सम्पादकीय—डेंगु सचेतना

समाधान संवाददाता २०८१ असोज ६ गते १६:००

अहिले गण्डकी प्रदेशका १० मध्ये ८ जिल्लामा डेंगुका रोगी अत्यधिक भेटिएका छन् । अस्पतालहरु डेंगुका रोगीले भरिएका छन् । देशभरिमै सबैभन्दा धेरै डेंगु रोगी गण्डकीमा छन् भन्ने स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । अर्थात गण्डकी डेंगुको इपिसेन्टर भएको छ । बनेको छ । गण्डकीका १० जिल्लामा ८ हजार ६ सय २० जनामा डेंगी देखिएको छ । डेंगी भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि डेंगु लाग्छ । यसको उपचार हुँदैन । ज्वरो आउँदा ज्वरोको औषधि खाने हो । अरु समस्या देखिँदा तिनैतिनैको उपचार गराउने हो, डेंगुकै चाहिँ छुट्टै उपचार चिकित्सा विज्ञानले पत्ता लगाएको छैन । उच्च ज्वरो, आँखा दुख्ने, टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी र बान्ता हुने लगायत लक्षण डेंगुमा देखिन्छ ।

Advertisement


पश्चिमाञ्चल क्षेत्रीय अस्पतालजस्ता सरकारीदेखि विभिन्न निजी अस्पतालमा डेंगुका बिरामी छन् । बढ्दै जाँदा अस्पताल पुग्नेहरुको संख्या पनि बढिरहेको छ । बिरामीको संख्या यति धेरै भइसक्यो कि सरकारी अस्पतालहरुमा डेंगुको जाँच गर्ने कीटसमेत छैन । अब लक्षणकै आधारमा डेंगु होला कि भनेर उपचार गराउनुपर्ने बाध्यता छ । त्यसो त धेरैजसो बिरामी साह्रै नभई अस्पताल जाँदैनन्, सिटामोल खाँदै घरमै आराम गरिरहन्छन् ।


डेंगुको उपचार नभएको हुँदा सबैभन्दा पहिला त यो रोग्न लाग्नबाट बँच्नु सर्वाेत्तम हो । रोगबाट बँच्न डेंगु लगाउने लामखुट्टेको टोकाइबाट बँच्नुपर्छ । त्यसका लागि त्यो जातिको लामखुट्टेलाई आफनो वरिपरि बासस्थान दिनु हुँदैन । पानीको ट्यांकी, ड्रम, बाल्टिनलाई राम्ररी छोप्नुपर्छ, ताकि त्यहाँ यो लामुखट्टेले फूल पार्न नपारोस् । पानी जम्ने खाल्डाखुल्डी पुर्ने, घरबाहिर बोत्तल, टायर, प्लास्टिकमा पानी जम्दा लामखुट्टेले आफ्नो बासस्थान बनाउन सक्छ ।

त्यो कुराको ख्याल पुर्‍याउनुपर्छ । घरको झ्याल तथा ढोकामा जाली छैन भने ढोका खोल्दा साँझपख लामखुट्टे छिर्छ । यही लामखुट्टे कोठाको कुनातिर बस्छ र टोक्छ । जाली नभएकाले बढी सावधानी अपनाउनुपर्ने हुन्छ । साँझपख झ्यालढोका नखोल्ने, काम गर्दा पूरा बाहुला भएका लुगा लगाउने, कुनाकाप्चा राम्ररी सफा गर्ने,नचाहिने सामान कोठामा थुपारेर नराख्ने गर्दा लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ । सरकारले डेंगुको कारक लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान चलाएकै पनि छ । सँगसँगै नागरिक र समुदाय सबैले डेंगु सार्ने लामखुट्टेको फुल र लार्भा नष्ट गर्ने अभियान चलाउनुपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया