नेपाली साहित्य र समाजमा जात

कमल बयेली २०८१ असोज ६ गते १५:३६

नेपाली साहित्य अध्ययन गर्ने क्रममा धेरै ठाउँमा ढुंगा लाग्ने गर्दछ । खासगरी जातीय र लिंगीय अमपानका शब्दावलीहरू देखिन्छन् । यदाकदा अमूक धर्म र क्षेत्रको पनि मानहानि गर्ने काम भएको पाइन्छ । त्यसो त हाम्रा पाठ्यक्रममा पनि अपमानजनक शब्दावलीहरू प्रयोग हुने गरेका छन् । समाजको कुरा त गर्नै परेन । अपमान गर्नेहरू र अपमानित हुनेहरू दिनदिनै ठोक्किनुपर्ने अवस्था आइरहन्छ ।

Advertisement


धच गोतामेकृत उपन्यास ‘घामका पाइलाहरू’ २०३५ सालको मदन पुरस्कार विजेता बहुचर्चित उपन्यास हो । यस कृतिलाई आजका धेरै लेखकले मानक मान्दै आएको पाइन्छ । मैले पनि त्यही अपेक्षामा यस पुस्तकमा पाइला मिलाएको हुँ तर सोचेजस्तो रहेनछ । पात्रहरूको भीड र लम्बेतान भद्दा संवादहरूले गर्दा पठनमा नै बाधा पुगेको महसुस भयो । यस लेखको विषयकेन्द्रित कुरा गर्नुपर्दा यस उपन्यासले पृष्ठ ९० मा पुगेपछि बिझाउन सुरु गर्‍यो ।


बिझाउने हरफ यस्तो छ, ‘बाजे चुरोटको ‘दमाईं ठुटो’ थुकदानीमा फ्याँक्नुहुन्छ (साझा प्रकाशन, पाँचौं संस्करण, पृ. ९०) ।’ उपन्यासमा गणेशी पात्र भन्छ, ‘यो त कसाई हो कसाई । यसको पेटमा कुनै दया धर्म छैन (पृ. १५८) ।’
घामका पाइलाहरू उपन्यासमा एउटा धार्मिक समुदायलाई छुने गरी ‘मुसल्टे’ र ‘टुप्पी कट्टा’ जस्ता शब्द पनि परेका छन् । साहित्य सिर्जना हो, साहित्य मार्गदर्शन पनि हो । लेखक भनेका समाजलाई बाटो देखाउनेहरू हुन् । त्यसैले लेखकहरूले यस्ता कुरामा लापरवाही गर्न मिल्दैन ।


विपीका कथाहरु पढ्दै गर्दा क्षेत्र विशेषको अपमान भएको पाएँ । महाराजको सवारी शीर्षक कथामा बीपीले मोरङबासीको अपमान गरेका छन् । उनले यस्तो लेखेका छन्, ‘मोरङ जिल्ला बडो जंगली छ । त्यहाँका मानिस खासगरी उत्तर घाँचतिरका असभ्य छन् (विश्वेश्वरप्रसाद कोइालाका कथाहरु, डा. हरिप्रसाद शर्मा, साझा प्रकशन, २०५७, पृ १६१) ।’ आजका मोरङबासीले यो कथा पढ्दा कस्तो महसुस गर्लान् ?


पारिजात को हुन् भनेर धेरै भन्नै पर्दैन । अहिले गोविन्द गिरी प्रेरणाद्वरा लिखित ‘सुश्री पारिजात’ को बजारमा चर्चा छ । ‘शिरीषको फूल’ उपन्यासको पठनबाटै धेरैले साहित्यिक यात्रा सुरु गरे होलान् । यिनै सदाबहार चर्चित लेखिकाको कृति ‘बैंसको मान्छे’ मा एउटा संवाद यस्तो छ, ‘के हेर्छ आँखा फुकालेर चोरजस्तो, कामी, दमाईंजस्तो मान्छे … ।’

Advertisement


पारिजात नेपालदेखि पारि अर्थात् दार्जिलिङकी स्रस्टा हुन् । दार्जिलिङहुँदो जातपातका कुरामा मतलब गरिँदैन तर उनको उपर्युक्त संवाद हेर्दाचाहिँ दार्जिलिङकाहरूमा पनि भित्रभित्र जातीय भावना रहेछ भन्न सकियो वा उनी नेपालमा बस्न थालेपछि उनलाई यताको हावाले छोएको हो !


समाज र हाम्रो सोचको छायाँ हाम्रो साहित्यका अरू पानाहरूमा पनि उत्तिकै देख्न पाइन्छ । क्लासिक भनेर उच्च स्थान दिइने साहित्यिक पुस्तकहरूमा नै यसरी ढुंगा लाग्नु राम्रो भएन ।

कुकुरलाई म्वाइँ खाने यही समाज, मान्छेलाई सुनपानी छर्किने यही समाज । घरमा, धारामा, मन्दिरमा बार लाउने यही समाज ।


सरदार रुद्रराज पाण्डेकृत रूपमती उपन्यासले नेपाली उपन्यासको आधुनिक युगको सूत्रपात गरेको मानिन्छ । साझा प्रकाशनबाट २०६१ सालमै बीसौं संस्करण प्रकाशित भइसकेको यस उपन्यासमा विभिन्न पात्रहरूको संवादमार्फत् अमुक जाति, समुदायमाथि गालीगलौजको फोहरा नै छुटेको छ । उपन्यासकी एक पात्र बरालपुत्री कुर्लन्छे्, ‘…..मेरी बहिनीलाई कसाइनी भनेर मेरो जात लिन खोज्ने भएकी …. (पृृ. ७१) ।’


सासू बुहारीको झगडामा रूपमतीकी सासु पात्र कुर्लन्छिे, ‘लौ भन ए बाहुनी नानी ! यस्ता सर्किनीहरूसँग को सवाल जवाफ गरिरहोस् (पृ. ७८) ।’ सासूको कुरा सुनेर बरालपुत्रीको पारो तात्छ र कसलाई सर्किनी भनिस् भन्दै सासूलाई भुत्ल्याउन पुग्छे । लोग्ने रविलाल घरमा आएपछि बर्बराउँछे, ‘मलाई सर्किनी भन्न हुन्छ त ? के हजुर सार्की हुनुहुन्छ र मलाई सर्किनी भनेको ? (पृ. ७९) ?’ अरू पनि छन् डायलगहरू— ‘दमाईंकामीको जस्तो बेहोरा छिः (पृ.४०) !’ ‘पोडे भए जागिर खाऊँला (पृ. ९५)’ आदि ।

एउटा परिवारभित्रको तीतो सत्य उप्काउँदा समाजमा रहेको एउटा ठूलो समुदायको मानहानी भएकोतर्फ कृतिकारले पटक्कै ध्यान दिएका रहेनछन् वा त्यस बेलाको समाजको प्रतिनिधि सोच नै त्यस्तै थियो । कुनै जात विशेषसँग जोडेर गाली गर्दा मात्रै त बरालपुत्रीहरूको पारो तात्छ भने हेलाँहोचो र घृणाका लागि प्रयोग भएका यस्ता जातिगत शब्दहरू सुन्दा तत्तत् समुदायलाई कति नमीठो लाग्छ होला ? यस्ता शब्दावलीहरूको प्रयोगले हाम्रो भाषा र साहित्य समृद्ध हुन्छ के !


साहित्यकार जगदीश घिमिरे अन्तर्मनको यात्राका लागि मदन पुरस्कार पाउने स्रस्टा हुन् । उनैद्वारा लिखित उपन्यास सकसका केही संवादहरू हेरौं, ‘त्यसकी बाहुनी दमैलाई दे ।’ ‘ … यो रैछ लायक पोडे ।’ ‘त्यो सार्की गन्देसँग रिन लिएर आफ्नो के बेइज्जत गर्नुजस्तो लाग्यो ।’


अन्तर्मनको यात्रा कृतिका निम्ति मदन पुरस्कार पाएका साहित्यकार घिमिरेले लेख्नलाई ठेट शब्दहरू लेखेका हुन् । तर गाउँ समाजमा प्रचलित भन्दै सबै कुरा सतहमा ल्याउन आवश्यक देखिँदैन ।


राइपाली भन्ज्याङ २४ वर्षीय युवा लेखक सागर खड्काले लेखेका हुन् । यो उपन्यास साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०८० बाट पुरस्कृत कृति हो । ‘उनीहरू साना जातका महिलाहरूलाई घरका सबै काम गर्न लगाउँथे (पृ. २०) ।’ यहाँ लेखकले साना जातका भनेर जातको आकारलाई वैधता दिएको जस्तो देखियो । गाइने शब्द तीन ठाउँमा परेका छन् भने दमाईं शब्द तेह्र पटक परेका छन् (फाइन प्रिन्ट, २०८०) । सारङ्गी, नर्सिंगा, ढोलकी र सहनाई बजाउने सन्दर्भमा गाइने र दमाईं शब्दको प्रयोग यसरी भएको छ ः वैकुण्ठे गाइने, पुर्ने दमाईं, हरि दमाईं आदि ।


बलिदान फिल्मको गीतमा गाउँ गाउँबाट उठ् भनी आह्वान गरिएको छ । त्यहाँ बाजा बजाउन जान्नेहरू भनेर कति मीठो शब्दमा खास समुदायलाई सम्बोधन गरिएको छ । त्यस्तै गाइनेलाई गन्धर्व नै भन्दा सम्मानजनक हुन्छ किनभने पुरानो पुस्ताका प्रख्यात गायक झलकमानले गाइने लेखेका छैनन्, न तीर्थबहादुरले नै ।

उखान यस्तो रहेछ—मगरको बुद्धि कोदाको तेल । यो उखान मिल्दो भयो त ? भएन, किनभने यसको जवाफ डा महावीर पुन हुन् ।


दलित समुदायका आजका युवाहरूले राइपाली भन्ज्याङमा बस्दा कस्तो महसुस गर्छन् होला ? तिनले आफ्ना बाउबाजेलाई गाउँका ठूला भनिनेहरुले फलानो दमाईं, फलानो कामी, फलानो सार्की वा फलानो गाइने भनेर हेपेको नसम्झेलान् ? त्यसैले कसैको भावनामा चोट पुग्ने कुराहरूमा लेखकहरू सचेत रहनुपर्दछ । युवा पुस्ताका लेखकहरू त झन् बढी ।
राइपाली भन्ज्याङमा एक ठाउँमा माटे शब्द परेको छ आइते पात्रको प्रसंगमा । आइते कुमाल जातिको युवक हो । यो शब्द कुमाल जातिलाई कस्तो लाग्छ ? यो पक्ष पनि विचारणीय छ ।


कमल दीक्षितले राममणि आदीका बारेमा यस्तो लेखेका छन्— आजीवन नेपाली भाषाको सेवा गर्ने कवि, लेखक, सम्पादक तथा कोशकार । ‘राममणि आ.दी. धेरै गरे तर ओझेलमै रहे’ भनेर लेख नै लेखेका छन् शिक्षक मासिकमा (२०७१ पुस १) । यसबाट नै आदीको हुन् भनी पर्याप्त जान्न सकिन्छ । आदीको ‘भलो कुराको नमुना’ हेरौं :


भोटे, पोडे अनि सार्की, दमाईं कसाईमा ।
सरोबरी गरी हाम्रो धज्जी फ्याँक्लान् विचरा है ।
खर्पने डोकेको देश हो नेपाल ।
जंगली, पर्वते काँठे, भुस्तिघ्रे गँवारको ।
भगवान् राखिदेऊ यो यसैगरी ।
यी सभ्य भए हाम्रो सिरिखुरी कहाँ जाला ?


यहाँ दलितका बारेमा त कुरा प्रस्ट छ । स्वाँठे भनेर राई लिम्बूहरूलाई, तीघ्रे भनेर गुरुङ मगरहरूलाई, डोके भनेर तामाङ शेर्पाहरूलाई, खर्पने भनेर ज्यापुहरूलाई भनिएको हो रे ! कवितामा कुनै जाति समुदायलाई असभ्य नै रहनुपर्छ भनियो । ती सभ्य भए सिरिखुरी नै गइहाल्छ कि भन्ने त्रास पनि देखियो । यहाँ लेखकले कसको संरक्षण गर्न खोजेका हुन् भनेर भनिरहनै पर्दैन ।


राममणिमात्र होइन, ठूला भनिने, विद्वान् भनिनेहरूको सोच पनि यस्तै थियो । एउटा प्रसंग यस्तो छ—तेन्जिङ नोर्गेले हिलारीसँगै सगरमाथा चढेर विश्व किर्तिमान् कायम गरेपछि त्रिभुवनले नेपालतारा प्रथम प्रदान गरेका थिए । गान्धीको हत्या हुँदा ‘विचरा गान्धी मारिएछन् हगि ! सौभाग्यवश बाहुनको हातबाट मर्न पाए’ भन्ने कथित ठूला जातिकाहरूले ‘भोटे मूलोलाई पनि त्यस्तो विघ्न ठूलो तक्मा दिने राजा’ भन्दै त्रिभुवनको आलोचना गरे (नेपालका कुरा— समीक्षात्मक इतिहास, धर्मरत्न यमि, प्रकाशक ः यमि परिवार तथा अन्य, २०५८ पृ २४३) ।


एउटा जाति विशेषलाई आमा भनेर पुकारिने गाईसँग जोडेर अपमान गर्ने चलन जिउँदै छ । अरु कुरा के गर्ने ? नेपालीहरू कसममा नै गाई खाइरहन्छन् । अनि अमूक जात, धर्म र भाषालाई पनि गाई खुवाइरहन्छन् । यहाँ एक जना गजलकारले आफ्नो ब्लगमा सार्कीलाई मोटो गाई खाने आशामा बाँच्ने जात भनका रहेछन् :


गल्ती तिम्रै दोष किन देखाउँछौ अर्काको ?
सार्कीले सराप्दैमा मोटो गाई ढल्छ कहाँ ?

यी त भए साहित्यभित्रका केही प्रसंगहरू । अब पसौंसमाजभित्र ।


मनु महाराजको स्मृत्ति निर्देशित समाजमा खास जाति विशेषलाई के कस्तो अपमान र दुव्र्यवहार गरिँदै आएको छ भन्ने कुरा जति लेखे पनि कम हुन्छ । कुकुरलाई म्वाइँ खाने यही समाज, मान्छेलाई सुनपानी छर्किने यही समाज । घरमा, धारामा, मन्दिरमा बार लाउने यही समाज । हुँदाहुँदा दलितले छोएको भनेर देउता पनि छाडेर हिँड्ने यही समाज (स्याङ्जामा पनि चलेन दलितले छोएका देवता, हिमाल खबर, २०८१, भाद्र १२) ।


नेपालबाट जातिवाद लिएर भुटान पुगेकाहरू त्यहाँबाट शरणार्थी बनेर अमेरिका युरोप पुग्दा पनि त्यो वाद च्यापेरै बसिरहेका रहेछन् । डा. तारालाल श्रेष्ठ लेख्छन्, ‘तत्कालीन हिन्दू अधिराज्य नेपालबाट राम शाहकै पालामा भुटानी पहिलो राजा न्यामगेलले औपचारिक सम्झौता नै गरेर करिब ५० परिवार सबै जातका नेपालीलाई मिलाएर भुटान लगे ।

भुटान जाँदा नेपालीभाषीहरूले जात लिएरै गए । बौद्ध धर्मावलम्बीहरूको बिगबिगीका बीचमा पनि तिनले छुवाछूतलाई कायमै राखे । शरणार्थी बनेर झापाको माई खोलाको बगरमा आएर बसे । तिनले जातलाई बोकेरै ल्याए । राज्यविहीन बन्दा पनि जातीय अहंकारविहीन बन्न सकेनन् भुटानी शरणार्थी । सिरीखुरी सबै त्यागेर आउँदा पनि तिनले छुवाछुत त्यागेनन् (बल्झिरहने अतीत अल्झिरहने वर्तमान, डिस्कोर्स पब्लिकेसन, काठमाडौं, २०७१ पृ. ४११–४१२) ।


भुटानी शरणार्थीले राज्यविहीन बनेर निर्वासनको मार खेप्दासमेत जातीय विभेदलाई त्याग्न सकेको देखिएन । पुनर्वासका क्रममा भुटानी शरणार्थी पश्चिमा आठ मुलुकमा छरिन पुगे । त्यस क्रममा तिनले धेरै कुरा त्यागे, जातीय विभेदरुपी बीजलाई त्यागेनन्, सँगै लिएर गए (ऐजन, पृ. १३) । नेपाली समाजले जातिवादलाई कति धेरै प्रेम गरेको छ भन्ने कुरा यहाँभन्दा बढी भन्न आवश्यक छैन ।


अब यहाँ समाजमा प्रचलित अमपानजन्य शब्दावलीका बारेमा चर्चा गरिनेछ । समाज यस्ता शब्द बग्रेल्ती छन् । कसैलाई तल्लो देखाउन परे मुखैमा झुन्डिएर बसेको हुन्छ थेगोजस्तै । अरू त अरू गाईगोरुलाई दिने गालीमा पनि कुनै अमुक जातिलाई मुुछिन्छ । तँलाई फलानाले खानुपर्ने भनेर । डिँगा मर्ने बाँच्ने कुरामा कुनै जातिलाई डोब्नु कति जायज हुन्छ ? पूजा पनि गर्ने, माता पनि भन्ने अनि सराप्ने पनि । यो द्वैध चरित्र भयो ।


अर्तीको कुरा घर्तीको पनि लिनुपर्छ भनेर किन होच्याएको ? डुम खेल खेल्नुको अर्थ के ? उखानले कामी कमिनीलाई किन चोर भनेको ? हरेक असोज १ मा विश्वकर्मा पूजा गर्ने अनि विश्वकर्मा जातिलाई चाहिँ चोर भन्ने ? नेवार र इष्टको कुरा जोडेर किन देखाइएको ? इष्टको अर्थ प्रिय व्यक्ति, हितैषी भन्ने हुन्छ । के नेवारहरू हितैषी हुँदैनन् ?


अपमानबोधक शब्द धेरै थोरैको कुरा मात्र हो, सबैमाथि प्रयोग भएका छन् । एक ठाउँमा मगरलाई अपमान गरिएको पाइयो । उखान यस्तो रहेछ—मगरको बुद्धि कोदाको तेल । यो उखान मिल्दो भयो त ? भएन, किनभने यसको जवाफ डा महावीर पुन हुन् । बाहुनहरूलाई लक्षित गरी बनाइएको एउटा उखान यस्तो छः बाहुनको चित्त माखाको पित्त । एउटाले बिरायो साखा पिरायो भनेजस्तो । केही बाहुनका कारण सबै बाहुनलाई एउटै भाँडोमा हालेर डाम्न हुँदैन ।


सूर्य वा चन्द्र ग्रहण लाग्दा सूर्य वा चन्द्रलाई कष्ट दिएको भनेर ‘छोड फलानो’ भन्दै एउटा जाति वा समुदायलाई गाली गर्नेजस्तो परम्परा विद्यमान छ हाम्रो समाजमा । मान्छेलाई छुन नपाउने, देउतालाई पुज्न नपाउने, धारासमेत छुन नपाउने बिचरोले चन्द्रदेवलाई केको कालो पार्न सक्दो हो !


वेदांग ज्योतिषमा राहु र केतुले सूर्य र चन्द्रलाई ग्रसित गर्छन् र यसैले ग्रहण लाग्ने गर्छ भनेर प्रतिपादित गरिएको छ । यो विश्वासको कुरो भयो । सधैं चर्चा र विवादमा आइरहने रामदेवले त राहु केतु भन्ने नै हुँदैन भनेका छन् । चुनौती पनि दिएका छन्, ‘है तो मेरोउपर डाल्दो ।’


खगोल विज्ञानले राहु केतु चिन्दैन । यसले त एउटा आकाशीय पिण्डको छायाँले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रुपमा छेकेर अन्धकार बनाइदिनुलाई ग्रहण भन्छ । हामीले विज्ञानलाई मान्ने कि राहु केतुको विश्वासलाई मान्ने कि कुनै जाति विशेषले कष्ट दिएको अन्धविश्वासलाई पक्रने ?


अपमानले बाहुन होस् यो दलित होस् या जनजाति होस् या मधेसी होस् या महिला होस् या पुरुष सबैको दिल दुखाउँछ । चलिआएको चलन हो के फरक पर्छ र ? कतिलाई यस्तो लाग्न पनि सक्छ तर आत्मसम्मान भनेको ठूलो कुरा हो । यसको पीडा कति हुन्छ भन्ने थाहा पाउन आफैंले भोग्नुपर्दछ । नजिकै गोरु जोत्ने पेशा गर्ने एक क्षेत्री छन् । मेलामै पनि कसैले ‘हली खै हली’ भन्ने शब्दावली प्रयोग गरे उनी रिसले चुर हुन्छन् । गाउँघरतिर हली भन्नाले अर्काको घरमा जोत्न बस्ने मान्छेलाई बुझिन्छ । उनी त्यसैले हली हुन चाहँदैनन् । आत्मसम्मानको कुरामा यही उदाहरण नै प्रशस्त छ ।


विवेक ओझाकृत उपन्यास ऐलानी, सरस्वती प्रतीक्षाकृत उपन्यास नथिया र थमनकुमार भण्डारीकृत चलचित्र पण्डित बाजेको लौरीमा प्रयुक्त विषयले वादी समुदायलाई पीडा दिएको कुरा पनि जगजाहेरै छ । राष्ट्रिय वादी परिषद्ले उपर्युक्त उपन्यास र चलचित्रमा वादी समुदायलाई ठेस पुग्ने खालका अभिव्यक्ति र शब्दहरुको प्रयोग भएको भन्दै सर्वोच्चमा रिट नै दायर गरेको थियो । मदन पुरस्कार विजेता अमर न्यौपानेको सेतो धरती उपन्यासमा एउटा शब्द र त्यसको प्रयोगकै कारण भुजेल जातिलाई परेको चोट र त्यसले ल्याएको तरङ्ग सबैले महसुस गरेकै हो ।


पागल बस्तीका लेखकले उक्त बस्ती कास्कीको नौडाँडामा बसाइदिएका थिए । त्यही शब्दावलीका कारण नौडाँडाबासीको मनमा परेको पीडाका बारेमा लेखकले नै लेखेका छन् । स्थानीयहरु कतिसम्म आक्रोशित भएछन् भने नौडाँडाबासीले लेखकलाई कालो मोसो दल्ने योजना नै बनाएका थिए रे (नौडाँडामा कलोमोसो चर्चा, कान्तिपुर, २०६९, असोज २६) ! धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि फेसबुक स्टाटस लेख्ने क्रममा चमार जातिको अपमान हुने उखान प्रयोग गरेका कारण विवादमा परेका थिए (राजधानी, २०७९ पुस ३) । त्यसैले कुनै पनि शब्द प्रयोग गर्ने सन्दर्भमा लेखक मात्र नभएर जो कोही पनि सचेत हुनैपर्दछ । कसैको भावनामा ठेस पुग्ने कदम कसैले पनि चाल्न हुँदैन ।


हरेक वर्ष अंग्रेजी शब्दकोशहरूमा कतिपय शब्दमाथि प्रतिबन्ध लगाइने रहेछ । नेपाली बृहत् शब्दकोश हेरौं । पंक्तिकारले हाल प्रयोग गर्दै गरेको शब्दकोश संशोधित र परिवर्धित सातौँ संस्करण, २०६७ हो । २०७५ मा प्रकाशित दशौं संस्करण पनि हेरियो । ३५ वर्षको अवधिमा पनि विभेदकारी शब्दहरू चाहिँ उस्तै रहेछन् । के हाम्रो देशमा चाहिँ जाति, समुदाय र लिङ्ग विशेषलाई अपमान गर्ने शब्दावलीहरूको प्रयोगमा कडाइ गर्नुपर्दैन ?


प्रज्ञा प्रतिष्ठानले दसौं संस्करणलाई आधार मानेर गत वर्ष ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ प्रकाशित गरेको रहेछ । कोशका सम्पादक निरौलाको दाबी छ, ‘आँखाले भ्याएसम्म कुनै पनि जाति समुदायलाई चोट नपुग्ने गरी शब्द र अर्थहरू समेटिएका छन् । अबदेखि अपमान बोध हुने छैन । कथंकदाचित त्यस्ता शब्द परेका रहेछन् भने सच्याइनेछ ।’ सम्पादकको कुरा मननीय छ ।
स्तम्भकार हरिबोल आचार्यका शब्दमा भन्नुपर्दा सानो हुँदा जे सुनिन्छ, जे पढिन्छ र जे बुझिन्छ, धेरै मान्छेले त्यसैलाई जीवनभर सत्य ठान्छन् । हुर्किसकेपछि वैज्ञानिक शिक्षा र संगतले पनि हत्तपत्त मान्छे बदलिँदैन ।

प्रारम्भमा जुन विचारधाराले मनमस्तिकमा जरो गाडेको हुन्छ, त्यसलाई पछि उखाल्न धेरै गाह्रो हुन्छ । आचार्यका कुरा सही छन् । भएको र भइरहेको पनि यही नै हो । त्यसैले हाम्रा साहित्यबाट, पाठ्यपुस्तकहरूबाट, हाम्रो शब्दकोशबाट, हाम्रो बोली, व्यवहारबाट जोकसैलाई चोट पुग्ने शब्दहरू हटाइनुपर्छ । लेखिसकिएका पुस्तकहरूको नयाँ संस्करण प्रकाशन गर्दा परिमार्जन गरी समयसापेक्षा बनाउनुपर्दछ । समग्रमा यस्ता शब्दावलीहरू हाम्रो जीवन व्यवहारबाटै हटाउनु आवश्यक छ ।

तपाईको प्रतिक्रिया