जनहित माविलाई ४ दशक

सुन्दरकुमार थकाली २०८१ असोज ७ गते ९:१०

जोमसोम ।


एउटै स्कुलमा १५ वर्ष शिक्षण र २७ वर्ष विद्यालय व्यवस्थापनको जिम्मा लिनेहरु विरलै हुन्छन् । मुस्ताङको जनहित माविको शैक्षिक, सामाजिक र आर्थिक विकासमा ४२ वर्षसम्म योगदान गर्ने यस्तै विरल व्यक्तित्व हुन् घरपझोङ ४ जोमसोमका जयन्द्रलाल थकाली ।


थकाली र उनको टिमकै कारण जनहित माध्यमिक विद्यालय जोमसोम लोकप्रिय स्कुल बनेको छ । जयन्द्र अब विद्यालयका सबै जिम्मेवारीबाट विश्राम लिने मनासायमा छन् । जयन्द्रकै कुशल नेतृत्वमा सामुदायिक स्कुल जिल्लामै नमुना बनेको छ ।

Advertisement


२०११ साल स्थापना भएको जनहितको शुक्रबार आयोजित ७० औं वार्षिकोत्सवमा जयन्द्र भावुक थिए । समारोहमा आफ्नो टिमले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा पुर्‍याएको योगदानको बेलिविस्तार लगाएका उनी अब पछिल्लो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने तयारीमा छन् ।


जनहितको २०२७ को पहिलो ब्याजमा एसएलसी परीक्षा पास गरेका जयन्द्र २०२८ सालमा त्यहीका शिक्षक बनेका थिए । त्यहाँ उनले २०४३ सम्म शिक्षण गरे । आफैं पढेको शिक्षक हुन पाउदा आफू भाग्यमानी सम्झन्छन् उनी । अब्बल शिक्षक बन्ने उत्कष्ठाले उनले अन्य पेशातर्फ ध्यानै दिएनन् ।

Advertisement


जयन्द्रकै पालामा मुस्ताङका कठिन परिस्थितिका गरिब, विपन्न, असहाय र सीमान्तकृत परिवारका बालबालिकाले उच्च तहसम्मको शिक्षा जिल्लामा हाँसिल गर्न सक्ने अवस्था बनेको छ । अवकासपछि २०५४ देखि उनी विद्यालय व्यवस्थापन समिति अध्यक्ष छन् । २०५८ मा दुर्गमका १८ जिल्लामध्ये एसएससी परीक्षामा उत्कृष्ट नतिजा ल्याएकोमासरकारले नगद ५० हजार पुरस्कारसहित जयन्द्रलाई सम्मान गरेको थियो ।

आफैं पढेको स्कुलमा डेढ दशक शिक्षण र साढे २ दशक अध्यक्ष भएका जयन्द्रलाल थकालीले जनहित माविलाई नमुना बनाएका छन्


२०६६ देखि २०६८ सम्म लगातार ८० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीण गराउने स्कुलका अध्यक्ष उनी शिक्षा विकास निर्देशानालय गण्डकीबाट पनि पुरस्कृत बनेका थिए । २०७६ मा पालिका स्तरमा उत्कृष्ट विद्यालय पुरस्कार पनि जनहितले पायो । २०८० को एसइईमा जिल्लामै उत्कृष्ट भएकोमा शिक्षा विकास निर्देशानालयले पुरस्कृत गर्‍यो ।


उनकै पालामा २०६१ देखि जनहितमा कक्षा ११ र १२ को पढाइ सुरु भयो । २०७० सालमा समिति गठन गरी विद्यालयको आन्तरिक कोषको रकम धरौटी राखेरै भए पनि जोमसोममा जनहित बहुमुखी क्याम्पस स्थापना गर्न उनले पहल लिए ।
अर्थ संकलनका लागि महायज्ञसमेत गरियो । अहिले जोमसोम बहुमुखी क्याम्पसमा स्नातक पढाइ हुन्छ । जिल्ला बाहिर जान नसक्नेहरुले यही उच्च शिक्षा अध्ययन गर्न पाएका छन् ।


जनहित २०७६ देखि जिल्लाकै एकमात्रै प्राविधिक धारतर्फको सिभिल इन्जिनियरिङ पढाउने विद्यालय बनेको छ । २०७६ मा जनहित स्कुल नमुन विद्यालयमा सूचीकृत बनेको छ ।


जनहितमा अहिले फिजिक्स ल्याब, क्यामेस्ट्री ल्याब, बायोलोजी ल्याब, कम्प्युटर लर्निङ इन्भाइरोमेन्ट सेन्टर, कम्प्युटर ल्याब र इन्जिनियरिङ वर्कसप रहेको जयन्द्र बताउँछन् । उनको २७ वर्षे कार्यकालमा जनहित स्कुलमा प्रशासनिक भवन, ४ छात्रा/छात्रा छात्रवास, चौकीदार भवन, फराकिलो खेलमैदान, विद्यालय प्राङ्गणमा छप्पनी बिच्छ्याउने लगायतका काम भएका छन् ।


विभिन्न छात्रवृद्धि तथा शैक्षिक सहायता कोष पनि स्थापना भएका छन् । ती कोषबाट विपन्न विद्यार्थीले सहायता पाउने गरेका छन् । २०५४ मा जयन्द्र विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुँदा विद्यालयको कोषमा १ लाख ३७ हजार थियो । उनले विद्यालयको भौतिक पूर्वाधार विकासमा ३७ लाख ५० हजार रुपैयाँ खर्चिदै हाल कोषमा ९० लाख रुपैयाँ रहेको सुनाए ।


संविधान सभा सदस्य चन्द्रबहादुुर गुरुङले जनहित स्कुलले शैक्षिक, भौतिक र आर्थिक विकासमा छलाङ मारेको टिप्पणी गरे । ‘विद्यालय हाक्ने नेतृत्व राम्रो भयो भने सबै पक्ष सबल हुन्छ, त्यो भूमिकामा जयन्द्रलाल सफल हुनुभयो,’ गुरुङले भने, ‘उहाँको बर्हिगमनपछि नयाँ नेतृत्वलाई अहिले गुणस्तर र काम जारी राख्ने चुनौती थपिएको छ ।’

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया