४० महिला गर्भवती हुने अनुमान गरेको छ । सोही अनुसार पालिकाले ‘गर्भवती महिला र बच्चाको पोषण’ कार्यक्रम अन्र्तगत १ क्रेट अन्डा दिने अभियान सुरु गरेको हो ।
गाउँपालिका अध्यक्ष नवराज ओझाले गर्भावस्थामा गाउँपालिकाका स्वास्थ्य चौकीमा नियमित जाँचमा प्रोत्साहन र पौष्टिक आहार ध्यान दिन यस्तो अभियान थालिएको सुनाए । रुपामा गर्भवतीले पालिकाका स्वास्थ्य चौकीमा गर्भावस्थाका ८ पटक नियमित जाँच गर्न आउँदा प्रत्येक पटक एक क्रेट (३० वटा ) अण्डा निशुल्क पाउने छन् ।
पालिका अध्यक्ष ओझाले सोमबार वडा नम्बर ५ देउराली स्वास्थ्य चौकी पुगेर उक्त अभियान सुरुवात गरे । नियमित जाँचका लागि स्वास्थ्य चौकी आइपुगेका ४ गर्भवती महिलालाई उनले एक/एक क्रेट अन्डा प्रदान गरे । सोही वडाकी कल्पना सिंह, लीलामाया मगर, चन्द्रकला नेपाली र आस्था खड्गीले अन्डा पाएका छन् ।
रुपा ५ की आकृति गुरुङसमेत नियमित जाँचका लागि पुगेकी थिइन् । उनलाई पनि स्वास्थ्य चौकीमा जाँचपछि अण्डा प्रदान गरिएको हो । कल्पना चौथौं पटक नियमित जाँच गर्न पुगेकी हुन् । उनको ४ महिनाको गर्भ छ । पालिकाले पौष्टिक आहारका लागि आफूहरुलाई सचेतनात्मक रुपमा अण्डा दिँदा खुसी लागेको उनले सुनाइन् । पौष्टिक आहारमा यसले परिवारलाई समेत बोध गराउने उनको विश्वास छ ।
गर्भवतीले पालिकाका स्वास्थ्य चौकीमा गर्भावस्थामा ८ पटक नियमित जाँच गर्न आउँदा प्रत्येक पटक १ क्रेट अन्डा पाउने
गर्भ जाँचकै लागि स्वास्थ्य चौकी पुगेकी चन्द्रकलाको यौ छैटौं जाँच हो । गर्भ जाँचका क्रममा एक्सरे गर्न उनी पोखरा आएकी थिइन् । पालिमामा एक्सरे मेसिन नभएकाले उनी पोखरा आउनुपरेको हो । यद्यपि अन्य नियमित जाँच भने पालिकाको स्वास्थ्य चौकीमा नै गरिरहेको उनले सुनाइन् ।
वडाध्यक्ष राजन खनालले गर्भवतीलाई स्वास्थ्य चौकीमा नियमित जाँच गराउन प्रेरित गर्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गरेको सुनाए । पालिकाले यस कार्यक्रमका लागि ८ लाख व्यवस्थापन गरेको पालिका अध्यक्ष ओझाले सुनाए । आगामी वर्ष यो कार्यक्रमलाई अझ विस्तार गरिने उनको भनाइ छ ।
पालिकाले आमा सुरक्षा, गर्भवती उत्प्रेरणा सेवा, नवजात शिशुको समेत निःशुल्क उपचार गर्दै आएको छ । यो कार्यक्रममार्फत विपन्न समुदायका नागरिक बढी लाभान्वित हुनेस्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत रामचन्द्र ओझाले बताए । उनले पालिकाकै स्वास्थ्य चौकीमा सुत्केरी हुने ४८ प्रतिशत रहेको जानकारी दिए ।
ओझाले प्रोटोकल अनुसार ४ पटक सुत्केरी जाँच गर्नेहरु ४९ प्रतिशत रहेको बताए । ८ पटक गर्भजाँच गर्नेको प्रतिशत ९० छ ।
तपाईको प्रतिक्रिया