पाक्लिङमा भव्य बोन गुम्बा

सुन्दरकुमार थकाली २०८१ असोज ३ गते १०:५३

जोमसोम ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ पाक्लिङमा पर्यटक लोभ्याउने कलात्मक र भव्य बोन गुम्बा निर्माण भएको छ । मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्र तथा विदेशी दातृ संघ, संस्थाको आर्थिक सहयोगमा शेम्तेन थाग्यालिङ धार्मिक बोन गुम्बा एवं आध्यामिक अध्ययन केन्द्र परियोजनाले पाक्लिङमा कलात्मक बोन गुम्बा निर्माण गरेको हो ।

Advertisement


कलात्मक बोन गुम्बा धार्मिक पूजापाठसहित बुधबार उद्घाटन तथा प्राण प्रतिष्ठान गरिएको छ । गुम्बाको ३४ औं मेनरी मठाधीश लुङतोक धावा धाग्र्याल रिन्पोर्छे तथा मेनरी पोनलोव ठिनले ङिमा रिन्र्पोछे, गुम्बाका प्रमुख लामा खेन्पो छुल्डीम तेन्जिङ रिन्पोछे, मुस्ताङ संस्कृतिक तथा शिक्षा केन्द्रका अध्यक्ष गेसे सोनाम लगायतका लामाहरुको सहभागितामा धार्मिक अनुष्ठानसहित उद्घाटन भएको हो ।


संस्थाकी सचिव शर्मिला गुरुङले समारोहमा पूर्व सांसद तथा स्थानीय तहका जनप्रतिनिधि, समाजसेवी, शिक्षाप्रेमी र स्थानीयको उल्लेख्य सहभागि रहेको जनाइन् । गुम्बा उद्घाटन तथा प्राणप्रतिष्ठानपछि आयोजित कार्यक्रमा गुम्बा निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।

Advertisement


२१ करोडमा निर्माण भएको बोन वरपरबाट कालिगण्डकी करिडोर, सडकमार्ग र नीलगिरि र धौलागिरि हिमालको निकै मनमोहक दृश्य देखिन्छ । राष्ट्रिय गौरवको सडक मार्गबाट करिब २ सय मिटर पश्चिमतर्फको थुम्कोमा बोन गुम्बा निर्माण भएको हो ।


सडक मार्गबाट नियाल्दा निकै आर्कषक देखिने बोन गुम्बामा धार्मिक क्रियाकलापका साथै पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ । परियोजना अन्तर्गत फेज वानको कार्ययोजना अनुसार त्यहाँ साढे ३ तले धार्मिक बोन गुम्बा निर्माण भएको हो ।

Advertisement


परियोजना अन्तर्गत मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले त्यहाँका बोन गुम्बाका अलावा विभिन्न पूर्वाधार निर्माण गर्न फेज थ्रिसम्मको कार्ययोजना बनाएको छ ।


गुम्बाको सिभिल कन्ट्रक्सनको जिम्मा एमबी अमित जेभीले ११ करोडमा सम्झौता गरेको थियो । जसमा बोन गुम्बा, लामा निवास, पुस्तकालय, हल, किचन, प्रशासनिक कक्ष, पानी टंकी, गुम्बा परिसर, एप्रोज सडक लगायतको काम गरेको थियो ।


यसका अतिरिक्त बाँकी १० करोडबाट प्रशासनिक खर्च, मूर्ती स्थापना, वातावरणमैत्री भौतिक संरचना, रंगरोगन, चित्रकला, कलात्मक थान्काका काम भएका छन् । गुम्बामा १ करोड ४० लाखमा तामाको मुर्तीमा सुनको जलप लगाइएको छ ।


कठिन परिस्थितिका बालबालिकाका लागि बोन धर्मप्रति उत्प्रेरणा जगाउने, बोन धर्मको संरक्षण तथा प्रवद्र्धन गर्ने र उनीहरुको शिक्षा र स्वास्थ्य योगदान गर्ने उद्देश्यले मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले पूर्वाधार निर्माणका साथै विभिन्न कार्य गर्दै आएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया