मिजार समाजको सशक्तीकरणबारे बिमर्श

समाधान संवाददाता २०८१ भदौ ३० गते १०:५४

पोखरा ।

Advertisement

मिजार समाज स्थापनाको २६ औं वर्षको अवसरमा विगत, वर्तमान र भावी दिशाबारे बहस भएको छ । उत्पीडित समुदाय अन्र्तगत मिजार (सार्की) जातिमा संगठन विस्तार, हकहितका पक्षमा वकालत र सचेतना अभिवृद्धि गर्न संस्था स्थापना भएको हो ।


गोल्छे सार्कीको नेतृत्वमा २०५५ भदौ २६ गते मिजार समाज स्थापना भएका थियो । त्यो बेलादेखि हालसम्मको समीक्षा, वर्तमान अभ्यास र भावी कार्यभारबारे शुक्रबार सरोकारवालाबिच छलफल गरिएको छ ।

Advertisement


जनप्रतिनिधि, समाजका केन्द्रीय, प्रदेश, जिल्ला, स्थानीय पालिका र वडास्तरीय समितिका पदाधिकारी, संस्थापक, वुद्धिजीवी, अधिकारकर्मी, अभियान्ता सहभागी कार्यक्रममा संविधानसभा सदस्य एवं समाजका प्रमुख सल्लाहकार डिबी नेपालीले कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा मिजार समाजको पृष्ठभूमि, ऐतिहासिक सन्दर्भ, जनसांख्यिक अवस्था, राजनीतिक परिवर्तन र मिजार समुदायको योगदान, .रहनसहन, संस्कृति जस्ता विषयवस्तु समेटिएका छन् ।


सरोकारवालाले समयानुकूल संस्था सञ्चालन गर्न नसकिएको, दक्ष र जुझारु नेतृत्व स्थापित हुन नसकेको, समुदाय स्तरमा संस्थाका क्रियाकलाप पुग्न नसकेको, वर्तमानमा प्रभावकारी अभ्यास हुन नसकेको जस्ता कमजोरी औंल्याए । प्रतिनिधि सभाका सदस्य शिव नेपालीले सिंगो दलित समुदायको अधिकारमुखी अवधारणा स्थापित गर्न, दलित आन्दोलन, संघर्ष र अभियानलाई बलियो बनाउन त्यस अन्तर्गतका सम्पूर्ण जातजाति आफ्नो ठाउँबाट सचेत र संगठित हुनुपर्ने धारणा राखे ।

Advertisement


मिजार समाज नेपाल गण्डकी प्रदेश समितिद्वारा आयोजित सो कार्यक्रममा समाजका संस्थापक सदस्य सनकमान सिके, केन्द्रीय अध्यक्ष ज्ञानबहादुर नेपाली, उपाध्यक्षहरु रामबहादुर बल्कुटी र शोभा नेपाली, कोषाध्यक्ष बलबहादुर नेपाली, प्रदेश समिति सल्लाहकार सोमबहादुर नेपाली, केन्द्रीय सदस्यहरु भीमबहादुर नेपाली, बलराम नेपाली, प्रदेश उपाध्यक्ष दिलबहादुर चर्मकार, मुख्यसचिव किसान संगीत गौतम, तनहुँ जिल्ला अध्यक्ष रणसिंह नेपाली, कास्की सहसचिव कुलबहादुर पँहेली, राधा बयलकोटी, अमृत मजाकोटी लगायतले विभिन्न सुझाव दिए ।


कार्यक्रम प्रदेश समिति अध्यक्ष शलिकराम नेपालीको अध्यक्षतामा भएको थियो । समाज स्थापनाको अवसरमा पोखरामा शुभकामना आदानप्रदान एवं रक्तदानसमेत आयोजना गरिएको छ ।


मिजार समाज नेपाल गण्डकी प्रदेश समितिको आयोजना, प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र र पोखरा नाक, कान, घाँटी हस्पिटलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद गोविन्दबहादुर नेपालीले जातीय उत्पीडन, भेदभाव र छुवाछुत जस्ता जीवित कुप्रथाकै कारण पानी चल्न नसकेको समाजमा रगत चल्न थालेकाले रगतदान गर्नु एउटा सकरात्मक सन्देश भएको बताए ।

तपाईको प्रतिक्रिया