सम्पादकीय—डेंगी नियन्त्रणको लागि प्रभावकारी कदम चाल
डेंगी रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल संक्रमण हो । नेपालमा डेंगी संक्रमण निरन्तर रुपमा उकालो लागेको छ । हुम्ला र मुस्ताङबाहेक देशभरका ७५ जिल्लामा फैलिएको डेंगी महामारी उत्कर्षतिर लम्केको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार देशभर ८ महिनाको अवधिमा ८ हजार जना भन्दा बढीमा डेंगी संक्रमण भएको छ ।
डेंगी संक्रमणबाट गण्डकी प्रदेश बढी प्रभावित छ । गण्डकीमा मात्र ३ हजार ३ सय ८३जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्ममा डेंगुबाट ५ जनाको मृत्यु भएको छ । आम मानिसमा सचेतनाकै कमीले डेंगु फैलिइरहेको छ । डेंगु नियन्त्रणको लागि लामखुट्टे मार्ने प्रभावाकारी उपाय अपनाउनु पर्छ । झाडीहरू फाँड्ने हो वा पेस्टिाइड छर्ने, मानिसहरूलाई सचेतना गराउने, घरवरपर सुख्खा राख्ने उपाय अझै गरिएको छैन ।
जसको कारण डेंगीको जोखिम बढाइरहेको छ । घरको झ्याल तथा ढोकामा जाली छैन भने ढोका खोल्दा साँझपख लामखुट्टे छिर्छ । यही लामखुट्टे कोठाको कुनातिर बस्छ र टोक्छ । जाली नभएकाले बढी सावधानी अपनाउनुपर्ने हुन्छ । साँझपख झ्यालढोका नखोल्ने, काम गर्दा पूरा बाहुला भएका लुगा लगाउने, कुनाकाप्चा राम्ररी सफा गर्ने,नचाहिने सामान कोठामा थुपारेर नराख्ने गर्दा लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ ।
एडिस एजेप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले टोक्दा डेंगु संक्रमण हुन्छ । यो जातिको लामखुट्टले राती होइन दिउँसोमात्रै मानिसलाई टोक्छ । यो लामखुट्टे कालो र सेतो रङको हुन्छ । विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गर्छ । उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ अत्यधिक दुख्ने लक्षण डेंगीका हुन् ।
गम्भीर प्रकृतिको डेंगी संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिँजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने जस्ता लक्षण देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गर्नुपर्ने पर्छ ।
नेपालमा सन् २००४ मा भारतबाट फर्केका यात्रुमा पहिलो पटक डेंगी संक्रमण देखिएको थियो । त्यतिवेला देखि नेपालमा डेंगी अहिले निरन्तर रुपमा फैलिएको छ । देशमा डेंगी बारम्बार देखिएकोले धेरै जनसंख्या जोखिममा पर्न सक्ने भएकोले समयमै र सही ढंगले व्यवस्थापन गर्न नसके जटिलता आउन सक्छ ।
खासमा डेंगीको उपचार छैन । डेंगुबाट जोगिन सर्व साधारण पहिले सजक हुनु पर्छ । मुख्य पाटो सचेतना जगाउनु हो । अस्पतालको तयारी, डेंगु जाँच गर्ने किटहरु बढाउनु पर्छ । समुदायमा भेक्टर सर्भिलेन्स र डेंगुको सेरोटाइपको अध्ययनका लागि नमुना संकलनमा ध्यान दिनु आवश्यक छ ।
तपाईको प्रतिक्रिया