साना योजनाले चुनौती

पोखरा ।
गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय, कास्कीले बहुवर्षीयसहित करिब साढे २ सय योजना कार्यान्वयन गर्यो । चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक विकास कार्यक्रम अनुसार बहुवर्षीयसहित गरेर ३ सय ४७ योजना कार्यान्वयन गर्नुपर्ने छ ।
योजना संख्या धेरै हुँदा कार्यालयले काम गर्ने ठाउँको निरीक्षण र इस्टिमेटको कामलाई अघि बढाएको छ । कार्यालय निरीक्षण र कार्यालयको कार्य अवस्था बुझ्न सोमबार पूर्वाधार विकास कार्यालय, कास्की पुगेका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी कार्यालयमा पुगेका थिए ।
त्यो क्रममा कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सीडीई) सोभियत खड्काले गत वर्षभन्दा एक सय वटा योजना बढी रहेकाले त्यसलाई कार्यान्वयनमा चुनौती रहेको सुनाए ।
इन्जिनियरलाई फरक फरक फिल्डमा धेरै दौडधुप गर्नुपर्ने, थोरै बजेट हुँदा चालु आर्थिक वर्षमा काम गर्ने अनि छोड्नुपर्ने र काम सकिसकेपछि मर्मत सम्भारमा बजेट विनियोजन नहुनु समस्या रहेको मन्त्रीलाई ब्रिफिङ गरिएको थियो ।
प्रमुख खड्काले गत वर्षका २४ वटा र चालु आर्थिक वर्षमा थप भएका १९ वटा बहुवर्षीय योजना कार्यान्वयन गर्नुपर्ने अवस्था रहेको जानकारी गराए । ‘गत वर्षको र अहिलेको हेर्ने हो भने यो योजना अत्यधिक हो । पहिला ३० लाख रूपैयाँभन्दा कमका योजना थिएनन् । त्यसले सजिलो भएको थियो । यो वर्ष १० लाख, १५ लाख, २० लाख रूपैयाँका योजना छन्,’ सीडीई खड्काले भने ।
अन्तिम समयमा योजना कार्यान्वयन गर्ने परिपाटी अन्त्य गर्र्दै वैशाखभित्रै योजना सक्ने वातावरण बनाऔं
प्रकाशबहादुर केसी, भौतिक पूर्वाधार मन्त्री
कार्यालयले भुक्तानी गर्नुपर्ने दायित्व २ अर्ब रुपैयाँ रहेको उनले बताए । ब्रिफिङको क्रममा प्रमुख खड्काले आफ्नै भवन नहुँदा निर्माणको चरणका परीक्षणमा समस्या रहेको, कृषि मन्त्रालय मातहतको तालिम केन्द्र भएको ठाउँमा कार्यालय राख्न सकिने विकल्प सुनाएका थिए ।
मन्त्रीको निर्देशनः गुणस्तरीय काम गर्नू
गत १७ भदौमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री प्रकाशबहादुर केसी सोमबार पहिलोपटक आफू मातहतको कार्यालयमा पुगेका थिए । पूर्वाधार विकास कार्यालय कास्की प्रमुख सिडिई सोभियत खड्काको ब्रिफिङपछि मन्त्री केसीले गुणस्तरीय र जतिसक्दो छिटो काम गर्न कार्यालय प्रमुख खड्कालाई निर्देशन दिए ।
उनले अन्तिम समयमा योजना कार्यान्वयन गर्ने परिपाटी अन्त्य गरिनुपर्ने र सकेसम्म वैशाखभन्दा पहिल्यै काम सक्न आवश्यक रहेको बताए । मन्त्री केसीले यो वर्षको बजेट आफूले नबनाएको र आगामी वर्षको बजेट बनाउँदा कार्यान्वयनमा सजिलो हुने, लगानी गरेकोमा जनतालाई प्रतिफल मिल्ने गरेर बनाउने बताए । उनले काम गर्ने क्रममा कुनै समस्या भए आफूलाई सुनाउन कर्मचारीलाई आग्रह गरे ।
मन्त्री केसी कार्यालयमा रहिरहँदा एमाले सांसद गणेशमान गुरूङ पनि सोमबार दिउँसो ड्यामसाइडस्थित पूर्वाधार विकास कार्यालय कास्की पुगेका थिए । उनले सांसदले टिपाएका नभई कार्यकर्ताले दिएका योजनामा बजेट हाल्दा समस्या भएको सुनाए ।
‘माननीयलाई टुक्रे योजना नल्याउनुस्, बरु धेरै योजना ल्याउनभन्दा प्रभावकारी एउटा योजना ल्याउनुस् भन्यो भने हामी त मानिहाल्छौं नि,’ उनले भने, ‘एउटामात्र घर भएको ठाउँमा बाटो पुर्याउन कहाँ–कहाँबाट बजेट आउँछ थाहै हुँदैन । अनि कसरी हुन्छ ?’ उनले कास्की धेरै पानी पर्ने ठाउँ भएकाले कालोपत्रे भन्दा ढलान सडक बनाउँदा उचित हुने मन्त्री केसीलाई सुझाव दिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया