मुख्यमन्त्री पाण्डेलाई बालबालिकाले साेधे बालबालिका खोज्ने सयन्त्र खोई ?
(प्रदेश बालकोष निर्माण, लिंग पहिचान गरी भ्रुण हत्या गर्ने प्रवृत्तिदेखि उच्च हिमाली क्षेत्रका शैक्षिकसत्रको बारेमा मुख्यमन्त्रीलाई प्रश्न गरे)
पोखरा ।
६०औं राष्ट्रिय बाल दिवसको सन्दर्भमा गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार ‘बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रम गरेको छ ।
प्रदेश बाल परिषद् गण्डकीसँगको सहकार्यमा भएको कार्यक्रममा बालबालिकाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई समसामयिक विषयमा समेत प्रश्न गरे । समारोहमा मुख्यमन्त्री पाण्डेले बालबालिकाको जिज्ञासाको समाधान गर्नुका साथै आफ्नो बाल्यकालको अनुभव सुनाए । कार्यक्रममा जिल्ला सञ्जाल कास्कीका अध्यक्ष तेजप्रसाद ढकालले मुख्यमन्त्री पाण्डेलाई हराएका बालबालिका खोज्नका लागि सयन्त्र निर्माणको बारेमा प्रश्न गरे ।
‘आर्थिक वर्ष २०७९÷०८०मा ७ सय ४४ बालबालिका हराएकामध्ये ३२ जना फेला परेका छैनन्,’ उनले भने, ‘पछिल्लो अवधिमा हराएका मध्ये अझैपनि ५९ जना बाल बालिका फेला परेका छैनन् ।’ अध्यक्ष ढकालले प्रदेशमा संयन्त्र बनाउने प्रतिबद्धता गरेको १ वर्ष पुगेको जनाए । उनले हराएका बालबालिकाका लागि खोज तलास समन्वय केन्द्र स्थापना गर्न माग गरे ।
एक वर्षअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले बालबालिकासामु प्रदेशमा संयन्त्र बनाएर बालबालिका जोगाउने बचन दिएका थिए । अहिले भएको कार्यक्रममा बालबालिकाले सोही प्रश्न मुख्यमन्त्री पाण्डेलाई राखेका छन् । मुख्यमन्त्री पाण्डेले प्रदेश प्रहरी कार्यालयसँग सहकार्य गरेर बालबालिका खोजतलास केन्द्र स्थापना गरेको जानकारी दिए । कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन भएको र समन्वय गरेर काम भइरहेको उल्लेख गर्दै उनले मनाङ र मुस्ताङबाहेक जिल्लामा खोजतलास केन्द्रले काम गरेको बताए । उनले भौगोलिक विकटताको कारण हराएका बाल बालिका खोज्न कठिन भएको जनाए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा गण्डकी प्रदेशका सबै जिल्लाबाट सहभागीहरुले बालबालिकाको सवालसँग जोडिएका प्रश्न मुख्यमन्त्री पाण्डेलाई गरेका थिए । एक सहभागीले पोखरा १८ मा रहेको बालसुधारगृहको क्षमता ४५ भएता पनि १ सय १० बालक कोचेर राख्न परेको प्रसंग उठाए । मुख्यमन्त्री पाण्डेले बाल सुधार गृहको लागि थप भवन निर्माण र भान्साघर निर्माणमा सहयोग गरेको बताए । उनले आबुखैरेनीको ढकालटारमा सुविधा सम्पन्न बालसुधारगृह निर्माण प्रक्रिया अगाडि बढेको जनाए ।
बालसुधारगृहका बालबालिकाले मुख्यमन्त्री पाण्डेसँग जन्मदर्ता, नागरिकता प्राप्ति र उच्च शिक्षा प्राप्तिको बारेका प्रश्न गरेको प्रदेश बाल परिषद् गण्डकीका अध्यक्ष सन्दीप चापागाईंले जानकारी दिए । बालबालिकाले प्रदेश बालकोष निर्माण, लिंग पहिचान गरी भ्रुण हत्या गर्ने प्रवृत्तिदेखि उच्च हिमाली क्षेत्रका शैक्षिकसत्रको बारेमा मुख्यमन्त्री पाण्डेलाई प्रश्न गरेका छन् ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले संविधानले व्यवस्था गरेको बाल अधिकार सुनिश्चित गर्न प्रदेश सरकार तयार रहेको बताए । उनले अभिभावकलाई बाल अधिकारको बारेमा शिक्षा प्रदान गर्ने जानकारी दिए ।
गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले बाल अधिकारको सवालमा बाल बालिकामा सचेतना बढेको दाबी गरिन् । उनले अधिकारसँगै कर्तव्यको पालना गर्न बाल बालिकालाई आग्रह गरिन् । मन्त्रालयको सामाजिक महाशाखा प्रमुख मुना अधिकारीले प्रदेशमा नीति संरचना, कार्यप्रणाली र व्यवहारमा बालमैत्री प्रणाली सुरुआत गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
मन्त्रालयका शाखा अधिकृत देवी शर्माले अघिल्लो वर्ष भएका बाचाको वस्तुस्थिति र आगामी दिनमा बालबालिकालाई प्रदेश सरकारले हेर्ने दृष्टिकोणलाई स्पष्ट पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । कार्यक्रममा प्रदेशभरबाट १ सय बालबालिका सहभागिता रहेको छ ।
कार्यक्रममा प्रदेश बाल परिषद् गण्डकीका अध्यक्ष चापागार्इं, उपाध्यक्ष एलिसा गैरे, सचिव गणेश वाग्ले, निवर्तमान अध्यक्ष सुदीप पौडेल लगायतले बाल बालिकाको सवालमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया