परिणामा आउने गरी काम गर्न मन्त्री थापाको निर्देशन
पोखरा ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले समयमा नै परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार पर्वतको कुश्मामा मन्त्रालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले मातहतका कार्यालयहरुलाई समयमा नै सम्झौता गर्ने र समयमा नै काम सम्पन्न गर्ने गरी अगाडि बढ्न निर्देशन दिएका हुन् ।
मन्त्री थापाले प्रदेशले प्राप्त गरेको स्रोत, साधन उपयोग गरी नागरिकलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्नसमेत भनेका छन् । आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यन्वयन गर्न सहज होस भन्ने उद्देश्यले आयोजना गरिएको अभिमुखीकरणले मन्त्रालयको कामकाजमा गति बढाउने विश्वास मन्त्री थापाको छ । तीनै तहको सरकार मिलेर नै विकास सम्भव भएकाले एक्लै गन्तव्यमा पुग्न गाह्रो पर्ने उनले उल्लेख गरे ।
मन्त्रालयले यस पटक शिक्षा, सामाजिक विकास, युवा तथा खेलकुदको क्षेत्रमा महत्वपूर्ण काम गर्ने गरी आफ्ना क्रियाकलाप तय गरेको भनाइ उनको छ । व्यवहारिक शिक्षा विद्यार्थीका लागि आवश्यक भएको बताउँदै मन्त्री थापाले अभिभावक, शिक्षक र विद्यार्थीका लागि छुट्टाछुट्टै कार्यक्रम तय भएको बताए ।
मन्त्रालयका सचिव प्रकाश पौडेलले विद्यार्थीको रुचि अनुसारको पाठ्यक्रम पढाउन आवश्यक रहेको बताए । शिक्षाको जग स्थानीय तह नै भएकाले समन्वय र सहकार्यका आधारमा अगाडि बढ्न आवश्यक रहेको भनाइ उनको छ । एक्लाएक्लै हिँडेर संघीयताको मर्मानुसार काम नहुने उनले उल्लेख गरे ।
नागरिकको घरदैलोमा नै सरकार आएको आभाष दिलाउने गरी काम गर्न उनको निर्देशन छ । तीन दिनसम्म चल्ने कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई, कास्की, पर्वत, स्याङ्जा, म्याग्दी, बाग्लुङ र मुस्ताङको सामाजिक विकास कार्यालय र स्थानीय तहको सहभागिता छ ।
तपाईको प्रतिक्रिया