थाक क्षेत्रमा फालो मेला सुरु
जोमसोम ।
मुस्ताङको थाक खोला क्षेत्रमा बसोबास गर्ने चारचन थकाली समुदायको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व फालो अर्थात (कुमार यात्रा) मेला सोमबारदेखि सुरु भएको छ । चारचन समुदायको उद्गम स्थल मुस्ताङको थाक सातसय क्षेत्र कोवाङ स्थित कोतघरको प्रांगणमा मेला औपचारिक रुपमा सुरुआत गरिएको छ ।
थाक सात सय क्षेत्रका थकालीहरुले बर्सेनि भदौ महिनामा यस प्रकारको फालो अर्थात (कुमार यात्रा) मेला विभिन्न धार्मिक तथा सांस्कृतिक क्रियाकलाप गरी हर्षाेल्लास साथ मनाउने प्रचलन छ । ४ दिनसम्म चल्ने फालो (कुमार यात्रा) मेला संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले उद्घाटन गरे ।
सांसद थकालीले धर्म, संस्कृति र परम्परा जीवित रहेमात्रै थकालीहरुको मौलिकता र पहिचान सुरक्षित हुने बताए । उनले आफू पनि थकाली समुदायकै युवा प्रतिनिधि भएकाले यसको संरक्षण, संवद्धन, विकाससँगै पुस्तान्तरण गर्न योगदान गर्ने जनाए ।
प्रदेश सभा सदस्य विकल शेरचनले पछिल्लो समय थकालीहरुको धर्म, संस्कृति र मौलिकता गुम्ने जोखिम बढेको बताए ।
‘हामीले हाम्रो धर्म, संस्कृति र मौलिकतालाई जोगाउनुपर्छ, अहिले हामी अरुको संस्कृति पछ्याउँदै छौं,’ प्रदेश सभासद शेरचनले भने, ‘यो साह्रै चिन्ताको विषय बनेको छ, यसले हाम्रो धर्म, संस्कृति र परम्परालाई संकटमा पार्दै छ ।’
कार्यक्रमका वक्ताहरुले थकालीहरु सडक सञ्जाल नहुँदा मुस्ताङबाट सम्भावनाको खोजी गर्दै देशभर छरिएको र पछिल्लो समय विदेश पलायन र आधुनिक संस्कृति अनुशरण गर्ने परिपाटी हावी हुँदा संस्कृति ओझेलमा परेको उल्लेख गरे । कार्यक्रममा थकाली चारजन समुदायका ३ स्रष्टालाई सम्मान गरिएको छ ।
सम्मानित हुने एल्बम प्रकाशित गरी सांस्कृतिक गीत ल्याउने थासाङ १ टुकुचेकी सामाजिक अभियान्ता बिमला तुलाचन र टुकुचेकै सरोज तुलाचन छन् । सरोज वैदेशिक रोजगारबाट थातथलो थाक सातसय क्षेत्र फर्किएर व्यवसायिक कृषि कर्ममा आवद्ध छन् । उनी मुस्ताङ इको हिल रिसोर्ट एन्ड थकाली किचनका सञ्चालनसमेत हुन ।
थासाङ २ कोवाङका राजु गौचनलाई समेत सम्मान गरिएको छ । उनले लामो समय जापान बसेर नेपाल फर्किएपछि काठमाडौंमा होटल चलाएका थिए । राजुले अहिले थातथलो फर्किएर होलिडे क्याम्प रिसोर्ट चलाएका छन् ।
सो अवसरमा (कोवाङ—ताक्लुङ) फालो मेलामा गाइने थकाली भाषाको गीतिपुस्तक संघीय सांसद योगेश गौचन थकाली, प्रदेश सभा सदस्य विकल शेरचन र १३ गाउँका मिर मुखिया जुहार भट्टचनले संयुक्त रुपमा सार्वजनिक गरे ।
मेलाअघि प्रभातफेरी आयोजना गरिएको थियो । मुस्ताङको थाक सात सय क्षेत्रका थकालीहरु परापूर्वकालमा जुम्लाको सिंगाबाट उपयुक्त बासस्थान खोज्दै यहाँ आएको बताइन्छ । १३ गाउँका मिर मुखिया भट्टचनले त्यस समय उपयुक्त बासस्थानका लागि थाक सातसय क्षेत्र उचित भएपछि थकाली त्यही रोकिएको जनाए ।
फालो मेलाबारे पौराणिक किंवदन्ती छ । परापूर्व कालमा गुरु पद्यम सम्भव एक दिन मृगको रुपमा धारण गरी थासाङको बोक्सी क्षेत्र जंगलमा चहारिहेका थिए । त्यसै बेला शिकार खेल्न निस्किएका थाक सातसय क्षेत्रका थकाली युवाले उनको शिकार गर्न प्रयास गरे । मृगको रुप धारण गरेका नरिझेव महागुरुले भनेका थिए, ‘मलाई तिमीहरुले मार्न सक्क्तैनौं, म तिमिहरुकै भलाईका लागि मृगको रुपमा निस्किएको हुँ ।’
मृग रुपी महागुरुले त्यति भनेपछि शिकारी युवाहरुले गल्ती भयो भन्दै माफी मागे । त्यसपछि शिकारीहरुले महागुरुलाई त्यसै क्षेत्रमा बस्न अनुरोध गरेका थिए । नरिझेवले भदौ पञ्चमीमा कुमारहरुबाट मेरो पूजा, आराधन गर्नू, तिमीलाई राम्रो गर्नेछु भन्ने आश्वासन दिएको बुढापाकाहरु बताउँछन् ।
त्यसै बेला देखि थाक सातसय क्षेत्रमा बसोबास गर्ने थकालीहरुले बर्सेनि भदौ पञ्चमीदेखि फालो मेला अर्थात कुमार जात्रा देखाउने प्रचलन बसेको हो । १३ गाउँका १३ जना कुमार केटाहरुले खन्ती माथिको नर्साङ मन्दिरमा नरिझेवको पूजाआरधना गर्ने चलन छ ।
फालो भाद्र मेला (कुमार यात्रा) का क्रममा कुमारहरु चोखोपानी भन्ने स्थानमा स्नान गरी पवित्र भई फर्किएर महागुरुको स्तूति गर्छन् । त्यस अवसरमा आफूभन्दा पाका उमेरका व्यक्तिबाट कुमारहरुले आर्शीवाद ग्रहण गर्ने चलन छ । फालो मेलामा पवित्र भएर फर्किएका कुमारहरु चारचनहरुका ४ देवतालाई पूजा र बत्ती बाल्न नरिझेव महागुरु भएको स्थानमा पुग्छन् ।
यसरी पूजा गरी फर्किएका कुमारहरु लामाहरुसँगै पुङक्युङ भन्ने स्थानसम्म पुगेर कुमार यात्रा गर्ने प्रचलन छ । भदौ मेलामा अनिष्ट र रोगव्यधि नलागोस् भन्दै कुमारहरुले महागुरुको प्रार्थना गर्ने थकाली सेवा समिति नेपाल थाक सातसय क्षेत्रका केन्द्रीय सदस्य कृष्णकुमार शेरचनले उल्लेख गरे । फालोमा युवयुवतीले लोक भाका गाउछन् । फालो मेला थकालीहरुको धर्मसंस्कृति र परम्परासँग जोडिएको छ ।
तपाईको प्रतिक्रिया