निष्ठाका प्रतीक –कृष्ण गुरुङ सर
गत भदौ १८ गते विहान म आफ्नो अफिसमा पुगेको मात्र थिएँ शंकर गुरुङ दाइले फोन गर्नुभयो–‘ब्याड न्यूज थाहा पाउनु भयो’ मैले भने नाई, उहाँले भन्नु भयो ‘हाम्रो कृष्ण गुरुङ रहनु भएन ।’ उहाँले गुरुङ सर पोखरास्थित चरक हस्पिटलमा रहेको कुरामा बताएपछि म तत्काल चरक हस्पिटल पुगेँ । हस्पिटलमा पुग्दा उहाँको आफन्त कोही देखिन । मैले काउण्टरमा सोधेँ, उहाँको निधन भएको पक्का रहेछ । तत्काल प्राडा दिलबहादुर क्षेत्री र नेपाल नेत्र ज्योति संघका महासचिव भरतबहादुर चन्दलाई यो नराम्रो समाचार सम्प्रेषण गरेँ ।
गुरुङ सरको अनुहार हेर्छु भन्ने मेरो भित्री चाहना थियो । सोधेँ, ‘उहाँलाई कहाँ राखिएको छ ?’ तल अन्डरग्राण्डमा मर्चरी (शवगृह) मा राखिएको छ भनेपछि म तत्काल तल पुगेँ । उहाँ मर्चरीभित्र वन्द बाकसमा हुनु हुँदोरहेछ । सिसाको झ्यालबाट उहाँको अनुहार देख्छु कि भनेर प्रयास गरँे । मलाई त्यति बेला लाग्यो मान्छे मरेपछि मुख हेर्ने चलन मानवीय स्वभाव रहेछ, त्यो पनि अत्यन्त प्यारो र महत्वपूर्ण हुँदोरहेछ । पछि शंकर दाइ र उहाँ सम्वद्ध पोखरा फाइनान्सका टिम हस्पिटलमा आयो । उहाँहरुसँग गुरुङ सरको निधनको बारेमा सामान्य कुराकानी गरेर हामी पीडा बोध हुँदै छुट्टियौँ ।
गुरुङ सरलाई मैले पृथ्वी नारायण क्याम्पस पोखरामा पहिलोचोटि देखेको, चिनेको हुँ । उहाँ पढाउने गुरु म पढ्ने चेलो । त्यति वेला गुरु चेलाको आदर सम्मान छुट्टै थियो । आजको जस्तो थिएन । उहाँले हामीलाई क्रिमिनल ल पढाउँदा गुरुङ लवजमा ‘आपराधिक कार्य’ भन्नु भएको सम्झना उहाँका धेरै विद्यार्थीहरुलाई छ । यो लवजको बारेमा हामी कहिले काहिँ टिप्पणी पनि गथ्र्यांै । पछि म पेसाले वकालत गर्न थालेपछि उहाँसँग अलि बाक्लै भेट हुन थाल्यो । अहिले पनि मेरो कानमा गुञ्जन्छ ‘ए सुरेन्द्र ! के छ हाल खबर तिमी त नेता मान्छे ।’ म पृथ्वी नारायण क्याम्पसमा अखिलको राजनीति गरेर स्ववियुमा रहेको हुँदा उहाँले मलाई नेताको पगरी गुथाउनु हुन्थ्यो ।
पेशागत हिसाबले नजिकको सम्बन्ध भएपनि हामीबिच गुरुचेलाको दुरी कायमै थियो । पछि पृथ्वी नारायण क्याप्मसमा पूर्वक्यापस प्रमुख प्राडा दिलबहादुर क्षेत्री दाइले २०६५ सालमा गुरुङ सर र म समेतलाई नेपाल नेत्र ज्योति संघ मार्फत गोलबन्द गराएपछि गुरुङ सरसँग हाम्रो सम्बन्ध झन् बढी प्रगाढ हुन थाल्यो । हामी गुरु चेलाको सम्बन्ध पछि संस्थागत रुपमा एउटै समितिमा रहँदा झन् माया, मान र सम्मान सहित विकास हुन पुग्यो ।
विक्रम सम्वत २०१६ साल असार २२ गते कास्कीको रिभानमा जन्मनु भएका गुरुङ सरले विसं २०४१ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट प्राध्यापन सेवाको सुरुआत गर्नु भएको रहेछ । प्राध्यापकसहित उहाँ सामाजिक सेवाना पनि त्यत्तिकै सक्रिय रहनु भएको थियो । उहाँ तमुधि नेपालको सचिव, सुब्बा नाथु प्रल्हाद प्रतिष्ठाको संस्थापक अध्यक्ष, नेपाल नेत्र ज्योति संघ हिमालय आँखा अस्पताल व्यवस्थापन समितिको अध्यक्ष लगायत अन्य संघसंस्थामा आवद्ध हुनु हुन्थ्यो ।
नेपाल नेत्रज्योति संघमा आवद्ध भएपछि हिमालय आँखा अस्पताललाई विधिवत सञ्चालन गर्नमा उहाँले जग नै बसालेको हामीले अनुभूति गरेका छौँ । उहाँले निस्वार्थ सेवाभावका साथ काम गर्नुभयो
प्राध्यापन सेवाको जीवन यात्रा निवृत्त भइसकेपछि उहाँको संघसंस्थाप्रतिको सक्रियता झन् उत्साह साथ बढेको थियो । उहाँ आवद्ध अन्य संघसंस्थासँगको सामीत्यताको अनुभूति मैले गर्न पाइनँ, मात्र नेत्र ज्योति संघ र कानुन व्यववायी पेशासँग उहाँसँगको आत्मीयता मैले अनुभूत गरेको छु । संघ, संस्था तथा पेशा व्यवसायमा उहाँसँग रहनु भएका अन्य व्यक्तिहरुले पनि उहाँको स्वाभिमान, निष्ठा र निस्वार्थ सेवा भावको अनुभूति पक्कै गर्नु भएको होला । जीवनको सवैभन्दा महत्वपूर्ण कुरा आफ्ना कुरा भन्नु हो । उहाँले आफ्ना कुरा सबैलाई भन्नु भएन । यो उहाँको आफ्नै बानी थियो । भनिन्छ अपवादबाहेक सबै मान्छे उस्तै उस्तै हुन्छन् तर उस्तै पनि हुँदैनन् फरक, फरक हुन्छन् । गुरुङ सर पनि फरक हुनु हुन्थ्यो ।
नेपाल नेत्रज्योति संघमा आवद्ध भएपछि हिमालय आँखा अस्पताललाई विधिवत सञ्चालन गर्नमा उहाँले जग नै बसालेको हामीले अनुभूति गरेका छौँ । उहाँले निस्वार्थ सेवा भावका साथ काम गर्नुभयो । उहाँको कुनै स्वार्थ थिएन । खाली समयमा समाज सेवा गर्ने भन्नु हुन्थ्यो । हाम्रो समाजमा धेरैथरी मान्छे धेरैथरी संघसंस्था छन् । हामी सबै मुखले समाज सेवा त भन्छौं तर अन्ततः मनमा संस्थाको पदमा रहेर मञ्च, खादा माला, भ्रमण टिए, डिएको लोभ लुकेको हुन्छ । गुरुङ सरलाई मञ्चको लोभ थिएन । माला, खादा, पदको मोह थिएन । उहाँ मञ्चमा होइन बेन्चमा नै रमाउनु हुन्थ्यो ।
कतिपय बेलामा मञ्चमा बोलाउँदा इन्कार गरेर बसिदिँदा अशोभनीयसमेत देखिन्थ्यो र हामीले बल गरेर बोलाउनु पथ्र्याे । यो उहाँको स्वभावजन्य बानी थियो । मान्छेको व्यक्तित्व, चरित्र र अस्तित्व फरक देखिनु नै मानव हुनुको आनन्द रहेछ । गुरुङ सर खरो स्वभावको व्यक्तित्व, मनमा जे छ त्यही मुखले बोल्नु हुन्थ्यो । राम्रो चेपारे पार्ने उहाँको स्वभाव थिएन । मान्छेहरु धेरै मनको नजाती मुखको जाती हुन्छन् तर गुरुङ सर यसमा फरक हुनुहुन्थ्यो । मैले अनुभूत गरेको गुरुङ सर यस्तै हुनुहुन्थ्यो ।
आज म सम्झन्छु सायद एक, डेढ वर्षअघि उहाँ बेलायत गएर आएपछि अलि बिसञ्चो देखिनु हुन्थ्यो । उहाँलाई एकोहोरो खोकी लागेको थियो । हामीले राम्रो ठाउँमा चेक गर्नु भनेर औसत मान्छेले भने झै गरेर अर्ति उपदेश दियौँ । मान्छे विरामी हुँदा बिरामीलाई भेट्दा हरेक मान्छे डाक्टर हुने गर्छ । हामी पनि त्यस्ते भयौँ । उहाँले नियमित चेक गरिरहेको छु भन्नुभयो । पछि सायद उहाँले इन्डियामा गएर पनि स्वास्थ्य जाँच गरी आउनु भएको थियो । पछि गुरुङ सर लामो समय मेडिसिटी हस्पिटलमा उपचारर्थ रहनु भयो । त्यही हस्पिटलमा गएर भेटेको मेरो भेट भौतिक हिसाबले अन्तिम रह्यो । त्यसपछि हामी बीच म्यासेन्जरमा कुराकानी हुन्थ्यो ।
गत साउन ६ गते गुरु पूर्णिमाको दिन विहान मैले उहाँलाई गुरु पूर्णिमाको नमन गरी सन्देश पठाएको थिएँ । उहाँले थ्याङ्क यु भनेर रिप्लाई दिनुभएको थियो । मन खुसी भएको थियो । कहिले काहीँ एउटा सानो शब्दले पनि मन प्रफुल्ल र आनन्दित हुन्छ । मलाई उहाँको थ्याङ्क यु भन्ने शब्दले यस्तै भयो । त्यसपछि मेरो उहाँसँग २६ अगस्ट २०२४ अर्थात गत भदौ १० गते श्री कृष्ण जन्मअष्टमीको विहान ७.२९ वजे मैले सर कस्तो छ हजुरलाई ? भनेर म्यासेज गरे, उहाँले रगतको कमीले थप उपचार भाछैन भनेर रिप्लाई गर्नु भयो । त्यसपछि ब्लड निड भएको हो भनेर मैले सरलाई सोधे तर रिप्लाई आएन । फोन गरेर उहाँको उपचारमा वाधा दिन मैले केही अगाडिदेखि नै छोडेको थिएँ ।
उहाँले अन्धोपन निवारणका लागि नेत्र ज्योति संघ कास्कीमार्फत गर्नु भएको योगदानको उच्च मूल्यांकन गर्दै आई केयर फाउन्डेसनको स्थापना दिवसमा उहाँलाई सम्मान गर्ने भनी आई केयर फाउन्डेसनका कन्ट्री डाइरेक्टर अनिल गोर्खाली संग सल्लाह भए अनुसार उहाँलाई सम्मान गर्ने निर्णय भयो । त्यसपछि मैले उहाँलाई उहाको म्यासेन्जरमा २७ अगस्टमा ‘सर हजुर एकछिन् उपस्थित हुन सक्नु हुन्छ सम्मानका लागि’ भनेर म्यासेज गरेँ । मेरो दुईवटा म्यासेजको उत्तर अब कहिल्यै नाआउने गरेर सर जानुभयो ।
बेला, बखत उहाँसँग भएको म्यासेन्जरको वार्तालाप हेर्छु, म्यासेज लेख्न मान लाग्छ सर तपाई कता जानु भयो ? किन हतारमा प्रस्तान गर्नु भयो? तर मृत्युलाई स्वीकार गर्नुबाहेक मसँग अर्को विकल्प छैन । पत्यारै लाग्दैन उहाँ यो संसार छोडेर जानुभयो भनेर कतै ए सुरेन्द्र ! नेत्र ज्योति संघको हालखबर के छ भनेर सोधे झै लाग्छ । यो भ्रममात्र हो । कहिले काहीँ भ्रममा बाँच्नुको पनि बेग्लै संसार हुनुहुँदोरहेछ । मृत्यु शास्वत सत्य हो । मृत्यु पछिको जीवन हुन्छ, हुँदैन मलाई थाहा छैन । थाहामात्र होइन पत्यार पनि लाग्दैन । मेरो जीवन प्रतिको दृष्टिकोण यो भौतिक शरीर अस्तित्वमा रहँदासम्म हाम्रो जीवन हो । आफन्त हुन्, नाता गोता हुन् । मृत्युपछि कुनै अर्को रहस्यमय जीवन छ जस्तो मलाई लाग्दैन । भन्न त पूर्वीय दर्शले नास भएर जाने शरीर, नास नहुने आत्मा भन्छ । आत्मा कहिल्यै मर्दैन भन्छन् ।
आत्मा नमर्ने हो भने गुरुङ सर हामी माझ नै हुनुहुन्छ । यो एउटा चित्त बुझाउने वाटो पनि हो । ‘बुद्ध भन्नुहुन्छ जीवन रहँदा नै निर्वाण प्राप्त गर । अर्कोतर्फ हाम्रो पूर्वीय दर्शनले मरिसकेपछिको स्वर्गको कल्पना गरेर मृत्युपछिको निर्वाणलाई महत्व दिइएको छ । डढेर गएको खरानी र सडेर गएको हाड मासुले निर्वाण कसरी पाउँछ कुन्नि ? विधाताले हामीलाई तीन चिज रहस्यमा छोडेका छन रे । मान्छे कहिले ? कसरी? कहा मृत्यु हुन्छ थाहा हुँदैन रे । गुरुङ सरको हकमा पनि यो नियम लागुभयो । उहाँलाई रोगले समातेको छोटो समयमा नै हामीलाई छाडेर जानुभयो । त्यही प्रकारको रोग लगेका मान्छेहरु लामै समय वाँचेका प्रसस्तै उदाहरण छन् तर उहाँ हतारिएर जानुभयो । उहाँको हतारको प्रस्थानले हामीलाई सदैव नमिठो झस्का दिइरहनेछ ।
उहाँ जति बाँच्नु भयो सार्थक जीवन बाँच्नुभयो । रोग लाग्नुअघिको उहाँको सक्रियता समाजको लागि हितकारी रह्यो । कानुन व्यवसायीको क्षेत्रमा गुरुङ सर निष्ठाको एउटा प्रतिक हुनुहुन्थ्यो । यो क्षेत्रमा अनेक विकृति र विसंगती छन् भनेर ढुक्क भन्न सकिन्छ । उहाँले मुद्दा ल्याउन, बिचौलिया राख्नुभएन । मुद्दा जित्न घुस खुवाउन र भनसुन गर्नु भएन । विकृति विसंगति विरुद्ध सधै डटेर मुकाबिला गर्नुभयो । चाकडी, चापल्लुसी गर्ने उहाँको कहिल्यै बानी परेन ।
बरु मुखमा आएको कुरा प्याच्च बोल्दा कतिपय बेलामा उहाँलाई नै अप्ठेरो परेको महसुस हामीले बेला बखत गर्ने गथ्र्याै । उहाँको निधनमा परिवारले एउटा पति/पिता गुमाएको छ भने यस क्षेत्रका संघसंस्थाले एउटा निस्वार्थ सामाजिक अभियन्ता गुमाएको छ । हामीले अन्धोपन निवारणका लागि दिनरात खट्ने एउटा होनाहार, असल व्यक्ति गुमाएका छौँ । यस दुखद घडीमा भन्न मन लाग्छ ‘गुरुङ सर तपाईं साच्चै नआउने गरेर गएको हो ?’
तपाईको प्रतिक्रिया