दमौली अस्पताललाई एनेस्थेसिया अप्रेसन उपकरण
बेहोस बनाएर अप्रेसनको सुविधा अस्पतालमा सुरु हुने
पोखरा ।
तनहुँको दमौली अस्पतालमा पहिलो पटक बेहोस बनाएर अपरेशन गर्ने सुविधा थपिएको छ । हालसम्म बेहोस बनाइने उपकरण र प्रविधि अभावमा सामान्य अपरेशन हुन नसकेकामा अब त्यसखालका अप्रेसन गर्ने बाटो खुलेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई बेहोस पार्ने उपकरण र प्रविधि सहयोग गरेको छ । हाल मध्यमखालका अपरेशन समेत हुन नसकेकामा एनेस्थेसिया वर्किङ स्टेशन आवश्यक रहेको अस्पतालले बताए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पताललाई उपकरण पठाउने व्यवस्था मिलाएका हुन् ।
मन्त्री भएलगत्तै अस्पताल भ्रमणमा पुगेका बेला पौडेललाई जिल्ला समन्व्य समिति का प्रमुखसमेत रहेका अस्पताल व्यवस्थापन समिति अध्यक्ष शान्तिरमण वाग्ले र अस्पताल प्रमुख परिवर्तन बरालले उपकरण सहयोग मागेका थिए ।
लगत्तै मन्त्रालयबाट यस्तो सहयोग पठाइएको हो । अस्पाल प्रमुख बरालले एनेस्थेसिया वर्किङ स्टेसन निर्माणका लागि चाहिने उपकरण, बेहोस बनाउने मेसिन १ थान र मोनिटर १ थान मन्त्रालयबाट प्राप्त भएको जानकारी दिए ।
हाल दुई चिकित्सकसमेत व्यवस्था गरेको अस्पतालले अब मध्यमखालका अपरेशन गर्न सक्ने प्रमुख बरालले जानकारी दिए । उपकरण नभएर रोकिएको हो, उनले भने, अब बेहोस बनाउनुपर्ने साधारण अपरेशन थाल्न सकिन्छ । पित्तथैली तथा स्त्रीसम्बन्धी रोग र हड्डीको अप्रेसन सेवा थाल्ने तयारी थालिएको उनले बताए ।
तपाईको प्रतिक्रिया