समाधानको अनलाइन सम्पादकमा कोइराला र पत्रिकामा लामिछाने
ढुंगाना व्यवस्थापक नियुक्त
पोखरा ।
समाधान मिडिया प्रालिद्वारा सञ्चालित समाचारमूलक अनलाइन समाधानन्युज डटकमको सम्पादकमा भरत कोइराला नियुक्त भएका छन् । मिडिया व्यवस्थापनले मंगलबार कोइरालालाई अनलाइनको सम्पादक नियुक्त गरेको हो ।
अनलाइन न्युजपोर्टललाई अझै परिस्कृत रुपमा अगाडि बढाउने र सशक्त पत्रकारिता गर्ने गरी कोइरालालाई सम्पादकीय जिम्मेवारी सुम्पने निर्णय व्यवस्थापनले गरेको प्रधान सम्पादक रामकृष्ण ज्ञवालीले बताए । उनले कोइरालाको नेतृत्वमा समाधानन्युज डटकमले पत्रकारिता क्षेत्रमा विशेष पहिचान स्थापना गर्ने विश्वास पनि व्यक्त गरे ।
कोइराला यसअघि आदर्श समाज दैनिकको सम्पादक र त्यसअघि समाधान दैनिककै कार्यकारी सम्पादक थिए । २०५८ सालदेखि काठमाडौंबाट अन्नपूर्ण पोस्ट दैनिकमार्फत पत्रकारिता सुरु गरेका कोइरालाले दि हिमालयन टाइम्सको गण्डकी ब्युरो प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्षसमेत रहेका कोइराला लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर र भद्रकाली माविमा पत्रकारिता पढाउँछन् ।
मिडिया व्यवस्थापनले समाधान दैनिकको सम्पादकमा केशवशरण लामिछानेलाई नियुक्त गरेको छ । २०५७ सालमा पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गरेका उनी समाधान दैनिककै समाचार सम्पादकको भूमिकामा थिए । उनीसँग अन्नपूर्ण पोस्ट दैनिकको गण्डकी ब्युरो प्रमुख, नागरिक दैनिकको गण्डकी ब्युरो प्रमुख र समय साप्ताहिकको पोखरा प्रतिनिधि, नेपाल समाचारपत्र दैनिकको पोखरा संवाददाता, बिबिसी मिडिया एक्सनमा संवाददाता र पोखरा एफएमको समाचार संयोजक भएर पत्रकारिता गरेको अनुभव छ । लामिछाने गण्डकी विश्वविद्यालयमा मिडिया र लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पत्रकारिता पढाउँछन् । कोइराला र लामिछानेले आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् । दुवैले आफूहरुको अध्ययन र अनुभवलाई सयमानुकुल पत्रकारितामा लगाउने बताए । सामाजिक सञ्जालहरूमा मिथ्या सूचनाको बाढी आइरहेको समयमा व्यावसायिक पत्रकारिताको हस्तक्षेपकारी भूमिकाको खाँचो उनीहरुले औंल्याए ।
त्यसैगरी समाधान मिडियाले समाधानन्युज डटकमको व्यवस्थापकमा महेन्द्र ढुंगानालाई नियुक्त गरेको छ । ढुंगाना यसअघि ढोरपाटन दैनिकसँग आवद्ध थिए । कान्तिपुर दैनिकको पोखरा कार्यालयमा रहेर विज्ञापन बजार हेरिसकेका ढुंगाना त्यसअघि समाधान दैनिकमा नै कार्यरत थिए ।
तिनैजनालाई स्वागत गर्दै प्रधान सम्पादक ज्ञवालीले बधाई र शुभकामना व्यक्त गरे । अनुभवी र परिपक्क सम्पादक तथा व्यवस्थापकको नियुत्तिले पत्रकारितामा पछिल्लो समय देखिएका चुनौती सामना गर्दै अघि बढ्न सफलता मिल्ने विश्वास प्रधान सम्पादक ज्ञवालीले व्यक्त गरेका छन् ।
२०५९ साल असोज १ गतेबाट प्रकाशन सुरु भएको समाधान दैनिक मंगलबारदेखि २३ औं वर्ष प्रवेश गरेको छ । गण्डकी प्रदेशको एकमात्रै रंगीन र क वर्गको पत्रिकाको भगिनी संस्था समाधानन्युज डटकम २०७२ सालदेखि सुरु भएको हो ।
तपाईको प्रतिक्रिया