रैथाने बाली संरक्षण गर्दै ली–बर्ड

पोखरा ।
अनदी धानको चाम्रे, तिलको अचार नेपालीको जिब्रोमा झुन्डिने स्वाद हुन् । तर के भने अनदीको धान र तिल लोपोन्पुख बाली भएका छन् । त्यसो त कात्तिके बोडी, कागुनो पनि हराउँदै छन् । हो, यस्तै हराउन थालेका रैथाने बालीको संरक्षणमा पोखरामा केन्द्रीय कार्यालय रहेको गैरसरकारी संस्था लागिपरेको छ ।
जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) कागुनो, चिनो, लट्टे, अनदीधान, जेठोबुढो धान, मादले काँक्रो, लट्टेको साग जोगाउन लागिपरेको मात्रै छैन, संरक्षणमा उपलब्धि पनि हासिल गरेको छ । ली—बर्डले अहिलेसम्म २५ थरी रैथाने बालीको उन्मोचन र दर्ता गरिसकेको छ ।
कास्कीको सेतो कागुनो, जेठोबुढो धान, झापाको कालोनुनिया धान र रामेछापको हरियो लट्टे ली–बर्डद्वारा संरक्षणमा उपलब्धि गर्न सफल केही उदाहरण हुन् । ली–बर्डले बालीको जाति सुधार, दिगो एकीकृत खेती प्रणालीमा किसानलाई सहभागी गराउँदै आएको छ । रैथाने बाली संरक्षण गर्न सामुदायिक बिउ बैंकको स्थापना, पर्यावरणीय कृषि प्रवद्र्धन, जलवायु उत्थानशील कृषि प्रविधि र अभ्यासको प्रवद्र्धनमार्फत ली–बर्डले उपलब्धि हाँसिल गरेको सामाजिक लेखापरीक्षणले देखाएको छ । संस्थाको ३० औं वार्षिकोत्सवका अवसरमा आइतबार त्यस्तो लेखापरीक्षण पनि सार्वजनिक गरियो । समाजशास्त्री डा रामचन्द्र बरालले उक्त लेखापरीक्षण सार्वजनिक गरे ।
डा बरालका अनुसार ली–बर्डको पर्यावरणीय कृषि परियोजनामार्फत गण्डकी, बागमती र कर्णालीमा गरी झन्डै ४ हजार किसानहरु लाभान्वित भएका छन् । लि–बर्डले बाली संरक्षण तथा दिगो उपयोग, सामुदायिक बिऊ बैंक, जलवायु उत्थानशील कृषि प्रविधि तथा अभ्यासको प्रवर्धन, परागसेचन व्यवस्थापन, खाद्य तथा पोषण सुरक्षाका लागि जंगली खानयोग्य वनस्पति, विपन्न ग्रामीण कृषकहरुको जीवीकोपार्जन सुधार, नीतिगत योगदान तथा पैरवीलगायत काम गरिरहेको छ । डा. बरालले संस्थामा सुशासन रहेको पनि सुनाए ।
वार्षिकोत्सवका अवसरमा गण्डकी प्रदेशका कृषि, भूमि तथा सहकारी मन्त्रालयका सचिव डा. टंकप्रसाद प्रसाईले गैह्रसरकारी संस्थाहरुको प्रभावकारी समन्वय र सहकार्यमा नै सरकारका कामहरु किसानबिच लैजान सहज भएको बताए । उनले कृषिलाई उत्पादन र उद्यमशीलतामा जोड्ने नीतिका लागि सरकारले पहल गरिरहेको बताए ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले कृषि क्षेत्रमा नीतिमात्र बनाएर नभई हरेक सरकारले कार्यान्वयन पक्षलाई बलियो बनाएर लैजानुपर्ने औंल्याए । कृषि क्याम्पस पुरन्चौरका क्याम्पस प्रमुख प्रा.डा.दुर्गा देवकोटाले लि–बर्डकै सल्लाह बमोजिम कृषि क्षेत्रमा नयाँ पाठ्यक्रमको सुरुवात गर्ने सुनाइन् । उनले कृषि क्षेत्रमा काम गर्ने प्राविधिकहरुले किसानकै घरदैलोमा गएर मेहेनती किसानलाई मात्र नभई अल्छी किसानलाई पनि परामर्श दिन सुझाइन् ।
कृषि विकास निर्देशनालय गण्डकीका महानिर्देशक बासु रेग्मीले सामुदायिक बिउ बैँकदेखि लिएर जैविक विविधताको संरक्षणलाई प्राथमिकतामा राखेर प्रदेश लोकसेवा आयोगमा समेटिएको समेत जानकारी गराए । लुम्ले कृषि केन्द्रका प्रमुख प्रनिल केसीले परम्परागत खेती प्रणाली निर्वाहमुखी भएकाले किसानको चाहना बमोजिम अगाडि ल्याउन जोड दिए ।
लि–बर्डका कार्यकारी निर्देशक भरत भण्डारीले संस्थाको कार्ययोजना, वरिष्ठ सल्लाहकार डा.बलराम थापाले लि–बर्डको रणनीति २०३० तथा आगामी कार्यदिशा र अध्यक्ष डा. प्रताप श्रेष्ठले लि–बर्डले गरेका कार्यप्रगतिका बारे प्रस्तुतीकरण राखे ।
ली–बर्डमा २८ वर्षदेखि कार्यरत इन्द्रप्रसाद पौडेललाई अविच्छिन्न सेवा र मीरा ढकाल, राजकुमार चौधरी, वीरेन्द्र चौधरी, इन्देश्वर मण्डल र चन्द्रबहादुर साउदलाई वार्षिकोत्सवका अवसरमा दीर्घसेवा पदक सम्मान प्रदान गरिएको थियो ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया