पाठकले खोजे आनन्दको उपाय
पोखरा ।
पोखरामा घनश्याम खड्काको कृति ‘आनन्द संहिता’माथि बहस भएको छ । कृतिमाथि लेखक दीपक पराजुलीले अवधारणापत्र प्रस्तुत गरे । पराजुलीले ‘आनन्द संहिता’लाई स्वसहयोगी कृतिमात्रै नभई पाठकलाई बोध र बुद्धत्वतर्फ अभिमुख गराउने चेष्टा गरिएको कृतिका रूपमा चित्रण गरे ।
‘यो पुस्तकमा घनश्याम दार्शनिक चिन्तकका रूपमा प्रस्तुत भएका छन्, यद्यपि सारमा यो कृति आध्यात्मिक देशना हो, जसको प्राथमिक स्रोत हो बुद्ध दर्शन र साथमा गीता, उपनिषद्, योग र तन्त्र पनि जोडिएका छन्,’ पराजुलीले भने, ‘यसको व्याख्याको केन्द्र भनेको मनोविज्ञान हो, जसका लागि आत्मावलोकनदेखि ध्यानसम्मका साधनात्मक सुझावहरू यसमा पेस गरिएका छन् ।’ उनले कृतिलाई मानसिक उपचारको सूत्रको संज्ञा दिए ।
‘आनन्द संहिता’ सुखतर्फ होइन, आनन्दतर्फ अभिमुख हुन प्रेरणा दिने पुस्तक भएको तर्क गर्दै पराजुलीले यो कृति साधारण सिर्जनामात्र नभएर आध्यात्मिक चिन्तनको परिणाम भएकोमा जोड दिए । ‘पाठकलाई बोधको तहमा लैजाने, आफैँभित्र शान्ति र सुन्दरता अनुभूत गराउने प्रयासमा लेखक सफल भएका छन्,’ अवधाराणा पत्रमा भनिएको छ ।
लेखक खड्काले सबै मानिसले जुनसुकै माध्यमबाट भए पनि आनन्दको खोजी गर्ने र आनन्द प्राप्त गर्नका लागि आफूले बुझेका उपायसहितका विचार पुस्तकमा प्रस्तुत गरेको बताए । ‘फिलोसफी’ र ‘दर्शन’ पर्यायवाची शब्दका रूपमा लिने गरिए पनि यसमा भिन्नता रहेको भन्दै खड्काले अरूमाथिको तर्कशास्त्र फिलोसफी र आफैँमाथिको ज्ञान र देखिएको यथार्थ विषयवस्तु प्रस्तुत गर्नु दर्शन भएको धारणा राखे ।
आजको शिक्षाले सुल्झाउनुपर्नेमा उल्झाइराखेको बताउँदै उनले आजका विद्यार्थीलाई ‘माइन्डफुलनेस’ को अभ्यासमा लगाउनु आजको आवश्यकता भएको सुनाए । ‘आनन्द संहिता’ स्वयम्को चिन्तन गर्नका लागि आग्रह गर्ने रचना भएको लेखक खड्काको भनाइ छ । खड्काका यसअघि बुद्ध दर्शनमा आधारित उपन्यास ‘निर्वाण’ (२०७२) सहित पुतलीको घर, न्यायको अवसान, दरबारको दुःखान्त लगायतका कृति प्रकाशित छन् ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पठन संस्कृतिले नै मानिसमा विवेक निर्माण गर्ने धारणा राखे । पढाउनुपर्ने र पढ्नुपर्नेले मात्र नभई आम मानिसले पढ्नुपर्ने भन्दै आचार्यले आफ्नो व्यक्तिगत पुस्तकालयमा आफूले पढेका थुप्रै पुस्तकहरू रहेको स्मरण गरे ।
आनन्द संहिता’ सुखतर्फ होइन, आनन्दतर्फ अभिमुख हुन प्रेरणा दिने पुस्तक हो
दीपक पराजुली
पुस्तक व्यवसायमा संलग्न रहँदा पुस्तकसम्बन्धी नीति निर्माणका लागि आफू लागेको र राज्यको तहसम्म छलफल गरेको भन्दै उनले आज पाठ्यपुस्तकको मूल्यमा केही हदसम्म व्यवस्थापन भए पनि साहित्यिक कृतिको व्यवस्थापनका लागि कार्य गर्न बाँकी रहेको भनाइ राखे । मेयर आचार्यले व्यक्ति, वस्तु र परिस्थितिलाई स्वीकार गरे दुःख नहुने भनाइ राखे ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले लेखकहरू केवल लेखनमा मात्र लागेर नपुग्ने धारणा राखे । अरूले के लेखेका छन् भन्ने पढ्नुपर्नेमा जोड दिँदै सरुभक्तले आनन्द प्राप्त गर्ने शैलीअनुसार गुणस्तरमा फरक पर्ने बताए । मानवीय जीवनका सबै क्रियाकलाप मस्तिष्कको खेल भएको उनले बताए । आनन्दलाई आफूले अहमको तुष्टिसँग तुलना गर्ने गरेको उनले बताए । तनावग्रस्त विश्वलाई मुक्त गराउनका लागि ‘आनन्द संहिता’ जस्ता कृतिहरू आउनुपर्ने सरुभक्तले बताए ।
कार्यक्रममा सरस्वती प्रतीक्षा, बाबुराम सुवेदी, रामबहादुर माल, राममणि अधिकारी, श्रीकृष्ण पन्थी लगायतले कृतिकार र परिचर्चाकारलाई प्रश्न गरेका थिए । संस्थाले हरेक महिनाको अन्तिम शनिबार कुनै कृति वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको छ ।
र्यान्डम रिडर्स सोसाइटी अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव नेपालप्रकाश अधिकारीले पनि बोलेका थिए ।
तपाईको प्रतिक्रिया