एसओएस गण्डकीमा ६० औँ राष्ट्रिय बालदिवस

समाधान संवाददाता २०८१ भदौ ३१ गते १५:५८

पोखरा ।
पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा ६० औँ राष्ट्रिय बालदिवस मनाइएको छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने राष्ट्रिय नारालाई आत्मसात् गर्दै विद्यालयको प्रांगणमा आयोजित एक विशेष समारोहका बीचमा उक्त दिवस मनाइएको हो ।

Advertisement

गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सभापतित्व विद्यालयमा क्रियाशील एसओएस बाल क्लबका अध्यक्ष अश्विन चिलवालले गरेका थिए ।


बालदिवसका उपलक्ष्यमा विद्यार्थीहरूमा अन्तर्निहित अतिरिक्त क्षमता उजागर गर्ने उद्देश्यले प्राथमिक तहका विद्यार्थीहरूका बीचमा प्रतिभा प्रस्फुटन कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले बताए । एसओएस गण्डकीले यस वर्ष हासिल गरेको उत्कृष्ट नतिजाका बारेमा संक्षिप्त प्रकाश पार्दै विद्यालयले प्राप्त गरेको यो उचाइलाई कायम राख्न आगामी दिनमा विद्यालय थप उत्साहका साथ लाग्ने पनि प्रधानाध्यापक सुवेदीले जानकारी दिए ।

Advertisement


प्रतियोगितात्मक र अप्रतियोगितात्मक गरी कार्यक्रम २ चरणमा विभाजन गरिएको थियो । कक्षा नर्सरीदेखि दुईसम्म अप्रतियोगितात्मक तथा कक्षा तीनदेखि माथि प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विद्यालयका बालबालिकाहरूले एकल तथा सामूहिक गायन, नृत्य, अभिनय, कविता–वाचन, नाटिका आदिजस्ता कलाप्रस्तुतिहरू प्रदर्शन गरे ।

कार्यक्रममा कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरूको एउटा समूहले स्वस्तिवाचन पनि गरेका थिए । त्यसै गरी कार्यक्रममा अर्णव सापकोटाले शास्त्रीय शैलीको ताण्डव नृत्य प्रस्तुत गरी सबैलाई मन्त्रमुग्ध तुल्याइदिए भने कक्षा ५ का विद्यार्थीहरूले ‘ऐँचोपैँचो’ र ‘लागुपदार्थ दुव्र्यसनी’ शीर्षकका दुई नाटक प्रस्तुत गरी दर्शकको मन खिचे ।

Advertisement


विद्यार्थीहरूद्वारा प्रस्तुत प्रतियोगितात्मक सांगीतिक प्रस्तुतिको मूल्यांन हिमाली सांस्कृतिक परिवारका सल्लाहकार गम्भीर बर्देवा, सङ्गीतकार संस्कार गौतम तथा हिमाली सांस्कृतिक परिवारकी सदस्य एवम् नृत्यनिर्देशक सजिना गुरुङले गरेका थिए ।

प्रतियोगितात्मक कार्यक्रममा कक्षा ५ का प्रज्ञान बरालले प्रथम, कक्षा ४ की एन्नी शाहीले द्वितीय, अनमोलरत्न मगरले तृतीय तथा अञ्जु चेपाङले सान्त्वना स्थना हासिल गरेका थिए । विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथि टकराज गुरुङ, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीद्वारा नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो ।


गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङले बालबालिकाहरूको आधारभूत अधिकार संरक्षणका लागि सबै पक्ष संवेदनशील हुनुपर्ने बताए । अनाथ, असहायदेखि समाजका अन्य बालबालिकाहरूको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण योगदान दिँदै आइरहेको एसओएस गण्डकीलाई आगामी दिनमा प्रदेश सरकारले उपलब्ध गराउँदै आइरहेको आर्थिक सहयोगमा थप वृद्धि गर्दै लैजाने प्रतिबद्धता पनि मन्त्री गुरुङले व्यक्त गरे ।


बाल दिवस समारोहमा एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य, पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य मन्दिरा परियार, अर्थमन्त्रीका स्वकीय सचिव विष्णु ढकाल, एसओएस युवालय गण्डकीका निर्देशक बाबुराम बराल, विद्यालयका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन गण्डकी एकाइका अध्यक्ष मिलन खत्री, एसओएस बालग्राम गण्डकीकी आमा प्रतिनिधि पार्वती पाण्डेलगायतका व्यक्तिहरूको उपस्थिति थियो ।


कक्षा ९ का छात्राद्वय स्मारिका न्यौपाने र नेरिन बराल तथा कक्षा ११ का छात्राद्वय सजनी लामिछाने र स्वेच्छा पौडेलद्वारा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण विद्यालयमा क्रियाशील बाल क्लब र रेडक्रसमा आवद्ध विद्यार्थीहरूले गरेका थिए ।

तपाईको प्रतिक्रिया