कम्युनिष्टहरूका प्रिय गीतकार
युजें पोत्तर संसारभरका कम्युनिष्टले गाउने अन्तराष्ट्रिय गीतका लेखक हुन् । यो गीत सम्भवतः साम्यवादी गीतहरूमा सबभन्दा शक्तिशाली रहेको छ । पेरिस कम्युनको हत्याको अन्तिम हप्ता अर्थात् ‘ब्लडी विक’ (जसमा ३० हजारभन्दा बढी कम्युनिष्टहरूको हत्या गरिएको थियो)को चार हप्तापछि जुन १८७१ मा गुप्त रूपमा उनले यो गीत लेखेका थिए । यो गीतपछि गएर संसारभरका क्रान्तिकारी श्रमिक वर्गको अन्तर्राष्ट्रिय गीत बन्यो ।
अन्तर्राष्ट्रिय गीत अन्तर्राष्ट्रियतावादी क्रान्तिकारी संघर्षको आव्हान हो । यो गीत क्रान्तिको एक प्रवाह हो, जसलाई रोक्न सकिंदैन । उनको मृत्युपछि सन् १८८८ मा बेल्जियमका संगीतकार एवं कम्युनिष्ट कार्यकर्ता पियरे डे गेटरले यसमा संगीत भरेका थिए । फ्रान्सेली वर्कर्स पार्टीका गायक मण्डलका ला लिरे डेस ट्रेभेलर्सले यो गीतलाई प्रकाशित गराएका थिए ।
सन् १८९६ मा उत्तरी फ्रान्सेली सहर लिलेमा फ्रान्सेली वर्कर्स पार्टीको १५ औं महाधिवेशनमा पहिलो पटक यो अन्तर्राष्ट्रिय गीत गाइएको थियो । सन् १९१० मा कोपनहेगनमा भएको अन्तर्राष्ट्रिय समाजवादी महाधिवेशनपछि यसलाई कम्युनिष्ट अन्तर्राष्ट्रिय गीतको रूपमा अपनाइएको थियो ।
अन्तर्राष्ट्रिय गीत प्रायः सबै भाषामा अनुवाद गरिएको छ । यो गीतले एक स्वतन्त्र र सामान्य भूमिको विजयका लागि श्रमिकहरूलाई एकताबद्ध हुन आव्हान गर्दछ । त्यसैगरी यसले पुँजीपति र अपराधीहरूले भरिएको राज्य प्रणालीलाई घृणा गर्दछ र त्यसको विरुद्ध सम्पूर्ण श्रमिकहरू एकजुट भएर लड्नको लागि आव्हान गर्दछ । लेनिनका अनुसार ‘कुनै पनि वर्गसचेत श्रमिक जुनसुकै देशमा पुगे पनि, परिस्थितिले उसलाई जहाँसुकै पुर्याए पनि भाषाविहीन, दृष्टिविहीन, आफ्नो देशभन्दा टाढा उसले आफूलाई विरानो ठाने पनि, अन्तर्राष्ट्रिय गीतको माध्यमबाट उसले आफ्नो लागि साथी र मित्र खोज्न सक्दछ ।’
अहिले यो गीत संसारका प्रसिद्ध गीतमध्येको एक हो । यसलाई संसारका वामपन्थी र कम्युनिष्टहरूले कुनै पनि महत्वपूर्ण कार्यक्रम हुनुअघि सबै मिलेर एकसाथ गाउने गर्दछन् । पोत्तर एक श्रमिक कवि हुन् । उनी एक महान कवि हुन् तर उनको कवित्व अज्ञात रूपमा छायाँमा परेका थिए ।
उनको जन्म सन् १८१६ को ४ अक्टुवरमा पेरिसमा एक गरिब परिवारमा भएको थियो । उनको सम्पूर्ण जीवन सर्वाहारा भएर नै बित्यो । उनले आफ्नो पहिलो गीत ‘भिभे लिबर्टे’ (स्वतन्त्रता अमर रहोस् !) सन् १८३० को जुलाइ क्रान्तिको जवाफमा लेखेका थिए । यही बेलामा उनले गीतहरूको संग्रह ‘द योङ म्युज’ प्रकाशित गरेका थिए । उनले सन् १८४८ को क्रान्तिमा पनि भाग लिएका थिए ।
उनी एक पसलमा सामान प्याक गर्ने कर्मचारी र पछि एक कपडाको नमूना बनाउने काममा लागेका थिए ।
उनका गीत तथा कविता पेरिसका श्रमिक वर्गको बीचमा प्रसिद्ध थिए । उनी ‘प्रथम अन्तर्राष्ट्रिय’ का सदस्य पनि थिए । सन् १८४८ पछि भएको सबै क्रान्तिकारी घटनाक्रममा पोत्तरले आफ्ना क्रान्तिकारी गीतहरूमार्फत् शोषित जनताहरूको साथ दिइरहे । अत्याचारका बिरूद्ध मजदूरहरूलाई एकताबद्ध हुन आव्हान गरिरहे ।
पोत्तरको जीवनमा सबभन्दा महत्त्वपूर्ण अवधि सन् १८७१ को पेरिस कम्युनको समयमा शुरु भयो । उनले जर्मन सैनिकहरुको विरूद्धमा पेरिस कम्युनको रक्षामा भाग लिएका थिए । उनी राष्ट्रिय गार्ड्सको केन्द्रीय सदस्य पनि थिए । उनी पेरिस कम्युनको परिषदको चुनावमा अरूको भन्दा धेरै भोट प्राप्त भएर विजयी भएका थिए ।
त्यस बेला उनले एक क्रान्तिकारी र भौतिकवादी विश्व दृष्टिकोणको लागि काल्पनिक समाजवादका विचारहरूलाई त्यागिदिएका थिए र उत्पीडित तथा गरीबहरूको एक क्रान्तिकारी सर्वहारा वर्गका कवि तथा गीतकार भएका थिए । कम्युनका आयोजकमध्ये एक रहेका पोत्तरले ब्यारिकेड्समा लडाइँ लडे । कम्युनको असफलतापछि उनी भागेर ब्रिटेन र पछि संयुक्त राज्य अमेरिका गएका थिए र निर्वासनमा रहेका थिए ।
अमेरिकामा बस्दा उनले ‘द वर्किङमेन अफ अमेरिका टु द वर्किङमेन अफ फ्रान्स’ (१८७६, अंग्रेजी), ‘द पेरिस कम्युन’ (१८७७) र ‘द वर्कर्स पार्टी’ (१८७८) गरी तीन वटा कथात्मक कविताहरू लेखेका थिए । सन् १८८० मा पोत्तर फ्रान्स फर्किएर ‘वर्कर्स पार्टी’ मा सामेल भएका थिए । सन् १८८४ मा उनले सामाजिक–आर्थिक कविताहरू र समाजवादी क्रान्तिकारी गीत तथा कुनचाहिँ पागल मानिस हो ? जस्ता कवितासंग्रह प्रकाशित गराएका थिए ।
उनको क्रान्तिकारी गीतहरूको संग्रह सन् १८८७ मा प्रकाशित भएको थियो । यी प्रकाशनमा उनका सर्वश्रेष्ठ गीत र कविताहरू सामेल छन् । उनका धेरै रचनाहरू उनको मृत्युपछि प्रकाशित भएका थिए ।
यो संसारका प्रसिद्ध गीतमध्ये पर्छ । पोत्तर १८१६ मा पेरिसको गरिब परिवारमा जन्मिएका थिए र जीवनभर सर्वहारा रहे
सन् १८८६ मा पेरिसमा बस्नका लागि पोत्तर फर्किएका थिए र सन् १८८७ नोभेम्बर ६ मा गरिबीकै कारण उनको मृत्यु भएको थियो । ८ नोभेम्बर १८८७ मा पेरिसका मजदूरले युजें पोत्तरको अवशेषलाई पेरे लाशेजको त्यो चिहानमा दबाउनको लागि लिएर गएका थिए, जसमा कम्युनार्डहरू (कम्युनका वीरहरू) को अवशेषहरूलाई दबाइएको थियो ।
शवयात्राबाट रातो झण्डा खोस्ने कोशिसमा पुलिसले भीडमाथि बर्बर आक्रमण गरेको थियो । उनको शवयात्रामा नगरका विशाल जनसमुदायले भाग लिएका थिए । सबै दिशाबाट पोत्तर अमर रहून् ! को नारा गुंजिरहेका थिए । उनका रचनाहरूमा गीत र कविता एकसाथ आउँथे । उनी श्रमिक वर्गको पीडा, क्रोध र आत्मविश्वासको सञ्चार गर्नमा समान रूपले कार्य गर्दथे । उनी किताबभन्दा पनि बढी सडकसँग जोडिएका थिए । उनी सामूहिक आवाज र विद्रोहका विष्फोटक आवाजहरू फैल्याउँथे । उनमा पर्खाल र ब्यारिकेड्समा अटुट रूमपा खडा हुने शक्ति थियो ।
उनी कागजमा भन्दा पनि सडकमा क्रान्तिका आवाजहरू लेख्ने गर्दथे र पीडा एवम् परिश्रमको जीवनलाई हृदय छुनेगरी चित्रित गर्न सक्षम थिए । गरिबीले भरिएका लोकप्रिय कविताहरूको नयाँ क्षेत्र बनाएका पोत्तरको जीवन आफैंमा क्रान्तिको एक महान गाथा थियो । उनका गीत र कविताहरूमा पौराणिक परिदृश्यहरू र व्यक्तिवादी बुर्जुवा सपनाहरूको तुलनामा एक अलग्गै संसारको आव्हान हुन्थ्यो । उनी बादलमाथि नबसेर सडकमा र गरीबहरूको सडकमा बस्दथे ।
उनले पेरिसको कम्युनको हत्यापछि ‘खुनी सप्ताह’बाट बचेका व्यक्तिहरूका लागि यसरी लेखेका थिएः
उनीहरूले घाइतेहरूलाई अस्पतालको विस्तारामा मारे,
र, रगतको बाढी तन्नाहरू हुँदै
ढोका मुनि बग्यो ।
तर यीमध्ये कसैले केही बदल्दैनन्,
निकोलस,
किनभने कम्युन मरेको छैन !
एउटा अर्को कवितामा उनी दाँतेलाई भन्छन्, तिमी कहिल्यै नर्कमा गएनौं, आउ र जनताको दृष्टिबाट हेर, यो यही हो । उनी पूँजीपति वर्गलाई गिद्धहरू, मानव मासु खानेहरूको रूपमा हेर्दछन्ः
म मानिसको प्राचीन भक्षक हुँ
सबैले समाजको रूप धारण गर्यो
हेर, मेरा हात रगतले राता भएका छन्
हेर, मेरा आँखामा वासनाका इन्जेक्सन छन्
मेरा माँदमा धेरै कुना छन्
माँसु र हाडहरूले भरिएका
आउ र हेर ! मैले तिम्रो पितालाई खाएको छु
र, पछि म तिम्रा बच्चाहरूलाई खानेछु ।
(‘द क्यानिवल’ नरभक्षी)
पेरिसमा श्रमिक वर्गको एउटा ठूलो हिस्सा कृषि पेसाबाट बेदखल गरिएका प्रवासी थिए । उनको अर्को एउटा कविताः
कम्युन एक बिजुलीको चमक हो,
र, पेरिसलाई यसमाथि गर्व हुन सक्दछ
यो चिन्तित संसारलाई यसको पाउडरको गन्ध आउँछ
बिल्कुल त्यसरी नै जसरी हिजैको कुरा हो
पराजित, आफ्नो प्रतिशोधको प्रतीक्षामा
कम्युन त्यहाँबाट गुज्रिसकेको छ !
लडाइँले सडकलाई खाली गरिदिएको छ
र, नष्ट भइसकेका बटालियनहरू;
समानताले हलोलाई काममा ल्याउँदछ
गहिरो घाउको हृदय खन्नको लागि
यो एक धेरै ठूलो नरसंहार थियो
तर हरेक ठाउँमा रगत बग्यो
हामी बीजको अंकुरण देख्दछौं..
कम्युन त्यहाँबाट गुज्रिसकेको छ !
आउनुहोस् निस्क्रिय वर्गलाई हटाइदियौं
कम्युन त्यहाँबाट गुज्रिसकेको छ !
(‘कम्युन त्यहाँबाट गुज्रिसेको छ’)
धर्मको स्थानमा शोषितहरूको आफ्नो शक्तिमाथि भरोसा हुनु जरूरी थियो । उनको अर्काे कवितांश यस्तो छः
परम पवित्र त्रिमूर्ति, यो तिमी नै हौ, जो हामीलाई लुट्छौं !
पुजारी, साहुजन, ठग, पृथ्वीमा तीन व्यक्तिहरूमा
झुट, चोरी र हत्या नै ईश्वर हुन्
‘तीन व्यक्तिहरू’ हुन् धर्म, सम्पत्ति र व्यवस्था । यहाँ ‘द क्यानिबल’ (नरभक्षी) का केही अरू पंक्ति दिइएका छन्ः
म बुढो नरभक्षी हुँ
समाजको रूपमा तयार
मेरो अनुहारमा दुइवटा नकाव छन्
परिवार र सम्पत्ति ।
कम्युनिस्ट अन्तर्राष्ट्रिय गीत
उठ, जाग, हे ! भोकानांगा, जाग संसारका दुःखी
सुन्दर संसार रचना गर्न, न्यायको लागि गर्जी
बाध्ने छैन परम्पराको साङ्लोले जाग, ए श्रमिक हो !
नयाँ जगमा पृथ्वी उठ्ने छ र सारा संसार हाम्रो हुनेछ
यो अन्तिम युद्ध हो, आ–आफ्नो ठाउँमा डटौं
अब मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ
यो अन्तिम युद्ध हो आ–आफ्नो ठाउँमा डटौं
अब मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ ।
तिनको अदालतबाट शासित हुन हामी चाहन्नौं
तिनको कृपालाई कुल्चदैँ बरु सबै भई सल्लाह गरौं
लुटाहाबाट आफ्नो धन खोस्न, शोषणबाट मुक्त हुन
आफ्नो कर्तव्य आफैंले, निर्णय गरी पूरा गर्न
यो अन्तिम युद्ध हो…
ज्यामी, खेताला एक भई आऊ श्रमिकहरुको संघमा
धर्ती हामी श्रमिकको हो, होइन जालीझेली काँतरको
मोटाए यी कयौं हाम्रो रगत मासुले तर ती हत्यारा
कुनै बिहान नष्ट हुनेछन् र उज्यालो रहिरहनेछ ।
यो अन्तिम युद्ध हो…
तपाईको प्रतिक्रिया