१८७ विद्यार्थीलाई तमु सांस्कृतिक प्रतिष्ठानको छात्रवृत्ति
पोखरा ।
तमु सांस्कृतिक प्रतिष्ठान नेपालले शैक्षिक सत्र २०८१ का लागि नयाँ ८४ सहित १ सय ८७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । प्रतिष्ठानको साधारण सभाले आगामी असोज ३ र ५ गते छात्रवृत्ति वितरण गर्ने निर्णय गरेको अध्यक्ष चित्रबहादुर गुरुङ (तमु)ले जानकारी दिए ।
प्रतिष्ठानले ग्रामीण तथा विपन्न वर्गका गुरुङ विद्यार्थीको शैक्षिक उन्नतिमा सहयोग पुर्याउने उद्देश्यका साथ २०६६साल देखि हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएको छ । अध्यक्ष गुरुङले प्रतिष्ठानले अहिलेसम्म ४ सय ४८ जना विद्यार्थीले छात्रवृत्ति प्रदान गरी सकेको बताए ।
विगतमा जापानमा बस्दै आएको गुरुङ समुदायका व्यक्तित्वले शैक्षिक तथा सामाजिक सेवामा काम गर्नको लागि २०५८ सालमा प्रतिष्ठान खोलेका हुन् । ‘उच्च शिक्षा, हाम्रो लक्ष्य’ भन्ने नारासहित काम गर्दै आएको प्रतिष्ठानले १३ संस्थागत र १ सय ७ व्यक्तिगत गरी १ सय १९ शीर्षकमा स्थापना गरेको अक्षयकोषबाट आउने ब्याजबाट छात्रवृत्ति प्रदान गर्दै आएको अध्यक्ष गुरुङले जनाए ।
‘आर्थिक अभावले उच्च शिक्षा हासिल गर्न नसकेका गुरुङ समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर दक्ष नागरिक बनाउने हाम्रो योजना हो,’ उनले भने, ‘प्रतिष्ठानले शिक्षा क्षेत्रको अलवा गुरुङ समुदायको संस्कार र संस्कृतिको संरक्षणमा समेत योगदान पुर्याएको छ ।’ उनले सामाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान तथा पुरस्कार समेत प्रदान गर्दै आएको जनाए ।
तमु सांस्कृतिक प्रतिष्ठान नेपालका कोषाध्यक्ष श्यामबहादुर गुरुङले ३ करोड १६ लाख ८८ हजार बराबरको अक्षयकोषबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको बताए । उनले नेपाल भरीका विपन्न र जेहेन्दार गुरुङ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिए ।
यसैगरी, तमु सांस्कृतिक प्रतिष्ठान नेपालको २२ औं वार्षिक साधारण सभा भएको छ । सभाले सचिव कञ्चन गुरुङले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष श्यामबहादुर गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुधार सहित पारित गरेको छ ।
प्रतिष्ठान नेपालका पूर्व प्रथम उपाध्यक्ष एवं सल्लाहकार हर्कबहादुर गुरुङले साधारण सभाको उद्घाटन गर्दै प्रतिष्ठानको उद्देश्य र लक्ष्य अनुसारको कामको सफलताले गुरुङ समुदायमा सकारात्मक प्रभाव परेको बताए ।
कार्यक्रममा तमु धीं नेपालका संस्थापक अध्यक्ष एवं तथा प्रतिष्ठानका अक्षयकोषदाता कर्म गुरुङ, प्रतिष्ठानका संस्थापक तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संस्थाका अक्षयकोषदाता संस्था तमु (गुरूङ) समाज कतारका प्रमुख संरक्षक बिल गुरुङ, प्रतिष्ठान नेपालका प्रथम उपाध्यक्ष श्रीजङ गुरुङ लगायतले प्रतिष्ठानले सामाजिक तथा शैक्षिक क्षेत्रमा गरेको योगदानको चर्चा गरेका थिए ।
तपाईको प्रतिक्रिया