डेंगी नियन्त्रण गर्न समुदाय स्तरमा सचेतना आवश्यक
पोखरा ।
विश्व प्राथमिक उपचार दिवसको सन्दर्भमा नेपाल रेडक्रस सोसाइटी कास्कीले बुधबार महामारी नियन्त्रण अभियानका स्वयं सेवकहरुलाई डेंगी संक्रमण सम्बन्धी अभिमुखिकरण गरेको छ ।
समारोहमा प्रशिक्षक र स्वयंसेवकबीच डेंगी रोग रोकथाम तथा नियन्त्रणका सवालमा खुल्ला अन्तक्र्रिया समेत भएको रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्मा पौडेलले जानकारी दिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगका फोकल पर्सन टिकाराज पौडेल र रेडक्रस कास्कीका डेंगी फोकल पर्सन नवराज भण्डारीले सहजीकरण गरे ।
नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले डेंगी रोग फैलाउने लामखुट्टेको बासास्थान पत्ता लगाएर खोज नष्ट अभियान सञ्चालन गर्नु पर्ने बताए ।
वर्षातको समयमा प्रकोपमा केही कमी भएपनि अहिले फेरी बढेको जानकारी दिदै उनले गतवर्ष म्याग्दी मुस्ताङमा समेत मंसिर महिनामा समेत डेंगीको प्रकोप फैलिएको उल्लेख गरे ।
कास्की शाखा प्राथमिक उपचारको लागि अग्रणी शाखा भएको चर्चा गर्दै उनले कास्कीमा ८० प्राथमिक उपचार प्रशिक्षक र २ हजार स्वयंसेवक रहेको जनाए । उनले कास्कीले आय आर्जनको १० प्रतिशत शुल्क केन्द्रमा पठाउने गरेको बताए ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति पौडेलले कास्कीमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ ( आइएफआईसी)को सहयोगमा रेडक्रसले डेंगीको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि अभियान सञ्चालन गरेको जानकारी दिए । उनले आफै सचेत र होसियार भएमा डेंगीबाट जोगिन सकिने बताए ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगका फोकल पर्सन पौडेलले लामखुट्टे लार्भा खोजी तथा नष्ट अभियानबाट डेंगीको रोकथाम गर्न सकिने उल्लेख गरे ।
उनले ग्रामिण भन्दा शहरी क्षेत्र डेंगी संक्रमणका हिसाबले बढी जोखिममा रहेको जनाए । बढ्दो शहरीकरणसँगै सवारी दुर्घटनाको दर बढेको जानकारी दिदै उनले समयमै प्राथमिक उपचार गरे धेरै घाइतेको ज्यान जोगाउन सकिने बताए ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति धर्मराज अधिकारीले डेंगी रोगको प्रभाव तथा संक्रमणको दृष्टिले गण्डकी बढी प्रभावित भएको जानकारी दिए । उनले डेंगी रोग नियन्त्रणको सवाललाई मुल काम ठानेर गतिविधि अगाडि बढाएको उल्लेख गरे । उनले समुदाय सशक्त भएर नेतृत्वदायी भूमिका खेलेमा डेंगीरोग रोकथाम तथा नियन्त्रण गर्न सहज हुने बताए ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका डेंगी फोकल पर्सन भण्डारीले १० जना स्वंय सेवकले लार्भा खोज नष्ट अभियानका अलवा माइकिङको काम गरेको जनाए । उनले सबै पालिका, उपशाखा तथा विद्यालय स्तरमा सञ्जाल भएको रेडक्रसले युवा तथा जुनियर सर्कल मार्फत समुदाय स्तरमा सचेतनामुलक कार्यक्रम गरेको बताए ।
यसैबीच रिजनल कलेज अफ हेल्थ्य साइन्स एण्ड टेक्नोलोजी नयाँबजारले नेपाल रेडक्रस सोसाइटी कास्कीले सञ्चालन गरेको प्रादेशिक रक्त सञ्चार सेवालाई २ लाख बराबरको इन्कुवेटर हस्तान्तरण गरेको छ ।
कलेजका प्राचार्य डा जगतबहादुर खड्काले रेडक्रस सोसाइटी कास्का सभापति दण्डराज शर्मा पौडेललाई सो सामाग्री हस्तान्तरण गरे । प्राचार्य डा खड्काले कलेजले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रेडक्रसलाई सहयोग गरेको बताए । उनले आगामी दिनमा समेत सहयोग जारी रहने जनाए ।
कार्यक्रममा रेडक्रस कास्कीका सभापति पौडेल, कार्यसमितिका सदस्य सुवास पौडेल, प्रादेशिक रक्त सञ्चार सेवाका प्रमुख अर्जुन ज्ञवालीले सबैको सहयोगमा बहुउद्देश्यीय भवन सहित प्रदेश स्तरको रक्त सञ्चार सेवा सञ्चालन गरेको बताए ।
तपाईको प्रतिक्रिया