
पोखरा ।
पोखरा देशकै ठूलो महानगरमात्र होइन, गण्डकी प्रदेशको राजधानीसमेत हो । तर, गण्डकी प्रदेशबासीलाई क्यान्सर देखा परे काठमाडौं, भक्तपुर, भरतपुर या भारत जानुपर्ने वाध्यता छ ।
नेपालमा बर्सेनि लाखौं मानिस यो रोगकै कारण मृत्युको मुखमा पुग्छन् । यसैलाई मध्यनजर गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले क्यान्सर उपचारको सेवा विस्तार गरेको छ । अस्पतालबाटै अब किमोथेरापीसहितको उपचार दिइनेछ ।
क्षेत्रीय अस्पतालले मंगलबार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरसँग सम्झौता गरेको छ । पोखराबाटै क्यान्सर उपचार गर्ने र बिरामीलाई पोखराबाटै सेवा दिने उद्देश्यका साथ क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल र क्षेत्रीय अस्पतालका निर्देशक प्राडा भरत बहादुर खत्रीबिच विस्तारित सेवा सञ्चालन गर्ने सम्झौता भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको रोहबरमा ‘क्यान्सर उपचार सेवा विस्तार गर्नेसम्बन्धी कार्यविधि २०८१’ अनुसार सम्झौता भएको हो ।
निर्देशक खत्री अहिलेसम्म अस्पतालले क्यान्सर चेकजाँच र सामान्य उपचारमात्रै हुने गरेको बताउँछन् । यो सम्झौतासँगै भरतपुर अस्पतालका डाक्टरहरुले उपचारका लागि उपलब्ध पूर्वाधार, औजार उपकरण र जनशक्ति परिचालन गर्नुपर्नेछ । क्यान्सर अस्पतालको मेडिकल टिम पोखरा आएर सेवा दिनेछ ।
त्यसबापत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले आवश्यक बजेट व्यवस्था गर्नुपर्ने छ । यो टिमले महिनाको कम्तीमा एक पटक सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था छ । आवश्यक परेको खण्डमा जति पनि गर्न सक्ने उल्लेख छ । विस्तारित सेवामा बहिरंग, अन्तरंग एवं उपचारसमेत समेटी सेवा दिने सम्झौता भएको हो । सेवाको गुणस्तरको लागि दुवै पक्ष जिम्मेवार हुनुपर्ने छ ।
क्षेत्रीय अस्पतालका निर्देशक खत्रीले अब अस्पतालमा रेडियोथेरापी विस्तार गर्नुपर्ने चुनौती थपिएको जनाए । उनले सेवा विस्तारमा बजेटकै कारणले प्रभाव पारिरहेको सुनाए । ‘बच्चालाई क्यान्सर हुँदा यहाँबाटै उपचार हुन्थ्यो । तर, ठूलाको हकमा रिफर गर्नुपर्ने बाध्यता थियो ।
अब सम्झौताले अस्पतालको गुणस्तरमा पनि वृद्धि हुन्छ भन्ने लागेको छ,’ प्राडा खत्रीले भने । क्यान्सर अस्पतालका निर्देशक डा पौडेलले अहिले आफूहरु सेवा विस्तार र जनशक्ति उत्पादनमा लागेको बताए । पोखरा र गण्डकी प्रदेशका बिरामी अन्यत्र जानुनपर्ने गरी सेवा दिने लक्ष्य लिन उनको आग्रह छ ।
उनले भने, ‘मन्त्रीज्यूको निर्णय लागू गर्ने क्रममा हामी पोखरासम्म आयौं । यसलाई यहाँका बिरामी अन्यत्र जानुनपर्ने गरी अस्प्तालले लक्ष्य लिनुपर्छ । त्यसमा साथ दिन हाम्रो टिम तयार छ ।’
स्वास्थ्य मन्त्री पौडेलले गएको साउन २७ गते सार्वजनिक गरेको निर्णय अनुरुप क्यान्सर उपचार सेवा विस्तार गरिएको बताए । उनले सातै प्रदेशमा क्यान्सर उपचार विस्तार भएकोमा खुसी व्यक्त गरे । यसअघि बागमती प्रदेश अन्र्तगत भक्तपुर, भरतपुर तथा लुम्बिनीको नेपालगञ्जमा रहेको क्यान्सर उपचार सेवा दुई महिनाको अवधिमा थप पाँच थप हुँदै ७ वटै प्रदेशमा पुगेको उनले बताए । मन्त्री पौडेलले अबको चरणमा मानव अंग प्रत्यारोपण तथा मुटुको उपचार सेवासमेत विस्तार हुने उल्लेख गरे । ‘क्यान्सरसँगै मानव अंग प्रत्याारोपण र मुटु उपचार सेवासमेत विस्तार गर्ने मेरो नीति छ,’ उनले थपे
‘१०० दिनमा १५ बेड आइसियु थप्छौं’ ।
स्वास्थ्य मन्त्री पौडेलले अबको १०० दिनमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १५ बेडको आइसियुसहितका सुविधा थप गर्ने वाचा गरेका छन् । उनले पश्मिाञ्चल क्षेत्रीय अस्पतालमा एमबिबिएस यसै वर्षबाट सुरु हुनेमा त्यसलाई स्रोत, साधनयुक्त बनाइनुपर्नेमा जोड दिए । अस्पतालमा १ सय ५० जनालाई एमबिबिएस पढाउन आफूले चाहे पनि विभिन्न स्रोत र साधनको कमी हुँदा अहिलेलाई ५० जनाबाट सुरु गर्न लागिएको उनको भनाइ छ । ‘एमबिबिएस निशुल्क पढाउनुपर्छ भन्ने मेरो चाहना हो । तर, पनि यो सुरुवाती चरणमा एकदमी गाह्रो हुँदो रैछ । स्रोतको कमी नै प्रमुख हो । कुल विद्यार्थीको ७५ प्रतिशत छात्रावृत्तिमा पठाउनुपर्छ भन्ने मेरो चाहना छ,’ उनले भने, ‘तर, राज्यको आर्थिक अवस्था हेर्दा चाहनाले मात्र नहुँदो रैछ ।’
उनले अस्पतालले सबै सेवा अनलाइनमार्फत गर्नुपर्नेमा जोड दिए । अस्पतालमा बेडको संख्या, अप्रेसन विवरण, आइसियु, टिकट लगायतका सेवा पारदर्शी बनाउन उनको जोड छ । अस्पताल अनलाइन टिकेटिङको व्यवस्था गरे पनि त्यसरी टिकट काट्ने निकै कम छन् । कार्यक्रममा मन्त्री पौडेलले ३ सय बेडमाथिका अस्पतालमा एमबिबिएसप पढाइ सुरु गर्ने मन्त्रालयको योजनासुनाए । बिरामी निराश हुने गरी सेवा, सुविधा उपलब्ध भए देशको अवस्था अझै जटिल हुने उनको भनाइ छ । उनले आइन्दा ठूला सरकारी अस्पतालबाट रिफर भएर अर्को अस्पतालमा जानुपर्ने अवस्था अन्त्य गर्न निर्देशन दिए ।
‘यो अस्पतालमा आएपछि अरु अस्पताल जानुपर्ने र पठाउनुपर्ने बाध्यता हुनु हुँदैन । बरु अरु अस्पतालका बिरामी यहाँ आएर उपचार हुने गरी सेवा, सुविधा बढाउनुपर्छ,’ उनले भने । बिरामीले ३ महिनापछि पालो आउँछ भन्ने कुरा आफूले सुन्न नचाहेको उनले प्रष्ट गरे ।मन्त्री पौडेलले अब प्रत्येक नागरिकले योगदानमा आधारित भएर राज्यलाई स्वाथ्य कर तिनुपर्ने दिन आएको जनाए । स्वास्थ्य उपचारमा एकद्वार प्रणाली र लागत साझेदारीमा उनले जोड दिए । सरकारले ४८ सालयता स्वास्थ्यका क्षेत्रमा दरबन्दी थप र ठूलो लगानी नगरेको उनले स्वीकारे । अस्पतालले १ करोडको मेसिन किन्दा पनि भ्रष्टचार भएका हल्ला आउने गरेकोतर्फ इंगित गर्दै उनले सबै खरिद प्रक्रियालाई पारदर्शी बनाउन आग्रह गरे ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया