खेलकुद

५१ औं थाक खेलकुदको तयारीमा जुटे मार्फाली

नेतृत्व र पात्र फेरिन्छ, थाक खेलकुद मर्दैन

सुन्दरकुमार थकाली २०८१ भदौ २८ गते १७:२९
तस्विर ः दिपक लालचन

जोमसोम—असोज ५,६र ७ गतेसम्म संञ्चालन हुने झन्डै ५४ वर्ष पुरानो मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८१ को तयारी तीब्र रुपमा अघि बढेको छ । आयोजक मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघले थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आन्तरिक तयारी गर्दैगर्दा सहआयोजक मिलिजुली युवाक्लवले पनि आफ्नो आन्तरिक तयारीलाई तीब्रता दिएको हो ।
५१ औं संस्करणको गौरवमय थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रम यसपालि मुस्ताङको मार्फामा हुदैछ । यसका लागि सहआयोजक मिलिजुली युवाक्लवले प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रम संञ्चालन गर्ने आवश्यक पूर्वाधारको व्यवस्थापन तथा स्तरोन्नति थालेको मार्फाका स्थानीय दिपक लालचनले जानकारी दिए ।‘मार्फामा शुक्रबारदेखि पुरै गाउँ जुटेर मार्फा स्थित खेल मैदानको पूर्ण सरसफाई, खेलमैदानको स्तरोन्नति र मञ्च सजावट लगायतका कामहरु सुरु गरेको स्थानीय लालचनले बताए ।

Advertisement

योसंगै ५१ औं संस्करणको गौरवमय मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघले आयोजना गर्ने कार्यक्रमहरु सहज र व्यवस्थित रुपमा संञ्चालन गर्न मार्फा गाउँका झन्डै २ सय भन्दा बढी स्थानीय नागरिकहरुले जनश्रमदान गरेको बताईएको छ । मिलिजुली युवाक्लवले मार्फामा हुने आयोजनाका लागि खेलाडी तथा अफिसियल,आयोजक , र दर्शकहरुको समुचित व्यवस्थापन गर्ने आवश्यक तयारी थालेको हो । स्याउको राजधानीले समेत परिचित मार्फामा खेलकुद तथा सास्कृतिक उत्सवका साथमा खेल हेर्न आउने दर्शकले मार्फाको पर्यटकीय सुन्दरता अवलोकन गर्न सक्नेछन् । सडक भन्दा केही परको भित्री मार्फा बस्तीको गल्ली आफैमा धार्मिक तथा सांस्कृतिक र पर्यटकीय दृष्ट्रिकोणले महत्वपूर्ण छ । भूमिगत बिजुली तार,छप्पनी ढुंगा बिच्छ्याईएको मार्फाको साँघुरो गल्लीले सबैलाई मन्त्रमुग्ध तुल्याउछ । यस गल्लीमा दर्जनौ नेपाली चलचित्रहरुको सुटिङ भईसकेको छ । मार्फामा जेरी र कबड्डी गल्ली भनेर स्थानीयले नामाकरण गरेपछि मार्फाको भित्री गल्लीको चर्चा झनै चुलिदै छ ।
पर्यटकीय सिजन सुरु हुदै गर्दा मार्फामा थाक खेलकुदको चर्चा परिचर्चा हुन थालेको छ । थाक खेलकुदलाई भव्य र सम्य रुपमा सम्पन्न गर्न मार्फाली गाउँहरु मार्फालाई झकिझकाउ र सिंगार्न तर्फ लागेका छन् । खेलकुदका माध्यमबाट धर्मसंस्कृति र पर्यटन विकासमा योगदान दिन सकिने भएकाले मार्फा स्थित मिलिजुली युवाक्लवले प्रतियागिता संञ्चालनको भव्य तयारी गरेको हो ।
सुन्दर गाउँ मार्फाको खेल मैदानमा आयोजना हुदै गर्दा यसपालिको थाक खेलकुद विशेष र खास महत्वपूर्ण हुने आँकलन गर्न सकिन्छ। यसपटक मुस्ताङको सान्दर्भिकतालाई मध्यनजर गर्दै आयोजक संस्थाले भलिबल,खुल्ला महिला भलिबल,आर्चरी , तारा खेल र सांस्कतिक नृत्य तथा भेषभुषा लगायतका कार्यक्रमलाई प्राथमिकतामा रहेको छ । यसअघि हुने गरेको मिस मुस्ताङ र गायन प्रतियोगिता हटाईएको छ ।
मुस्ताङ थाक खेलकुदको औचित्यमाथि प्रश्न उठ्दै गर्दा थाक भलिबल दिएको सकारात्मक सन्देश आफैमा महत्वपूर्ण छ । मुस्ताङमा तिब्बती खम्पाहरुको अघोषित साशन हुदा त्यसबेलाका अंग्रजहरुले रोपेको गौरवमय थाक खेलकुदलाई माथि उठाउन समकालिन व्यक्तिहरुले ठुलो योगदान दिएका छन् । थाक खेलकुद मुस्ताङको खेलकुद तथा सास्कृतिक धरोहर हो । थाक खेलकुदले नै मुस्ताङको शाख र गरिमालाई उचो बनाएको संघका अध्यक्ष कृष्णकुमार शेरचनको भनाई छ । ‘नेतृत्वमा व्यक्ति र पात्र फेरिरहन्छ,तर, ५४ वर्ष अगाडी जन्मिएको संस्था र यसका कार्यक्रम मर्न हुदैन —अध्यक्ष शेरचनले भने ।’

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया