
जोमसोम ।
मुस्ताङमा चालु आर्थिक वर्षदेखि आलु जोन विकास कार्यक्रम भित्रिएको छ । आलु उत्पादन तथा उत्पादकत्व वृद्वि गरी बाह्य देशबाट हुने आयात प्रतिस्थापन गर्न र खाद्य सुरक्षामा समेत टेवा पुर्याउने उद्देश्यले कृषि तथा पशुपंन्छी विकास मन्त्रालयले मुस्ताङमा आलु जोन विकास कार्यान्वयनमा ल्याएको हो ।
चालु आर्थिक वर्ष आलु जोनका लागि १ करोड २७ लाख बजेट विनियोजन भएको प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना, परियोजना कार्यान्वयन इकाइ मुस्ताङका प्रमुख नेत्रप्रसाद भट्टले जानकारी दिए । जसमध्ये १ करोड १७ लाख बजेट आलु जोनका लागि अनुदान शीर्षकमा खर्च हुनेछ । बाँकी १३ लाख बजेट आलु जोन अन्तर्गत तालिम, प्रविधि प्रर्दशनी, क्रप कटिङ र तथ्यांक संकलन लगायत सेवामूलक कार्यक्रममा लागि छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ म्याग्दी÷मुस्ताङ अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ देखि यस प्रकारको आलु जोन विकास कार्यक्रम म्याग्दीमा कार्यान्वयनमा छ । म्याग्दीमा कार्यान्वयनमा आएको आलु जोन विकास कार्यक्रम ३ वर्षपछि मुस्ताङ भित्रिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मुस्ताङमामार्फत कार्यान्वयन हुने चालु आर्थिक वर्षको आलु जोन विकास कार्यक्रम अन्तर्गत ५ सय हेक्टर क्षेत्रफलमा आलु जोन विकास कार्यक्रम सञ्चालन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाइ मुस्ताङका कार्यालय प्रमुख भट्टले जानकारी दिए ।
जोन निर्धारण गरिएको ५ सय हेक्टर खेतीयोग्य जमिनमा अपुग ४१ हेक्टर जोन विकास कार्यक्रमको क्षेत्र विकास कार्यक्रमबाट ५ वटै स्थानीय तहबाट क्षेत्र विस्तार कार्यक्रमबाट पुर्याउने शर्त निर्धारण गरिएको छ । आलु जोन विकास कार्यक्रम अन्तर्गत जोनमा समावेश हुने कृषि फार्म, समूह, सहकारीमा आवद्ध कृषकले प्रस्ताव पेश गर्न सक्नेछन् ।
यो कार्यक्रम कार्यान्वयनमा आएसँगै जोनमा आवद्ध फार्म, समूह र सहकारीले आलु जोनको पूर्वाधार विकासतर्फ ८५ प्रतिशत अनुदान पाउने छन् । यस्तै, आलु उत्पादनका लागि यान्त्र, उपकरण, बिउँ तथा अन्य उत्पादन तथा प्रशोधन लगायतका सामाग्री खरिदमा ५० प्रतिशतसहुलियत उपलब्ध हुने भट्टले उल्लेख गरे ।
कार्यालयले भदौ १९ गते यससम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरी मुस्ताङका कृषि फार्म, समूह र सहकारीबाट प्रस्ताव आह्वान गरेको थियो । कार्यालयले जिल्लाका ५ वटै पालिकाका २५ वटै वडामा आलु जोन विकास कार्यक्रम कार्यान्वयन गर्ने गरी क्षेत्र यकीन गरेको छ ।
स्याउ जोन र च्यांग्रा जोनपछि यसपालिबाट आलु जोन थपिएको छ । यसमा यो वर्ष सवा करोड बजेट छ ।
राष्ट्रिय प्राथमिकता र स्थानीय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधार तथा बाली, वस्तुमा न्यूनतम ५ सय हेंक्टर सञ्चालन भएको व्यवसायिक उत्पादन तथा प्रशोधन केन्द्रहरुको विकास गर्न जोन कार्यक्रम सञ्चालनमा ल्याउने गरिएको छ । मुस्ताङमा आलु जोन विकासको क्षेत्र निर्धारणका लागि २ भदौमा गठित प्राविधिक कार्यदलको समेत बैठकले २ बुँदे निर्णय गरेको थियो ।
कृषि ज्ञान केन्द्र मुस्ताङ र स्थानीय तहको कृषि शाखासँग समन्वय गरी प्रतिवेदन तयारी गरी आलु जोन विकास कार्यक्रमअघि बढाइने भएको छ । जोनको मापदण्ड ५ सय हेक्टरका लागि मुस्ताङमा गत आर्थिक वर्षमा विस्तार भएको आलु खेतीको तथ्यांकलाई अध्ययन गरी त्यसमा बाँकी आलु जोन क्षेत्र विस्तार गर्न ५ वटै स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने गठित समितिले सिफारिस गरिसकेको छ ।
शितोष्ण हावापानी भएको मुस्ताङमा आलु खेती बालीको प्रचुर सम्भावना छ । यस प्रकारको आलु जोन विकास कार्यक्रम म्याग्दीसँगै मुस्ताङमा पनि सञ्चालन गर्ने तयारी गरिएको हो । कृषि ज्ञान केन्द्रको पछिल्लो अभिलेख अनुसार मुस्ताङमा आलु खेतीको उत्पादन तथा क्षेत्र विकास अपेक्षाकृत वृद्धि भइरहेको छ । मुस्ताङमा आर्थिक वर्ष २०७९/०८० मा ४ सय ५९ दशमलव ०५ हेक्टरमा आलु खेती गर्दा ७ हजार ३१ दशमलव १९ टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।
मुस्ताङका ५ वटै स्थानीय तहमा आशिंक तथा व्यवसायिक आलु खेती हुने गरेको छ । स्याउपछिको मुख्य नगदे बाली आलु खेतीतर्फ यहाँका कृषकको आर्कषण बढेको देखिन्छ । राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडक मार्ग स्तरोन्नति भइरहेकाले आलुको बजारीकरणमा समस्या नभएकाले मुस्ताङका कृषकहरुको आर्कषण आलुखेतीतर्फ ढल्किएको हो ।
मुस्ताङी सेतो लोकल आलु उपल्लो मुस्ताङमा चैत, बैशाखमा रोपेर असोजमा खनिन्छ । तल्लो मुस्ताङमा फागुमा रोपेर भदौको पहिलो हप्ता आलु खन्ने गरिएको छ । मुस्ताङमा चिसो हावापानी भएकाले खेतबारीमा धेरै समय राख्नुपर्ने भएकाले यहाँको आलु स्वादिलो हुने हुँदा उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।
मुस्ताङको आलु सहरबजारका पारखीबिच लोकप्रिय छ । होटलमा होस् या ठूला रिसोर्टमा आलुका परिकार छुट्दैनन् । उसिनेर होस या साँधेर, तरकारीमा होस्, या टिमुरको छोपसित डोबेर खान, मुस्ताङी आलु अब्बल मानिन्छ । मुस्ताङी आलु छिट्टै पाक्ने भएकाले जिल्ला भित्र र बाहिर निकै लोकप्रिय छ । परियोजना कार्यान्वयन इकाइ मुस्ताङले जिल्लामा स्याउ जोन र च्यांग्रा जोन चलाइरहेको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया