हाप्किडो सेमिनार सुरु

पोखरा ।
हाप्किडोका प्रशिक्षक र रेफ्रीको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘दशौं राष्ट्रिय हाप्किडो सेमीनार’ पोखरामा सुरु भएको छ । २ दिनसम्म सञ्चालन हुने सेमीनार गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले सुरुआत गरे ।
मन्त्री थापाले दशौं राष्ट्रिय खेलकुद केही कारणले तोकिएको समयमा नहुने जस्तै देखिएको बताए । उनले भने, ‘दशौं राष्ट्रिय खेलकुद मंसिरमा हुने भनिएको छ । केही कारणले समयमा नै सुरु होला जस्तो देखिन्न । केही पछि सर्ला जस्तो छ । तर पनि हामीले आफ्नो तयारी भने छोड्नु हुन्न ।’
मन्त्री थापाले नेपाली हाप्किडोले छोटो समयमा नै नेपाली खेलकुदमा महत्वपूर्ण रुपमा विकास गरेको भन्दै दशौं राष्ट्रिय खेलकुदमा समावेश गर्न आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए । गण्डकी प्रदेशको राजधानी पोखरालाई खेलकुद सहरका रुपमा अघि बढाउने प्रचुर सम्भावना रहेकोमात्रै नभई सबैको ध्यान त्यसतर्फ खिच्नसमेत सफल रहेको मन्त्री थापाले औंल्याए ।
खेलकुदको माध्यमबाट भाइचारा स्थापित गर्न र राष्ट्रिय गौरव बढाउनसमेत बढाउन भूमिका खेल्ने भएकाले गण्डकी प्रदेश सरकार सदैव खेलाडीको हित र खेलकुद विकासका लागि प्रतिवद्ध रहेको मन्त्री थापाले जनाए । कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठक, कास्की जिल्ला हाप्किडो संघ अध्यक्ष रविन गुरुङ लगायतले बोलेका थिए ।
नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम र हाप्किडो खेल प्रदर्शनसमेत गरिएको थियो । सो अवसरमा अध्यक्ष मगरले नेपाली हप्किडोले पछिल्लो समयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छाप छोड्न सफल भएको जनाउँदै यो खेलको विकास र विस्तारका लागि राज्यको भूमिका आवश्यक रहेको औंल्याए ।
उनले भने, ‘नेपाली हाप्किडो गाउँ–गाउँ, सहर–सहर र विद्यालय हुँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो प्रभाव छोड्न सफल छ । हामीले नेपाली खेलकुदको जगलाई बलियो बनाउन खेलेको भूमिका लागि राज्यको सम्बोधन आवश्यक छ ।’ दशौं राष्ट्रिय सेमीनारमा सातै प्रदेशबाट करिब २ सय जना सहभागी छन् ।
तपाईको प्रतिक्रिया