सम्पादकीय—माथिल्लो तटीय क्षेत्रमा लगानी र फेवाको संरक्षण

समाधान संवाददाता २०८१ भदौ २६ गते ११:४२

जलाधार क्षेत्रको दिगो संरक्षण तथा विकासको लागि तल्लो तटीय क्षेत्रमा बस्नेले माथिल्लो तटीय क्षेत्रको समग्र वातावरण संरक्षण र जीविकोपार्जन लगायत क्षेत्रमा संस्थागत रुपमा योगदान गर्नु पर्छ ।

Advertisement


फेवाताल जलाधार क्षेत्रमा तल्लो तटीय क्षेत्रमा सेवा प्राप्त गरे वापत निजी क्षेत्रका पर्यटन व्यवसायीले स्वेच्छिक रुपमा माथिल्लो क्षेत्रको वातावरणीय (पारिस्थितिकीय) सेवा भुक्तानी गर्ने प्रणालीको थालनी भएको छ । निजी क्षेत्रले छिटफुट रुपमा नगद सहयोग गरेका छन् । नीतिगत रुपमा व्यवस्था भएर संस्थागत र सामूहिक रुपमा काम हुन सकेको छैन । यस्तो अवस्थामा फेवाताल तथा त्यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थितिकीय सेवा शुल्क भुक्तानीको लागि संस्थागत रुपमा संयन्त्र स्थापना गरिनुपर्ने देखिन्छ ।


पोखरा महानगरपालिकाका मेयरको अध्यक्षतामा बसेको समिति मार्फत फेवामा पारिस्थितिकीय सेवा शुल्क भुक्तानीको सुरुवात भएको हो । फेवा जलाधार क्षेत्रको खुकुलो भूबनोट तथा अत्यधिक वर्षातको कारण हर्पन अंधेरी लगायतका सहायक खोलाहरुले बगाएर ल्याउने ढुंगा माटो तथा बाढीपैरोको कारण खोला किनारा कटान र थ्रेग्रिकरणले वर्षेनी ताल पुरिने क्रम बढ्दो छ ।


फेवामा मिसिने गेग्रानलाई रोक्न महानगर र गण्डकी प्रदेश सरकारले विभिन्न खोलाहरूमा निर्माण गरिएका सिल्टेसन तथा चेक ड्यामहरू निर्माण गरेका छन् । त्यस्ता गेग्रानलाई रोक्न तालको माथिल्लो क्षेत्रमा चेक ड्याम निर्माण गर्नुका अलवा महानगरले चेकड्यामका संकलन भएका बालुवा गिट्टी लगायतका सामाग्रीको विक्री गरी उपल्लो क्षेत्रमा लगानी गर्नु पर्ने देखिन्छ ।


वातावरण जोखिम विश्लेषण बिनानिर्माण गरिएका ग्रामीण सडकहरू, परम्परागत कृषि प्रणाली, अव्यवस्थित विकास निर्माण, बढ्दो प्रदूषण, जलकुम्भी लगायत मिचाहा प्रजातिको विकास, जलाधार क्षेत्रको संरक्षण अभाव लगायत कारण प्राकृतिक रुपमा बनेको फेवाताल प्राकृतिक प्रकोप तथा मानवीय अतिक्रमणको चपेटामा परेको छ ।

Advertisement


त्यसैले भुक्षयलाई रोक्नको लागि खेती प्रणालीको विकास, डालेघाँस लगायतका वृक्षरोपण, जलाधारक्षेत्रको बासिन्दको जीविकोपार्जनको लागि ठोस योजना ल्याउन पर्ने देखिन्छ ।


फेवा जस्तो प्राकृतिक ताल विश्वमै छैन् । बढ्दो बसोवास र जनसंख्या, संरक्षण सोंच विनाका विकासकार्यले फेवातालको क्षेत्रफल र आयातन घट्दै गएको छ । फेवाको आयु बढाउनको लागि उच्च वर्षात र फेवा जलाधार क्षेत्रको कमजोर भूबनौटलाई मध्यनजर गर्दै ताल संरक्षणको एकीकृत योजना बनाउन पर्छ । अर्कोतर्फ माथिल्लो तटीय क्षेत्रको वातावरण संरक्षण र सन्तुलित विकासबाट मात्रै फेवाको संरक्षण सम्भव हुन सक्छ ।


फेवातालबाट फाइदा सधैभरी तल्लो तटीय क्षेत्रले मात्र लिने कुरा प्राकृतिक न्यायको सिद्धान्तका हिसाबले पनि मिलेको छैन । अब यसको व्यवस्थापनका लागि पारिस्थितिकीय सेवा शुल्क भुक्तानीको बलियो संयन्त्र स्थापना गरी सन्तुलन कायम गर्नै पर्दछ । यसो गर्न सकेमात्र फेवातालको संरक्षण र विकासको दायित्व सवैपक्षमा बढ्ने छ । पर्यावरणको संरक्षण र वातावरणीय सन्तुलनले मात्र फेवातालको भविष्यलाई दिगो बनाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया