राष्ट्रिय शिक्षा दिवस मनाइयो

समाधान संवाददाता २०८१ असोज १ गते १२:०६

पोखरा ।
जिल्ला शिक्षा समिति कास्की र शिक्षा विकास तथा समन्वय इकाइ कास्कीको संयुक्त आयोजनामा राष्ट्रिय शिक्षा दिवस २०८१ मनाइएको छ ।

Advertisement


समारोहमा कास्की जिल्लाबाट एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको जिल्ला शिक्षा समिति कास्कीका संयोजक लीलाधर पौडेलले जानकारी दिए । कार्यक्रममा वार्षिक प्रकाशन शैक्षिक दर्पणसमेत विमोचन गरिएको छ ।


कार्यक्रममा प्रतिनिधि सभाका सदस्य दामोदर पौडेल बैरागीले शिक्षालाई सकारात्मक संस्कारसँग जोडेर व्यवहारिक र गुणस्तरीय बनाउन सबैको प्रयास केन्द्रीकृत गर्नुपर्ने बताए ।

Advertisement

‘संसारको जुनसुकै कुनामा पुगे पनि बिक्न सक्ने अब्बल जनशक्ति उत्पादन गर्न समयसापेक्ष र प्रतिस्पर्धी पाठ्यक्रमको विकास गर्नुपर्छ,’ उनले भने, ‘दक्ष जनशक्ति, व्यवसायिक र प्राविधिक शिक्षा प्रदान गर्नका लागि समयसापेक्ष नीति आवश्यक छ ।’


उनले विद्यालय शिक्षा ल्याउने क्रममा संसदीय समितिमा छलफल भइरहेको जानकारी दिए । जिल्ला समन्वय समितिका कास्कीका प्रमुख लीलाधर पौडेलले संघीय सरकारको निर्णय बमोजिम शिक्षा दिवस सप्ताहव्यापी रुपमा मनाएको बताए ।

Advertisement

कार्यक्रममा गण्डकी प्रदेशका सदस्यद्वय गणेशमान गुरुङ र प्रकाश बराल, गाउँपालिका महासंघ गण्डकी प्रदेशका अध्यक्ष नवराज ओझा, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव तोयनाथ लम्साल, शिक्षा विकास निर्देशनालय गण्डकीका निर्देशक अम्बिकाप्रसाद आचार्य, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, शाखा अधिकृत भरतराज बराल, पेशागत शिक्षक संघ संगठनको तर्फबाट मणिराम कँडेल लगायतले शिक्षा दिवसबारे बोलेका थिए ।


समारोहमा विभिन्न विद्यालयका विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । संघ सरकारले ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ यस वर्षको शिक्षा दिवसको आदर्श वाक्य निर्धारण गरेको छ ।

तपाईको प्रतिक्रिया